Comments Add Comment

कलैया अस्पतालका सं‌क्रमितले तातोपानी पनि पाएनन्

८ जेठ, वीरगञ्ज । बाराको कलैयास्थित कोभिड अस्पतालले आफूहरुलाई तातोपानी समेत उपलब्ध नगराएको कोरोना संक्रमित बिरामीले गुनासो गरेका छन् ।
पिउनको लागि पटक पटक तातोपानी माग्दासमेत अस्पतालले नदिएको उनीहरुको गुनासो छ ।

‘पानीको पर्खाइमा बस्दाबस्दै घाँटी नै बसिसक्छ । तर पानी आउँदैन । अस्पतालले व्यवस्था गर्न नसक्ने हो भने बाहिरबाट मगाउँछौं भन्दा पनि बाहिरबाट कुनै चिज ल्याउने अनुमति छैन भनेर चिकित्सकहरुले जवाफ दिन्छन्,’ अस्पतालमा उपचाररत एक जना संक्रमितले अनलाइनखबरसँग भने ।

उनले थपे ‘अब त कोरोनाले भन्दा पनि पानी पिउनै नपाएर पो मरिन्छ कि भन्ने चिन्ता लाग्न थालेको छ ।’

कोरोनासँग लड्नका लागि टाइम टेबलमा पोषिलो खानु आवश्यक रहेपनि खाजा र खाना समयमै पाउन नसकिएको उनीहरुले दुखेसो गरेका छन् ।

कलैया अस्पतालमा दुई जना संक्रमित उपचाररत छन् । जसमध्ये एक जना प्रहरीका जवान छन् भने एक जना पत्रकार छन् ।

संक्रमितमध्येका एक जनामा भने शरीर दुख्ने, स्वासप्रश्वासमा समस्या जस्ता लक्षण छन् । उनले आफूलाई स्वास्थ्यमा समस्या रहेकोबारे पटक पटक डाक्टरलाई जानकारी गराएको तर थप उपचारका लागि कुनै प्रयास नभएको गुनासो गरे ।

यहाँ उपचार सम्भव नभए अन्य सुविधायुक्त अस्पतालमा रिफर गरिदिन आग्रहसमेत गरेको जानकारी दिए ।

‘आइसोलेसनको बेडमा सुतेर मात्रै त कोरोना जितिँदैन होला नि ? यसको लागि त पोषिलो खानुपर्ने होला । संक्रमितको मनोवल उच्च राख्न नियमित काउन्सिलिङको पनि आवश्यक होला नि ?,’ उनले भने, ‘मनोबल उच्च हुने भन्दा पनि यहाँ बस्दा त थप मानसिक पीडा हुने थालेको छ । बाहिरबाटै आफन्तलाई भनेर आवश्यक चिज मगाउँछु भन्दा पनि अनुमति छैन । सधैं यसरी कति दिन चल्छ । सम्बन्धित पक्षले ध्यान पुर्‍याउनु आवश्यक छ ।’

संक्रमितले अस्पतालमा तातो पानी पनि पिउन नपाएको रहेछ नि भन्ने जिज्ञासामा बाराका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर पण्डितले यसबारे अस्पतालसँग बुझेर थप व्यवस्थित पारिने प्रतिक्रिया दिए ।

उनले भने, ‘दुई जना संक्रमितमध्ये एक जनाको स्वास्थ्यमा समस्या देखा परेको भन्ने सुनेको छु । उहाँलाई आत्मबल उच्च बनाउन भनेका छौं । अस्पतालको तर्फबाट कमी कमजोरीहरु भएका रहेछन भने डाक्टर सा’बसँग सल्लाह गरेर व्यवस्थापन मिलाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment