Comments Add Comment

पाकिस्तानमा ९७ जना रहेको विमान दुर्घटना

९ जेठ, काठमाडौं । पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक विमान दुर्घटनामा परेको छ । पाकिस्तानी टेलिभिजन जियो टीभीका अनुसार जिन्नाह इन्टरनेशनल एयरपोर्टमा उक्त विमान ल्याण्ड हुनुभन्दा एक मिनेटपहिला दुर्घटनामा परेको हो ।

विमानमा ९७ जनाको रहेको आकलन छ । जसमध्ये ८५ जना यात्रु र १२ जना विमानमा चालक दलका सदस्य छन् । पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमान लाहोरबाट आएको थियो । प्राधिकरणका अनुसार विमान एक मिनेटमा ल्याण्ड हुने अनुमान गरिएको अवस्थामा विमानसँगको सम्पर्क विच्छेद भएको थियो ।

समाचारमा बताइएअनुसार विमान दुर्घटनामा परेको स्थानमा धेरै घरहरुमा पनि क्षति पुगेको छ । अहिले उद्धारको काम जारी रहेको समाचारमा बताइएको छ । साँघुरो बाटो र मानिसको भिडको कारण उद्धारमा कठिनाइ भइरहेको बताइएको छ ।

पीआईएका प्रवक्ता अब्दुल्लाह हाफीजले एयरलाइन्सले यात्रा अवधिभर विमानबाट सूचना पाइरहेको र कुनै किसिमको समस्या नभएको बताए । उनले दुर्घटना हुनुमा केही प्राविधिक त्रुटि हुन सक्ने बताए । यो विमानको दुर्घटनाबारे स्वतन्त्र संस्थाले अनुसन्धान गर्ने उनले बताए ।

यस विषयमा विस्तृत विवरण आएपछि पत्रकार सम्मेलन गरेर यसको जानकारी दिने तयारी भइरहेको बताइएको छ । उद्धारमा खटिएका स्रोतले दिएको जानकारी अनुसार दुर्घटना भएको स्थलबाट अहिलेसम्म १५–२० जनाको उद्धार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment