Comments Add Comment

पोखरामा १६ सय जना अट्ने क्वारेन्टाइन बन्ने

११ जेठ, पोखरा । पोखरा महानगरले अब करिब १६ सय जनाभन्दा बढी क्षमताको क्वारेन्टाइन बनाउने भएको छ । शनिबार बसेको महानगरको कोरोना संक्रमण नियन्त्रण मूल समितिको बैठकले महानगरको क्वारेन्टान क्षमता बढाउने निर्णय गरेको हो ।

बैठकले प्रत्येक वडामा बढीमा ५० जनासम्म क्वारेन्टाइन बनाउन वडा कार्यालयलाई पत्राचार गरिने पोखरा महानगर उपप्रमुख तथा कोरोना संक्रमण नियन्त्रण मुल समिति संयोजक मञ्जुदेवी गुङले जानकारी दिइन् । पोखरा महानगरमा ३३ वटा वडा छन् ।

‘एउटा वडाले कम्तीमा २५ देखि ५० जनासम्म अट्ने गरी क्वारेन्टिन बनाउने निर्णय भएको छ,’ उनले भनिन् ।

महानगरले हाल २ वटा क्वारेन्टाइन सञ्चालन गर्दै आइरहेको छ । जसमध्ये लेकसिटी रिसर्च एन्ड हस्पिटलमा ६० जनासम्म र मालेपाटनस्थित कृषिको होस्टेलमा बढीमा ४८ जनासम्ममात्रै राख्न मिल्ने क्षमता थियो ।

‘अब विस्तारै भारत र तेस्रो मुलुकबाट स्वदेश भित्रिनेको संख्या बढ्छ । त्यसो हुँदा बेलैमा क्वारेन्टाइन बढाउन सकेनौं भने समस्या पर्न सक्छ भनेर अहिले नै तयारीमा लागेका हौं,’ पोखरा महानगर स्वास्थ्य महाशाखा प्रमुख हेमन्त शर्माले अनलाइनखबरसँग भने ।

महिलाका लागि छुट्टै क्वारेन्टाइन

महानगरले महिलाको सुरक्षा र सहजतालाई ध्यानमा राख्दै उनीहरुका लागि छुट्टै क्वारेन्टाइन बनाउने भएको छ । महिलाका लागि बन्ने नयाँ क्वारेन्टाइनबारे स्थानको छनोट, व्यवस्थापन गर्न महानगर क्वारेन्टाइन व्यवस्थापन समितिलाई निर्देशन दिइसकेको कोरोना नियन्त्रण मुल समितिका सदस्य सचिव किरण कोइरालाले जानकारी दिए ।

‘क्वारेन्टाइन व्यवस्थापन सोचेको भन्दा गाह्रो हुने रहेछ । व्यवस्थापन नहुँदा शौचालयदेखि सुत्नसमेत समस्या हुने देखियो,’ कोइरालाले भने, ‘पछि क्वारेन्टाइनमा बस्नेको संख्या बढ्दा समस्या हुने देखिएकाले छुट्टै बनाउने निर्णय गरेका हौं ।’

महानगरले सुत्केरी महिलालाई दिँदै आएको पोषण सामग्री पनि जेठ २० गतेसम्म निरन्तरता दिने बैठकले निर्णय गरेको छ । कोरोना भाइरस फैलन नदिन सरकारले गरेको लकडाउन सुरु भएदेखि महानगरले सुत्केरी महिलालाई पोषण सामग्री वितरण गर्न सुरु गरेको थियो ।

महागनरले सुत्केरी भएकाहरुलाई एक किलो घ्यू, एक किलो हर्लिक्स, एक लिटर तेल र ५ सय रुपैयाँ ‘सुत्केरी पोषण सामाग्री’ मार्फत उपलब्ध गराउँदै आएको छ । महानगरले गर्भवती र मृगौला बिरामीहरुलाई दिँदै आएको निशुल्क एम्बुलेन्स सेवालाई पनि जेठ २० गतेसम्म चल्ने भएको छ ।

बैठकले महानगरका लागि एउटा एम्बुलेन्स खरिद गर्नेसमेत निर्णय गरेको छ । कोरोना संक्रमण नियन्त्रण मूल समितिको बैठकले महानगरले सञ्चालन गर्ने गरी एउटा एम्बुलेन्स खरिद गर्न पोखरा महानगर कार्यपालिकालाई सिफारिस गर्ने निर्णय भएको उपप्रमुख गुरुङले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment