Comments Add Comment

ठुटेखोला पुल सञ्चालनको लागि खोजियो विकल्प

१० जेठ, काठमाडौं । वीरगञ्ज–ठोरी हुलाकी सडक खण्ड अन्तर्गत ठुटेखोलामा निर्माण भएको पुल सञ्चालनको लागि विकल्प खोजिएको छ ।

भारतीय पक्षको अवरोधका कारण तीन वर्ष अघिदेखि सञ्चालनमा आउन नसकेको पुल सञ्चालनको लागि विकल्प खोजिएको हो ।

पर्साको ठोरी गाउँपालिका २ र ३ जोड्ने पुल सञ्चालनका लागि पुलदेखि पूर्वतर्फ दुई वटा कलभर्ट बनाएर पुल सञ्चालन गर्ने निकास निकालिएको हो ।

शनिबार ठोरी गाउँपालिका वडा नम्बर २ मा बसेको सरोकार पक्षहरुको भेलाले निर्माण कम्पनीलाई कलभर्ट निर्माणका लागि सहमति दिएको हो ।

यसअघि भारतीय पक्षले नेपाली भूमि प्रयोग गरी उपभोग गर्दै आइरहेको कुलो पुरेर मात्रै पुल सञ्चालनमा ल्याउनुपर्ने अडान स्थानीयहरुले राख्दै आएका थिए । तर भारतीय पक्षले भने कुलो पुर्न नदिएका कारण पुल सञ्चालनमा आउन सकेको थिएन ।

जिल्ला समन्वय समिति पर्साका उपप्रमुख ठाकुरप्रसाद न्यौपाने, गाउँपालिकाकी उपाध्यक्ष शान्तिमाया थिङ, वडा नं १, २ र ३ का वडाध्यक्षहरु, पार्टी प्रतिनिधिहरु, हुलाकी सडकका प्रतिनिधिहरु, सुरक्षाकर्मी सहभागी बैठकले पुल सञ्चालनको विकल्प खोजेको वडा २ का अध्यक्ष किशोर तामाङले जानकारी दिए ।

पुल सञ्चालनमा ल्याउन सरकार गम्भीर नबन्दा स्थानीय सरोकारवालाहरुले तत्कालका लागि विकल्प खोजेर पुल सञ्चालन अघि बढाउने निर्णय भएको उनले बताए ।

पुल सञ्चालनमा ल्याउनका लागि सरोकार पक्षले विकल्प दिएका कारण एक साताभित्र कलभर्ट निर्माणका काम अगाडि बढाउने हुलाकी सडक निर्माणको जिम्मेवारी पाएको ठेकेदार कम्पनीका प्रतिनिधि उद्धव न्यौपानेले बताए ।

अमर एन्ड मृत सञ्जीवनी कम्पनीले ६ करोड ९७ लाख २१ हजार रुपैयामा ४ वटा स्पान रहेको १ सय २ मिटर लामो र ७ दशमलव २ मिटर चौडाइको पुल निर्माण गरेको हो ।

के थियो विवाद ?

नवनिर्मित पुलको पूर्वतर्फको किनारामा भारतीय पक्षले वर्षौंदेखि २ वटा कुलो सिञ्चाइको लागि प्रयोग गर्दै आइरहेको छ ।

भारतीय पक्षले नेपाली भूमिमा बग्ने ठुटे खोलामा अस्थायी बाँध हालेर वर्षौंदेखि २ वटा कुलो सिञ्चाइको लागि प्रयोग गर्दै आइरहेको छ ।

पुल सञ्चालनमा ल्याउन कि त उक्त दुवै कुलो पुर्नुपर्ने हुन्छ कि त कलभर्ट बनाउनु पर्ने हुन्छ ।

तर भारतीय पक्षले कुलो पुरेर एप्रोच सडक बनाउन दिएन । नेपाली पक्ष पनि कलभर्ट राखेर पुल सञ्चालन नगर्ने अडानमा रहँदा तीन वर्षदेखि पुल सञ्चालनमा आउन नसकेको हो ।

एप्रोच सडक बनाउन सहमति हुने छाँटकाँट नदेखिपछि ठेकेदार कम्पनीले सो ठाउँमा काम नगरी छाडेको थियो । पुलको आडमा नै दुईवटा कुलो सञ्चालन गर्न दिँदा पुल जोखिममा पर्ने भन्दै कुलो पुरेर एप्रोच रोड बनाउनु पर्ने नेपाल पक्षको अडान छ । भारतीय पक्षलाई पुल मुनिबाट सिञ्चाईको विकल्प खोज्न नेपाली पक्षले आग्रह गरेको थियो । तर भारतीय पक्षले उक्त सुझावको बेवास्ता गर्दै आफ्नो अडान नछोड्दा समस्या आएका हो ।

सीमा विवाद नटुंगिदा भारतीय पक्षले कुलोको मुहान रहेको र हाल पुल बनेको स्थानलाई पनि आफ्नै भूमि मान्दै यसअघि पुल निर्माण गर्न र विद्युत विस्तारमा पनि अवरोध खडा गरेको थियो । तर अहिले उक्त स्थानमा सीमा विवाद अन्त्य भइसकेको छ ।

पुल सञ्चालनमा नआउँदा झेल्नु परेको समस्या

पुल सञ्चालनमा आउन नसक्दा विशेष गरेर वर्षायाममा यहाँका मानिसहरु जोखिम मोलेर सवारी साधन चलाउनुपर्ने बाध्यता रहेको छ ।

वर्षायामको समयमा आउने बाढीले जिल्ला सदरमुकाम वीरगञ्जसँगको सडक सम्पर्क टुट्न पुग्दा विशेष गरेर वडा नम्बर १ र २ का बासिन्दाले ठूलो पीडा भोग्दै आउनु परेको छ ।

वर्षाको समयमा कोही बिरामी पर्दा, सुत्केरी ब्यथा लाग्दा, सर्पदंशका घटना भएमा त्यस्ता बिरामीलाई अस्पतालसम्म पु¥याउन पनि समस्या हुने गरेको स्थानीय युवा चिरञ्जीवी सापकोटाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment