News Summary
Generated by OK AI. Editorially reviewed.- सयनम अधिकारीले लेखन तथा निर्देशन गरेको एक्सन थ्रिलर फिल्म ‘कालमाण्डू’ २४ पुसदेखि प्रदर्शनमा आउने भएको छ।
- निर्माताले ‘राधा’ गीत सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्, जसमा सम्राट न्यौपानेको स्वर र संगीत तथा रमेश देवकोटाको शब्द छ।
- फिल्मले काठमाडौंको अँध्यारो संसार, मानव तस्करी, अपहरण, हत्या र अपराधको जाल प्रस्तुत गर्ने निर्देशक अधिकारीले बताए।
काठमाडौं । एक्सन थ्रिलर जनरामा निर्माण भएको कथानक फिल्म ‘कालमाण्डू’ को प्रदर्शन मिति तय भएको छ । निर्माताका अनुसार अब यो फिल्म २४ पुसदेखि प्रदर्शनमा आउनेछ ।
निर्माताले ‘राधा’ बोलको गीत सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन् । गीतमा सम्राट न्यौपानेको स्वर तथा संगीत छ भने गीतकार रमेश देवकोटा हुन् ।
भिडियोमा शीर्ष कलाकार अनिलराज पौडेल र रोशनी कार्की फिचर्ड छन् । गीतमा उनीहरु राधाकृष्णको भूमिकामा प्रस्तुत छन् । पुनम श्रेष्ठको नृत्य निर्देशन रहेको गीतमा पवन सुस्लिङको छायांकन तथा सम्पादन छ ।
एकातिर अपराध र थ्रीलरको कथा, अर्कोतिर प्रेमिल भाव बोकेको उक्त गीतले कालमाण्डूको संसारलाई थप फराकिलो तुल्याएको छ । मूभी ल्यान्ड नेपालको ब्यानरमा निर्माण भएको फिल्मलाई सयनम अधिकारीले लेखन तथा निर्देशन गरेका हुन् ।
फिल्मले काठमाडौंको बाहिरी चमकभित्र लुकेको अँध्यारो संसार, मानव तस्करी, अपहरण, हत्या र अपराधको जाललाई प्रस्तुत गर्ने निर्देशक अधिकारीले बताए ।
फिल्मले एक्सनसँगै दाजु र बहिनीप्रतिको प्रेम, खोजी र अपराधसँगको खतरनाक युद्धको कथा प्रस्तुत गर्नेछ । फिल्ममा गजित विष्ट, अञ्जन थापा, अनिलराज पौडेल, राजन अधिकारी, रोशनी कार्की, अलिशा बाँस्तोला, ललना चिमरिया, सुगत करणजित, विशाल पहारी, राकेश कलागाईं, शिव अधिकारीको अभिनय छ ।
प्रतिक्रिया 4