Comments Add Comment

वीरगञ्जका मेयर भन्छन्– कोरोनासँग लड्न महानगरको बजेट सकियो

१० जेठ, वीरगञ्ज । पर्सामा वैशाख ३० मा एकैदिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएयता पीसीआर किट र भीटीएम अभावले कोरोना परीक्षण तीब्र रुपमा हुन सकेको छैन । कन्ट्याक ट्रेसिङ गरिएका व्यक्तिहरुको समेत परीक्षण हुन नसक्दा संक्रमण फैलिने खतरा कायमै छ । ट्रेसिङ गरिएको एकसाता बित्दासमेत परीक्षण नभएपछि उनीहरु आक्रोश र निरासा पालेर क्वारेन्टाइनमा बसिरहेका छन् ।

पर्सामा अहिलेसम्म कुल संक्रमितको संख्या ९१ जना छ । पुष्टि भएकामध्ये तीन जना भारतीय नागरिक छन् भने ८८ जना नेपाली छन् । तीन जना भारतीय नागरिकलाई वैशाख १४ गते डिस्चार्ज गरिएको थियो । तर एक जना भारतीयमा पुनः संक्रमण देखिएपछि उनलाई फेरि अस्पताल भर्ना गरिएको छ ।

वीरगञ्जस्थित नारायणी अस्पताल र गण्डक कोभिड अस्पतालमा पर्सासहित अन्य जिल्लाका संक्रमित गरी ९६ जना उपचाररत छन् । प्रदेश २ का लागि वीरगञ्ज कोरोना संक्रमित बिरामीहरुको उपचार केन्द्र नै बन्न पुगेको छ । तर केन्द्र र प्रदेशले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सहयोग नगरेको गुनासो वीरगञ्ज महानगरका प्रमुखले गर्दै आइरहेका छन् ।

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि भइरहेको प्रयासबारे अनलाइनखबरकर्मी सुरेश विडारीले वीरगञ्ज महानगरका मेयर विजयकुमार सरावगीसँग गरेको कुराकानीको सम्पादित अंश :

हामीसँग बजेट छैन । अर्को महिनाको लागि कर्मचारीलाई तलब खुवाउने बजेट पनि छैन । मासिक ८५ लाख खर्च भइरहेको छ । यसरी कति दिन धान्न सकिन्छ ?

 

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि महानगरले कसरी काम गरिरहेको छ ?

महानगरले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको छ । सुरुवातमा वीरगञ्जस्थित नारायणी अस्पतालमा ५ बेडको मात्रै आइसोलेसन वार्ड थियो । अहिले त्यसलाई विस्तार गरेर ७० बेड पुर्‍याएका छौं । संक्रमितको चाप बढेपछि सिद्धार्थ माविमा पनि सेमी आइसोलेसन वार्डको विस्तार गर्‍यौं । कोरोना संक्रमितको उपचारका लागि अहिले गण्डक कोभिड अस्पताल सञ्चालनमा ल्याएका छौं ।

गण्डक कोभिड अस्पतालको व्यवस्थापन चाहिँ कसरी भइरहेको छ ?

कोभिड अस्पताल सञ्चालन गर्ने हाम्रो क्षमता होइन । तर पनि महानगरले हिम्मत गरेर कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ । सम्पूर्ण आर्थिक व्ययभार महानगरले नै व्यहोर्ने गरी ७० बेडको क्षमता भएको अस्पताल सञ्चालनमा ल्याएका हौं ।

वीरगञ्जमा सम्भावित संक्रमितको कन्ट्याक ट्रेसिङको काम कसरी अगाडि बढेको छ ?

कन्ट्याक ट्रेसिङका लागि जिल्ला स्तरीय एक कार्यदल गठन गरेका छौं । कार्यदलले त्यसको काम गरिरहेको छ । कार्यदलले ५०० भन्दा बढी व्यक्तिको ट्रेसिङ गरेको छ । उनीहरुलाई क्वारेन्टाइनमा ल्याएर राखेका छौं । केहीलाई ल्याउने तयारी भइरहेको छ । पीसीआर किट र भीटीएम अभावका कारण उनीहरुको परीक्षण हुन सकिरहेको छैन । समयमै परीक्षण नहुँदा संक्रमण फैलने डर भइसक्यो । क्वारेन्टाइनमा बस्नेहरुले हाम्रो परीक्षण कहिले हुन्छ भनेर हैरान पारिसकेका छन् । यस्तो अवस्था सिर्जना हुँदासमेत न त केन्द्रले किट पठाउछ न त प्रदेशले नै पठाउँछ ।

त्यसो भए केन्द्र र प्रदेशले असहयोग गरेकै हो त ?

तपाईं आफै बुझ्नुस् न । ट्रेसिङ गरेका व्यक्तिहरुको अहिलेसम्म परीक्षण हुन सकिरहेको छैन । एक साताभन्दा बढी भइसक्यो ट्रसिङ गरेको । यत्तिका दिनसम्म नेगेटिभ वा पोजेटिभ के छ भनेर थाहा नपाउँदा उनीहरुमा कसरी गुज्रिरहेका होलान् । उनीहरुमा कस्तो मानसिक असर पर्छ होला ? हामीले पटक पटक केन्द्र र प्रदेशमा यसबारे जानकारी गराएका छौं तर पनि सुनुवाई भइरहेको छैन ।

महानगरले केन्द्र र प्रदेशको मात्रै मुख ताक्ने हो कि आफैंले पनि केही गर्छ ?

केन्द्र र प्रदेशको मुख ताकेर बस्ने हो भने भोलि धेरै ठूलो क्षति व्यहोर्नुपर्ने हुन सक्छ । वीरगञ्ज कोरोनाको हटस्पट बन्दा समेत संघ र प्रदेशले बेवास्ता गरेकै हो । त्यसैले यस्तो जोखिमबाट बच्नका लागि महानगरकै पहलमा ५०० बेड क्षमताको आइसोलेसन वार्ड बनाउने बारेमा छलफल अघि बढाएको छु । कोरोना परीक्षणका लागि पीसीआर मेसिन, २० हजार थान परीक्षण किट लगायत अन्य स्वास्थ्य सामग्रीको व्यवस्थापनका बारेमा पनि छलफल भइरहेको छ । सहयोगका लागि सबैसँग अपिल पनि गरेको छु ।

हुन त संकटलाई मध्यनगर राख्दै वीरगञ्जमा एक हजार क्षमतामा आइसोलेसन वार्ड बनाउनु जरुरी छ । तर त्यसको सम्पूर्ण व्यवस्थापनको जिम्मा सरकारले लिनुपर्छ । हामीले २७० बेडको आइसोलेसन वार्ड सञ्चालन गर्दा नै खर्च धान्न गाह्रो भइसक्यो । अहिलेसम्म कहीँ कतैबाट एक रुपैयाँ सहयोग पनि आएको छैन । यदि व्यवस्थापनको जिम्मा केन्द्रले लिन्छ भने महानगरले त्यसमा पूर्णरुपमा सहयोग गर्छ । यहाँ उपचार गराउन आउने, क्वारेन्टाइनमा बस्ने सबै वीरगञ्ज महानगरका मात्रै नागरिक त हुँदैनन् नि ? महानगरले आफ्नो क्षमता भन्दा बढी त बहन गर्न सक्दैन नि बाबा ।

त्यसो भए कोरोनासँग लड्न अब महानगरसँग बजेट छैन हो ?

ठीक भन्नु भो । हामीसँग बजेट छैन । अर्को महिनाको लागि कर्मचारीलाई तलब खुवाउने बजेट पनि छैन । मासिक ८५ लाख खर्च भइरहेको छ । यसरी कति दिन धान्न सकिन्छ ? आइसोलेसन वार्ड र क्वारेन्टाइन स्थापना गर्न मोटो रकम लाग्यो । आइसोलेसन र क्वारेन्टाइनका लागि आवश्यक बेड, ओढ्ने, ओछ्याउने, खाना, खाजा लगायतको व्यवस्थापनमा खर्च भइरहेको छ । ट्रेसिङ लगायतको काममा पनि खर्च भइरहेको छ । त्यति मात्रै होइन, वीरगञ्ज भएर भारत जाने र नेपाल आउने मानिसलाई क्वारेन्टाइनमा राख्ने, बस्ने, खाने लगायतको व्यवस्थापन महानगरले नै गरिरहेकोछ ।

क्वारेन्टाइनको चाहिँ कसरी व्यवस्थापन मिलाउनु भएको छ ?

वीरगञ्जको विभिन्न पाँच स्थानमा रहेका क्याम्पस र विद्यालयहरुमा क्वारेन्टाइन स्थापना गरेका छौं । जसमा ५३७ बेडको क्षमता रहेको छ ।

थप क्वारेन्टाइनका लागि हरेक वडाको विद्यालय प्रयोग गर्ने योजनामा छौं । अहिले विद्यालय खोल्ने अवस्था छैन । त्यसैले क्वारेन्टाइन स्थापना गर्नका लागि त्यति ठूलो चुनौती हो जस्तो मलाई लाग्दैन । त्यसैले अब हरेक वडाको विद्यालयलाई क्वारेन्टाइनका रुपमा प्रयोग गर्ने व्यवस्था मिलाउँछौं ।

भारतमा मजदुरी गरी फर्कने नेपालीहरुको संख्या दिन प्रतिदिन बढ्दो छ । उनीहरुको व्यवस्थापन कसरी गर्ने सोच बनाउनु भएको छ ?

भारतबाट आउने नेपाली नागरिकलाई सिधै घर पठाउँदा संक्रमणका खतरा हुन्छ । त्यसैले उनीहरुलाई क्वारेन्टाइनमा राखेर तत्काल पीसीआर परीक्षणको व्यवस्था मिलाउनु आवश्यक छ । त्यही रिपोर्टको आधारमा मात्रै उनीहरुलाई घर पठाउने वा आइसोलेसनमा राख्ने भन्ने टुंगो लगाउनु पर्छ । जसले गर्दा भारतबाट आएका व्यक्तिहरुबाट संक्रमण फैलने खतराबाट जोगिन सकिन्छ ।

सहयोगको लागि अपिल त गर्नुभएछ । तयारीचाहिँ कसरी गरिरहनुभएको छ ?

मैले तयारी गरेरै सबैसँग सहयोगको अपिल गरेको हुँ । सबै पालिकाका प्रमुखहरुसँग छलफल पनि गरिसकेको छु । यो संक्रमणसँग लड्नका लागि गर्नुपर्ने तयारीका बारेमा अवगत पनि गराएँ र आफ्नो योजना पनि सुनाएको छु । उहाँहरु यसमा सकारात्मक हुनुहुन्छ । यस्तै वीरगञ्ज उद्योग वाणिज्य संघका केही पदाधिकारीसँग पनि छलफल गरेको छु ।

थप आइसोलेसन वार्डको आवश्यकता महसुस किन गर्नुभयो ?

लक्षण भएका नभएका सबैलाई एउटै आइसोलेन वार्डमा राख्दा थप खतरा बढ्न सक्छ । पछिल्लो पटक देखा परेका अधिकांश संक्रमितमा लक्षण देखा परेका छैनन् । यही कुरालाई मध्यनजर राखेर लक्षण नभएकालाई राख्न बढी बेडको आवश्यकता महसुस भएको हो । अर्को कुरा, भारतबाट धेरै नेपालीहरु फर्कने क्रममा छन् । भारतमा धेरै संक्रमितहरु देखिएकाले उताबाट हाम्रा नागरिकहरु बढी जोखिम मोलेर स्वदेश फर्किरहनुभएको छ । त्यसलाई पनि मध्यनजर राख्दा भोलि संक्रमण बढ्न सक्ने अवस्था नआउला भन्न सकिँदैन । संक्रमण देखापरेपछि आइसोलेसनका लागि ठाउँ खोज्ने, त्यसको व्यवस्थापन मिलाउने जस्ता काममा भुल्यौं भने ठूलो जोखिम मोल्नु पर्ने अवस्था आउन सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment