Comments Add Comment

घरबेटीले छिर्न दिएनन् भन्दै कोरोना परीक्षण !

६ जेठ, काठमाडौं । काठमाडौंमा पछिल्लो समय कोरोना भाइरस संक्रमणको परीक्षण गराउन चाहनेको संख्या अत्यधिक बढेको छ । हरेक दिन ठूलो संख्यामा मानिसहरु कोरोना परीक्षण गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुग्ने गरेका छन् ।

अस्पतालमा हरेक दिन जम्मा भएको भिडले स्वास्थ्यकर्मी नै आजित भएका छन् । स्वास्थ्य मन्त्रालयले कस्ता व्यक्तिको कोरोना संक्रमण परीक्षण गर्ने भनी प्रोटोकल नै बनाएको छ ।

प्रोटोकलअनुसार ज्वरो आएको, रुघाखोकी लागेको र स्वासप्रश्वाससम्बन्धी समस्या देखिएका व्यक्ति, पछिल्लो एक महिनायता विदेशबाट फर्किएका, उनीहरुसँग नजिक भएका, समुदायमा कोरोना फैलिएको क्षेत्रका व्यक्तिको कोरोना परीक्षण गर्नुपर्छ ।

त्यस्तै क्वारेन्टाइनमा बसेकाहरुमा पनि परीक्षण गराउनुपर्ने भनेको छ । टेकु अस्पतालका निर्देशक डा.  सागर राजभण्डारीले  स्वास्थ्य मन्त्रालयले जारी गरेको प्रोटोकलमा नपर्ने मानिसहरु जाँचको लागि आउने गरेका बताए ।

‘पत्रकार, अन्य संस्थाका कर्मचारी तथा घरमै बसिरहेका मानिसहरु पनि जाँचको लागि आएका छन्’, उनले भने, ‘दुई महिनाअघि काठमाडौं आएका मानिसहरु पनि घरबेटीले छिर्न दिएनन् भन्दै आउँछन्, हामी समस्यामा छौं ।’

डा. राजभण्डारीका अनुसार पछिल्लो समय प्रेस पास देखाउँदै कोरोना परीक्षण गर्न आउने पत्रकार पनि बढेका छन् । प्रोटोकल नै नपुगेका पत्रकार र अन्य संघसंस्थाका मानिसहरु जाँच गराउन पुगेकाले सम्भावित संक्रमितलाई जाँच गर्न पनि समस्या भएको उनी दावी गर्छन् ।

‘सबै पीसीआर जाँच गर्नुपर्‍यो भन्दै आउँछन्, कतिपय हाइप्रोफाइल मान्छेहरु नै आएर दबाब दिन्छन्’ राजभण्डारीले भने, ‘कतिलाई हामीले काउन्सिलिङ गरेर पठाएका छौं, कति कोरोना जाँच नगराई घर छिर्न पाइन्न भन्दै धर्ना दिन्छन् ।’

धेरै मानिस आउँदा परीक्षण आवश्यक भएका मानिसको जाँच गर्न किट नपुग्ने अवस्था पनि आउने टेकु अस्पतालका कतिपय अधिकारी बताउँछन् ।

स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा कोरोना परीक्षणका लागि पछिल्लो समय स्वीस सरकारले दिएको ३० हजार, चीनले दिएको २० र भारतले दिएको ३० हजार किट प्रयोग भइरहेको छ । केही समयअघि किट अभावले उपत्यकाबाहिरका कतिपय ल्याबमा कोरोना परीक्षण रोकिएको थियो । त्यसैले  किटको दुरुपयोग रोक्नुपर्ने अस्पतालका अधिकारीहरु बताउँछन् ।

टेकु अस्पतालका प्रवक्ता डा. अनुप बाँस्तोलाका अनुसार अहिले तराईबाट आएका मानिसहरुलाई लक्षण नभए पनि जाँच गरिएको छ । काठमाडौंमा बसिरहेका र कुनै ट्राभल हिस्ट्री नभएका र संक्रमितसँगको सम्पर्कमा नआएका मानिसहरुलाई पनि लक्षण देखिएको अवस्थामा जाँच गरिएको  छ । तर, घरमै बसिरहेका, संक्रमित क्षेत्रका होइनन् र लक्षण पनि छैन भने जाँच गरिन ।

‘घरभित्रै बसिरहेका तर ललितपुरबाट काठमाडौं आयो भने घरबेटीले छिर्न नदिने रहेछन्’ डाक्टर बास्तोलाले भने, ‘पीसीआर गरेर पठायो र्‍यापिडको नतिजा लिएर आउनु भन्दा रहेछन् ।’

उनका अनुसार अनावश्यक मानिस जाँच गर्न भिड गर्दा स्वाब लिने चिकित्सकहरु लामो समयसम्म पीपीई सेट लगाएर नै बस्नुपर्छ । लामो समय पीपीई लगाएर बस्नुपर्दा चिकित्सकलाई मात्र होइन स्वाब दिने मानिसलाई पनि असर पर्न सक्छ । अहिले टेकु अस्पतालमा मात्रै दैनिक साढे तीन सय भन्दा बढी मानिसहरुको स्वाब संकलन गरिन्छ ।

‘संक्रमणको सम्भावना नै नभएको मानिस अस्पताल आउँदा बरु यहीँबाट संक्रमण सर्न सक्छ’ उनले भने, ‘आज रिपोर्ट नेगेटिभ आएर मानिस ढुक्क होलान् तर घर गएपछि पनि त संक्रमण हुन सक्छ नि ।’

यस्तो छ कोरोना परीक्षणको सरकारी प्रोटोकल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment