Comments Add Comment

यस वर्ष मनसुनमा औसत वर्षा हुने

११ जेठ, काठमाडौं । यस वर्ष मनसुनमा मुलुकभर औसत वर्षा हुने अनुमान मौसमविदहरूले गरेका छन् ।

दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एसियाको मनसुन विश्लेषण गरेको थियो । सो अध्ययनले यस वर्षको मनसुनमा मुलुभर औसत वर्षा हुने प्रक्षेपण गरेको हो।

विश्व मौसम सङ्गठनको अगुवाइमा सास्कोपले हरेक वर्ष मनसुन सुरु हुनुभन्दा एक महिनाअगावै दक्षिण एसियाली क्षेत्रको मनसुनसम्बन्धी दृष्टिकोण तयार गर्दै आएको छ । साधारणतया अंग्रेजी महिनाको जुन १० देखि सेप्टेम्बरसम्मका चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुन अवधि मानिन्छ । सो अवधिमा नेपालमा वार्षिक वर्षाको करीब ८० प्रतिशत वर्षा हुने गर्छ ।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार, मनसुन अवधिमा मुलुकभरको औसत वर्षाको मात्रा एक हजार ४९९ दशमलव ६ मिलिमिटर रहेको छ । योभन्दा १० मिलिमिटर बढी वा कम वर्षा भए पनि औसत वर्षा नै मानिने बताइएको छ ।

यस्तै काठमाडौंको वार्षिक वर्षा एक हजार ४ सय ५४ दशमलव ८ मिलिमिटर रहेको छ । ‘कम वर्षा हुने भन्दैमा बाढी पहिरोजस्ता प्राकृतिक प्रकोप नहुने भन्ने हुँदैन । केही घण्टाको मुसलधारे वर्षाले ठूलो प्राकृतिक प्रकोप हुन सक्छ,’ मौसमविद् मानन्धरले भने ।

सामान्यतया १० जुनमा पूर्वी नेपालबाट मनसुन प्रवेश गरी केही दिनमा देशभर फैलिने गर्छ । यस वर्ष नेपालमा मनसुन औसत समयभन्दा केही दिन छिटो भित्रने मौसमविद्को अनुमान रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २९ दशमलव ४ डिग्री सेल्सियस रहेको छ । आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ८ दशमलव शून्य डिग्री र सबैभन्दा बढी दिपायलको अधिकतम तापक्रम ३९ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment