Comments Add Comment

सिमानामा २४ सयको भिडमा थिए बैतडीका ४ जना संक्रमित

१० जेठ, कैलाली । कैलालीको गौरीफन्टा नाकाबाट बिहीबार २५ सय मानिससँगै स्वदेश फर्किएका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार स्वदेश फर्किने क्रममा कोरोनाको लक्षण देखिएपछि सिधै कैलालीको सेती प्रादेशिक अस्पताल लगिएका २२ जनामध्ये चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बाँकी १८ जनाको रिपोर्ट आउन बाँकी रहेको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठले बताए ।

सयौंको भिडमा रहेका व्यक्तिलाई कोरोना संक्रमण देखिएपछि अहिले सुदूरपश्चिम प्रदेशमा त्रास फैलिएको छ । बिहीबार सीमाबाट स्वदेश प्रवेश गरेका २४ सय ९८ जनामध्ये छ सय जनाको मात्र र्‍यापिड डाइग्नोस्टिक टेस्ट विधिबाट कोरोना परीक्षण गरिएको थियो ।

शनिबार संक्रमण पुष्टि भएका चारै जना बैतडीको शिवनाथ गाउँपालिकाका हुन् । शिवनाथ गाउँपालिकाका–१ का २७ र २० वर्षीय तथा वडा नम्बर २ का २२ र ३० वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।

उनीहरू चारै जनाको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा छन् ।

यसअघि शुक्रबार पनि सुदूरपश्चिम प्रदेशमा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । कैलालीको जानकी गाउँपालिकाका तीन जना, डडेल्धुराको परशुराम नगरपालिका एक जना र बैतडीको शिवनाथ गाउँपालिकाका एक जनालाई शुक्रबार संक्रमण देखिएको थियो । उनीहरूको टीकापुर, डडेल्धुरा र बैतडी अस्पतालमा उपचार भइरहेको छ ।

जोखिम बढ्यो

परीक्षणविनै नेपाल प्रवेश गरी स्थानीय तहमा पठाइएकाहरूबाट सुदूरपश्चिममा कोरोना संक्रमण व्यापक हुन सक्ने जोखिम बढेको प्रादेशिक स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले बताए ।

‘यसले ठूलो जोखिम निम्त्याउन सक्छ’ उनले भने ‘अब त्यो भिडमा रहेका सबैको परीक्षण गर्नु आवश्यक छ ।’ बिहीबार स्वदेश फर्केर विभिन्न स्थानीय तहमा पुगेकाहरूको खोजी सुरु गर्नुपर्ने अवस्थीले बताए ।

‘सबै स्थानीय तहले खोजी गर्नुपर्छ । स्थानीय तहले स्वास्थ्य कार्यालयलाई विवरण पेश गर्नुपर्छ’ उनी भन्छन् ‘त्यो भिडमा रहेकाहरूको खोजी हुन सकेन भने ठूलो समस्या हुनसक्छ । ’

भारतमा कोरोनाको संक्रमण बढेपछि त्यहाँबाट आएकाहरू स्वास्थ्य परीक्षणविनै गन्तव्यमा पुगिरहेका छन् । पछिल्लो एक सातामा मात्रै आठ हजार बढी नागरिक कैलालीको गौरीफन्टा नाकाबाट स्वदेश फर्किएका छन् । तीमध्ये नौ सय ५० जनाको मात्रै परीक्षण भएको छ ।

‘महाराष्ट्रबाट आएका धेरै छन् । उनीहरुबाट सबैभन्दा बढी जोखिम छ’ उनले भने, ‘अहिले हामीकहाँ जनशक्ति र सामग्री अभाव छ । मंगलबारसम्म सामग्री आइपुग्छ । त्यसपछि सबै जिल्लाको क्वारेन्टाइनमा रहेकाहरूको स्वास्थ्य परीक्षण हुन्छ ।’

कञ्चनपुरको दोधरा–चाँदनी नाकाबाट एक सातामा १५ सय नागरिक भित्रिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र पौडेलले बताए ।

यो नाकाबाट शनिबार चार सय ४१ जना र बिहीबार सात सय ३९ जना स्वदेश फर्किएका पौडेलले बताए । यो नाकाबाट स्वदेश फर्किनेको पनि स्वास्थ्य जाँच भएको छैन ।

क्वारेन्टाइनमा बसेकाहरू त्रसित

गौरीफन्टा नाका हुँदै संक्रमितसँग आएका केही नागरिक अहिले बैतडीको शिवनाथ गाउँपालिकामा तयार गरिएको क्वारेन्टाइनमा छन् । उनीहरूको स्वास्थ्य परीक्षणको तयारी भइरहेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश भट्टले जानकारी दिए ।

अहिले बैतडीमा एक हजार चार सय १४ जना क्वारेन्टाइनमा छन् । सबैभन्दा बढी शिवनाथ गाउँपालिकाको क्वारेन्टाइनमा चार सय ७५ जना रहेको भट्टले बताए । भारतबाट सँगै आएकाहरूलाई संक्रमण देखिएपछि उनीहरू पनि जोखिममा रहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment