Comments Add Comment

मध्यरातमा आफताब आलमको घरमा छापा, स्थानीयको अवरोधपछि हवाई फायर

९ जेठ, रौतहट । राजपुर बमकाण्डका अभियुक्त पूर्वमन्त्री आफताब आलमको घरमा प्रहरीले खानतलासी गरेको छ ।

सोही बमकाण्डका फरार अभियुक्त महताब आलमलाई पक्राउ गर्न प्रहरीले बिहीबार राति १२ बजे राजपुरमा रहेको आफताब आलमको घरमा पुगेको थियो । महताब अफताब आलमका भाइ हुन् ।

‘बमकाण्डका फरार अभियुक्त महताब आलम घरमा रहेको गोप्य सूचना हामीलाई प्राप्त भएको थियो’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक रविराज खड्काले भने ‘निजलाई पक्राउ गर्न प्रहरी टोली आफताब आलमको घरमा गएको थियो ।’ खानतलासीका क्रममा परिवारजन र स्थानीयले प्रहरीलाई अवरोध गरेपछि प्रहरीले हवाई फायर समेत गरेको उनले बताए ।

अभियुक्त पक्राउ गर्न गएको प्रहरीमाथि हातपात हुन खोजेपछि १२ राउण्ड गोली हवाई फायर गरेको प्रहरी उपरीक्षक खड्काले बताए । ‘हामीले खोजेको व्यक्ति महताब आलम फेला परेनन्’ उनले भने ‘फरार रहेका सबैको खोजी कार्य जारी छ ।’

राजपुर बमकाण्ड घटनाका आरोपी मोहम्मद महताब आलम, मोहम्मद मोबिन आलम, शेख भदई, शेख सेराज, शेख फजले हक, सगिर आलम, शेख मलकार, बद्री सहनी, मुक्ति साहलयायतका व्यक्ति प्रहरीको फरार सूचीमा छन् ।

मध्यरातमा प्रहरीले गरेको खानतलासीको स्थानीयले विरोध गरेका छन् ।

के हो राजपुर बमकाण्ड ?

२०६४ चैत्र २७ गते राजपुर फरहदवामा रहेको नेपाली कांग्रेसका पूर्वमन्त्री शेख इद्रिसको घरमा बम विस्फोट भएको थियो । पहिलो संविधान सभा निर्वाचनको पूर्वसन्ध्यामा भएको सो विस्फोटमा परी मृत्यु भएका र घाइते भएकाहरूलाई नजिकैको इँटाभट्टामा लगेर पोलेको आरोप आलममाथि लागेको छ ।

विष्फोटमा परी कति जनाको मृत्यु भएको वा कति व्यक्ति घाइते भएका छन् भन्ने यकिन थिएन । तर, सरुअठाका २४ वर्षका त्रिलोकप्रताप सिंह र २२ वर्षका ओसी अख्तरको मृत्यु भएको भन्दै दुवै जनाको परिवारका सदस्य श्रीनारायण सिंह र रोक्साना खातुनले मोहम्द आफताब आलम, महताब आलम, मोविन आलम, शेख भदई र शेख सरोजविरुद्ध किटानी जाहेरी दिएका थिए ।

जाहेरी दिएको १२ वर्षपछि प्रहरीले रौतहट क्षेत्र नं. २ का सांसद तथा पूर्वमन्त्री मोहमद आफताब आलमलाई २०७६ असोज २६ गते इद्रिस गेट अगाडिबाट पक्राउ गरेको थियो ।

आलमलाई बमबारुद बनाउने तथा विस्फोटनसम्बन्धी कसुर र घटनाका जीवित घाइतेको बयानका आधारमा ज्यान मार्ने मुद्दा समेतको अभियोगमा जिल्ला अदालत रौतहटले २०७६ कात्तिक २९ मा पुर्पक्षको लागि कारागार चलान गरेपछि हाल उनी काठमाडौंको नख्खु कारागारमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment