Comments Add Comment

धनुषामा सुत्केरी र गर्भवतीलाई पोसिलो खानेकुरा वितरण

११ जेठ, जनकपुरधाम । धनुषाको कमला नगरपालिका–५ भलुवाहीका सुत्केरी र गर्भवती महिलाले राहतमा पोसिलो खानेकुरा पाएका छन् ।

लकडाउनको समयमा गर्भवती र सुत्केरी जोखिममा रहेको समाचार सार्वजनिक भएपछि उनीहरुले राहतमा पोसिलो खानेकुरा पाएका हुन् ।

पोसिलो खानेकुरा पाएपछि अब नवजात शिशुलाई खुवाउने दूध आउने स्थानीय मनिषादेवी सदाले बताइन् । लकडाउनपछि चैत दोस्रो साता सुत्केरी भएकी उनले आफूले पोसिलो खाना नपाउँदा बच्चा रोइरहँदा पनि दूध खुवाउन नसकेको बताएकी थिइन् ।

‘बच्चा रुँदा दूध चुसाउन खोज्थेँ । दूध नआएर बच्चा झन् जोड–जोडले रुन्थ्यो । बच्चा रोएपछि आफू पनि रुन थाल्थेँ ।’

सोही ठाउँकी अर्की सुत्केरी मन्तोरियादेवी सदाले बच्चा रुँदा ट्युबेलको पानी खुवाएको स्मरण गरिन् । ‘जतिखेर बच्चा रुन्थ्यो, त्यत्ति बेला पानी चम्चामा हालेर खुवाएकी छु’ उनले भनिन् ।

अनुसन्धानमा आधारित अभियानी संस्था भोरको पहलमा कुपोषणको जोखिममा रहेकी यहाँका २३ जना सुत्केरी र गर्भवतीलाई पोषणयुक्त खानेकुरा राहतमा प्रदान गरिएको छ ।

बेसिक हेल्प फर नेपालको सहयोगमा उनीहरुलाई घरेलु चामल, दाल, तेल, नुन, अण्डा, ज्वानो, तरकारी तथा फलफुल वितरण गरिएको छ ।

रुविता सदाले शुरुमा स्वाथ्य चौकीमा जचाउँन जाँदा अण्डा, फलफुल खान स्वास्थ्यकर्मीले सल्लाह दिएपनि भात पनि राम्रोसँग खान नपाएको सुनाइन् ।

भोरका संस्थापक अध्यक्ष राजकुमार महतोले प्रदेश २ मा कुपोषणको जोखिम रहेको समाचार बाहिरिएसँगै यस्ता सुत्केरी र गर्भवतीलाई पोषिलो खानेकुरा जुटाइएको बताए ।

कमला नगरपालिका ५ भलुवाहीकै घोघी, सितुवा मारेर दैनिक गुजारा गरिरहेका ५२ परिवारलाई समेत १५ किलो चामल, १ किलो दाल, १ किलो नून, १ लिटर खाने तेल सहित तरकारी र तरबुज वितरण गरिएको महतोले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment