Comments Add Comment

‘जोगिन्दर बोले प्रणामजी कार्यक्रमले मधेसको समस्या उजागर गरेको छ’: शिव शंकर

कृषि टेलिभिजनबाट प्रसारण भएको ‘कोरोना बिर्साउने गफगाफ’ कार्यक्रममा मधेशी समुदायप्रति अपमानित गरेको भन्दै यो कार्यक्रम बन्द गर्नुपर्ने माग उठेको छ । साथै, प्रदेश २ सरकारका मुख्य न्यायधिवक्ता दीपेन्द्र झाले संघीय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा एक पत्र समेत लेखेका छन् ।

जसमा उनले मधेशी समुदायलाई अपमानित गरेको दाबी गर्दै केही टेलिभिजन कार्यक्रमहरू बन्द गर्न माग पनि गरेका छन् । जसमा हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको ‘जोगिन्दर बोले प्रणामजी’को पनि नाम समावेश छ ।

हिमालय टेलिभिजन स्थापना भएसँगै यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । छ सयभन्दा बढी भाग प्रसारण भइसकेको यो शोलाई शिव शंकर रिजालले सञ्चालन गर्दै आएका छन् ।

यो पनि पढ्नुहोस सन्दीप क्षत्री भन्छन्ः मिठाइलालले मधेसीलाई होच्याएको छैन

कार्यक्रम सञ्चालक रिजालले आफूले छ सय भाग कार्यक्रम सञ्चालन गर्दा कुनै पनि भागमा मधेशी समुदायलाई अपमानित नगरेको बताउँदै यदि कसैले प्रमाण ल्याउँछ भने आफू कारबाही भोग्न तयार रहेको अनलाइनखबरसँग बताए ।

अनलाइनखबरसँग कुराकानी गर्दै उनले भने–‘म आफैँ पनि ६० वर्षदेखि मधेशमा बसोबास गर्दै आएको छु । मधेशको धर्तीपुत्र हुँ म । म पहिले आफूलाई नेपाली भन्छु अनी मधेशी भन्छु । मेरो कार्यक्रममा मधेशका चर्चित नेताहरू पनि आउनुभएको छ । उहाँहरूसँग कुरा गर्दा मैले मधेशको स्थानीय भाषालाई पनि प्रवर्द्धन गर्ने काम गरेको छु । मधेशका विषयवस्तु, जनताको समस्याहरूलाई पनि मैले उठाएको छु ।’

शिवशंकरले कार्यक्रममा आफूले मधेशको प्रवर्द्धन गर्ने काम गरेको बताए । उनले अगाडि भने–‘तर, अर्को एक टेलिभिजनको साथीले मधेशको अपमान गर्ने काम गरे भन्दैमा सबैलाई मुछ्नु दु:खद् कुरा हो । मैले पनि त्यो कार्यक्रम हेरेँ । उक्त कार्यक्रमप्रति म पनि खेद प्रकट गर्दछु । तर, सो कार्यक्रममा त्यस्तो प्रस्तुति भयो भन्दैमा मैले ११ वर्षदेखि सञ्चालन गरिरहेको कार्यक्रम बन्द हुनुपर्छ भनेर कुरा उठेको देख्दा दुःख लागेको छ ।’

उनले, आफूले मधेशको शान र सम्मानका लागि सधैं लडेको पनि सुनाए । आफूलाई मधेशको छोरा भन्दै उनले भने–‘म मधेशमा जन्मिएकाले लबज आएको हो । तर, मैले मधेशको समस्यालाई उजागर गरेको छु, भाषालाई प्रबर्द्धन गरेको छु । धेरै जनाले मलाई कार्यक्रममा हिमाल, पहाड र तराई जोड्ने काम गरेको भन्दै प्रशंसा गर्नुभएको छ ।’

हिमालय टेलिभिजनबाट प्रसारण हुने यो कार्यक्रम सर्वाधिक लोकप्रिय मानिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment