News Summary
Generated by OK AI. Editorially reviewed.- ४० वर्षपछि पनि आईभीएफबाट आमा बन्न सकिने भए पनि आफ्नै अण्डाको संख्या र गुणस्तर घट्दा सफलता कम हुन सक्छ ।
- डा. सविता थापाले ४० वर्षपछि आमा बन्नका लागि दाता अण्डा वा अण्डा सुरक्षित राख्ने विकल्पबारे विशेषज्ञसँग परामर्श गर्न सुझाएकी छन् ।
विवाह ढिलो भयो । बच्चाको योजना बनाउँदा उमेर ४० नाघिसक्यो । प्राकृतिक रूपमा गर्भधारण गर्न कठिन भएपछि अब आईभीएफ गर्ने सोचमा हुने दम्पतीको पहिलो प्रश्न हुने गर्छ– ४० वर्षपछि आईभीएफ गरेर आमा बन्न सकिन्छ ?
४० वर्षपछि आमा बन्न सकिँदैन भन्ने होइन । आधुनिक प्रजनन प्रविधिले उमेर बढिसकेपछि पनि गर्भधारणको अवसर दिएको छ । तर ‘आईभीएफ गराएपछि उमेरले कुनै फरक पार्दैन’ भन्ने बुझाइ सही होइन । उमेरसँगै आफ्नै अण्डाको संख्या र गुणस्तरमा आउने परिवर्तनले आईभीएफको सफलतामा ठूलो प्रभाव पार्न सक्छ ।
अझ महत्वपूर्ण कुरा के हो भने आईभीएफको सफलता निर्धारण गर्दा महिलाको उमेर मात्र हेरिँदैन । अण्डाको उमेर र गुणस्तरले पनि ठूलो भूमिका खेल्छ ।
अध्ययन के भन्छ ?
बेलायतमा सन् १९९१ देखि २०१८ सम्म भएका १२ लाखभन्दा बढी सहायक प्रजनन प्रविधिसम्बन्धी उपचारको विश्लेषणले ४० वर्षपछि आईभीएफको सफलता र अण्डाको गुणस्तरबीचको सम्बन्धलाई स्पष्ट देखाएको छ ।
अध्ययनअनुसार ४३ वर्ष वा त्यसभन्दा माथिको उमेरमा आफ्नै अण्डा प्रयोग गरेर गरिएको आईभीएफको सफलता दर ५ प्रतिशतभन्दा कममा झरेको देखिन्छ ।
तर यही उमेर समूहमा दाता अण्डा प्रयोग गर्दा परिणाम तुलनात्मक रूपमा राम्रो देखिएको छ । सन् २०१८ सम्म ४३–४४ वर्ष उमेरका महिलामा सहायक प्रजनन प्रविधिबाट भएका आधाभन्दा बढी जन्ममा दाता अण्डा प्रयोग भएको थियो । ४५ देखि ५० वर्ष उमेर समूहमा यस्तो प्रयोग ९० प्रतिशतभन्दा माथि पुगेको थियो ।
किन उमेरसँगै आफ्नै अण्डाबाट आईभीएफको सफलता घट्छ ?
निःसन्तान तथा आईभिएफ विशेषज्ञ डा. सविता थापाका अनुसार महिलाको शरीरमा अण्डा पुरुषको शुक्रकीटजस्तो निरन्तर नयाँ उत्पादन हुँदैन । ‘जन्मिँदा नै अण्डाको निश्चित भण्डार हुन्छ र उमेर बढ्दै जाँदा त्यसको संख्या घट्दै जान्छ । बाँकी रहेका अण्डाको गुणस्तरमा पनि समयसँगै परिवर्तन आउँछ, ’उनी भन्छिन् ।
उनका अनुसार जन्मका बेला बालिकाको शरीरमा करिब १० देखि २० लाख अण्डा हुन्छन् । किशोरावस्थामा पुग्दा यो संख्या करिब ३ देखि ५ लाखमा झर्छ । २० देखि ३० वर्षको उमेरमा अण्डाको गुणस्तर तुलनात्मक रूपमा राम्रो हुन्छ । तर ३५ वर्षपछि अण्डाको संख्या र गुणस्तरमा तीव्र गिरावट आउन सक्छ ।
यसै कारण उमेर बढ्दै जाँदा गर्भधारण गर्न कठिन हुने, गर्भपतनको जोखिम बढ्ने तथा भ्रूणमा आनुवंशिक समस्या देखिने सम्भावना बढ्न सक्ने उनी बताउँछिन् ।
आईभीएफ प्रविधि सुध्रियो, तर उमेरको प्रभाव हटेन
आईभीएफ र अन्य सहायक प्रजनन प्रविधिमा पछिल्ला दशकमा उल्लेखनीय सुधार भएको छ । अध्ययनअनुसार सन् १९९१ मा सहायक प्रजनन प्रविधिको समग्र सफलता दर १४.७ प्रतिशत थियो । सन् २०१८ सम्म आइपुग्दा यो बढेर २८.३ प्रतिशत पुगेको छ । अर्थात् प्रविधिले गर्भधारणको सम्भावना बढाएको छ । तर उमेरसँगै अण्डामा हुने प्राकृतिक परिवर्तनलाई प्रविधिले पूर्ण रूपमा रोक्न भने सक्दैन ।
महिलाको उमेर र अण्डाको उमेर एउटै होइन
महिलाको उमेर उनको वास्तविक उमेर हो । अण्डाको उमेर भने अण्डाको जैविक अवस्था, संख्या र गुणस्तरसँग सम्बन्धित हुन्छ । डा. थापाका अनुसार आईभीएफको परिणाममा महिलाको उमेरभन्दा अण्डाको उमेरले बढी प्रभाव पार्ने देखिएको छ ।
विशेषगरी आफ्नै अण्डा प्रयोग गर्दा उमेर बढ्दै जाँदा सफलता घट्छ । तर कम उमेरका दाताको अण्डा प्रयोग गर्दा सफलता दर तुलनात्मक रूपमा स्थिर देखिने उनी बताउँछिन् ।
४० वर्षपछि कुन विकल्प उपयुक्त ?
डा. थापाका अनुसार धेरै उमेरमा आफ्नै अण्डाबाट आईभीएफको सफलता कम हुँदै जाने अवस्थामा दाता अण्डा एउटा विकल्प हुन सक्छ । भविष्यमा गर्भधारण गर्ने योजना भएका महिलाका लागि कम उमेरमै अण्डा सुरक्षित राख्ने विकल्प पनि महत्वपूर्ण हुन सक्छ ।
‘कुन विकल्प उपयुक्त हुन्छ भन्ने कुरा प्रत्येक महिलाको स्वास्थ्य, अण्डाको अवस्था र प्रजननसम्बन्धी अन्य पक्षका आधारमा फरक हुन सक्छ। त्यसैले आईभीएफ अघि विशेषज्ञ चिकित्सकसँग परामर्श र आवश्यक परीक्षण गर्नु महत्वपूर्ण हुन्छ’ उनी भन्छन् ।
आईभीएफ सफल हुन अण्डाबाहेक के–के कुराले असर गर्छ ?
डा. थापाले बताए अनुसार आईभीएफको सफलता अण्डाको उमेर र गुणस्तरले मात्र निर्धारण गर्दैन । महिलाको उमेर, अण्डाको गुणस्तर, शुक्रकीटको अवस्था, गर्भाशयको स्वास्थ्य, हर्मोनसम्बन्धी समस्या, मोटोपना र धूमपानजस्ता पक्षले पनि आईभीएफको परिणाममा असर पार्न सक्छन् ।
३५ वर्षभन्दा कम उमेरमा आईभीएफ सफल हुने सम्भावना तुलनात्मक रूपमा बढी हुन्छ । उमेर बढ्दै जाँदा अण्डाको गुणस्तरमा आउने परिवर्तनले उपचारको परिणाम प्रभावित गर्न सक्छ ।
त्यसैले, ४० वर्षपछि आईभीएफ गर्ने सोचमा हुनुहुन्छ भने केवल आफ्नो उमेर हेरेर होइन, अण्डाको अवस्था, प्रजनन स्वास्थ्य र समग्र स्वास्थ्य परीक्षण गरेर विशेषज्ञको सल्लाहमा निर्णय गर्न उनको सुझाव छ ।
प्रतिक्रिया 4