
९ जेठ, बुटवल । रुपन्देहीमा मृत्यु भएका गुल्मीका कोरोना संक्रमित पुरुषको शव जंगलमा गाडिएको छ ।
नेपाली सेनाको स्वास्थ्य प्राविधिक टोलीले मृत्यु भएको ३१ घण्टापछि अस्पतालबाट शव निकालेर शुक्रबार दिउँसो बुटवल धागो कारखाना पूर्वतर्फको जंगलमा गाडेको हो ।
मृतकको शव बिहीबार नै तिलोत्तमा नगरपालिकाको वडा नं ३ स्थित मगरघाटमा जलाएर व्यवस्थापन गर्ने प्रयत्न भए पनि स्थानीयले असहमति जनाएका कारण तिलोत्तमाकै वडा नं १४ अमुवा पुल नजिक व्यवस्थापन गर्ने तयारी भएको थियो ।
पछि त्यहाँ पनि स्थानीयले सहमति दिएनन् । शुक्रबार सैनामैनाको सालझण्डीमा रहेको सामुदायिक वनमा व्यवस्थापन गर्ने प्रयत्न पनि सफल हुन नसकेपछि स्थानीय प्रशासनले कोरोना विशेष अस्पतालसमेत रहेको बुटवल धागो कारखानाको पूर्वतर्फको जङ्गल क्षेत्रमा लगेर शव गाडेको हो ।
महामारीको समयमा शव व्यवस्थापन गर्न नदिँदा समाजमा गलत सन्देश जान्छ भनेर प्रहरीले ल्याएको कागजमा हस्ताक्षर गरिदिएको मृतकका भाइ मीनबहादुर कुँवरले बताए । कोरोना पोजेटिभ देखिएपछि अस्पतालले बिरामीको उपचारै नगरेको हुँदा छानबिन गर्नुपर्नेलगायतका माग यथावत रहेको उनले बताए ।
‘असहज परिस्थिति भएकाले शव उठाउनका लागि कागजमा हस्ताक्षर गरेका हौं । तर, यसको मतलब हामीले माग छाडेका होइनौं’, उनले भने, ‘स्वाब संकलन गर्दा एकजना मर्चवारतिरबाट क्वारेन्टाइनबाट आएका बिरामीको पनि स्वाब संकलन गरिएको र त्यसको फाराम इमेलमार्फत पठाउँदा यताउता भएर रिपोर्ट पोजेटिभ आएको हुनसक्ने शंका पनि छ ।’
बिरामीको ढाडबाट पानी निकाल्नुको कारण र त्यसका सम्भावित जोखिमबारे अस्पतालले परिवारका आफन्तसँग कुनै जानकारी नगराउनुको कारण, कोरोना पोजेटिभ देखिएपछि गरिएको उपचार सेवाको सीसीटिभी फुटेज सार्वजनिक गर्नुपर्ने परिवारको माग छ । त्यस्तै, अस्पतालका सञ्चालक आफैँले बुधबार बिहान बिरामीको मृत्यु भएको भनेर मिडिया र नगरप्रमुखलाई जानकारी दिनुको कारणबारे छानबिन गर्नुपर्ने मृतकका भाइले बताए ।
मृतकसँगै स्वाब संकलन गरिएका मर्चवारका पुरुषको पहिचान गरी पुनः परीक्षण गरिनुपर्ने पनि मृतकका आफन्तको माग छ । आफ्ना मागबारे प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराललाई समेत जानकारी गराएको उनले बताए ।
मन्त्रीले ५ गतेपछिको बिल नतिर्न सुझाव दिएको र अन्य मागबारे निवेदन लेखेर दिन भनेको मृतकका अर्का आफन्त खिमबहादुर कुँवरले बताए । शव गाड्ने विषयमा पनि आफूहरूसँग कुनै सल्लाह नगरिएको उनले बताए ।
अस्पतालका २९ जनाकै रिपोर्ट नेगेटिभ
जेठ १ गते अस्पतालमा भर्ना भएका गुल्मीको मदाने गाउँपालिकाका ४१ वर्षका पुरुषको उपचारमा संलग्न डाक्टर, नर्स, आफन्त र एम्बुलेन्स चालकसहित २९ जना सबैको पीसीआर टेस्टको रिपोर्ट नेगेटिभ आएको छ ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको प्रयोगशालाका निमित्त प्रमुख राजेन्द्र गिरीले बताए । यसअघि अर्घाखाँचीको सन्धिखर्कको छाया पोलिक्लिनिकमा उनको उपचारमा संलग्न चिकित्सक र नर्ससहित १० जनाको रिपोर्ट पनि नेगेटिभ आएको थियो ।
जेठ १ गते क्रिमसन अस्पतालमा भर्ना भएका उनमा जेठ ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । गाउँमा बसेका र भारतबाट आएका कसैसँग सम्पर्कमा नपुगेका शिक्षकमा देखिएको कोरोना पोजेटिभ रिपोर्टबाट परिवारका सदस्य अचम्ममा परेका छन् ।
जेठ ८ गते साँझ मृतकको पुनः पीसीआर परीक्षणका लागि प्रदेश जनस्वास्थ्य कार्यालय भैरहवामा स्वाब पठाइएको छ । त्यसको रिपोर्ट आइसकेको छैन ।
प्रतिक्रिया 4