Comments Add Comment

कोरोना परीक्षणको रिपोर्ट नआउँदै मृतकको अन्त्येष्टि

११ जेठ, काठमाडौं । वीरगञ्जस्थित नेसनल मेडिकल कलेजले उपचारको क्रममा मृत्यु भएका बाराका ७० वर्षीय एक वृद्धको शव कोरोना परीक्षणको रिपोर्ट नआउँदै आफन्तको जिम्मा लगाएको छ।

क्षयरोग, दम र निमोनियाबाट ग्रसित वृद्धलाई उनको परिवारले जेठ २ गते अस्पतालको भेन्टिलेटरमा भर्ना गराएका थिए । भेन्टिलेटरमा राख्नुअघि वृद्धको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी नारायणी अस्पतालमा पठाइएको थियो । तर, स्वाब परीक्षणको रिपोर्ट नआउँदै जेठ ४ गते राति वृद्धको मृत्यु भएको थियो ।

अस्पतालले वृद्धको शव परिवारको जिम्मा लगाएपछि मृतकका आफन्तले पनि धार्मिक परम्पराअनुसार उनको अन्त्येष्टि गरिसकेको छ। नेसनल मेडिकल कलेजका सञ्चालक बसरुद्दिन अन्सारीले मृतकको रिपोर्ट आउन ढिलाइ भएपछि शवलाई आफन्तको जिम्मा लगाएको बताए । अन्सारीले अनलाइनखबरसँग भने, ‘मृतकको शव अस्पतालमा धेरै दिन राख्दा पनि समस्या आउँछ नि । रिपोर्ट कुर्दाकुर्दा नआएपछि हामीले शव आफन्तको जिम्मा लगाउन बाध्य भएका हौं ।’

यता नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले ती वृद्धको स्वाब वीरगञ्जमा परीक्षण गर्दा रिपोर्ट शंकास्पद देखिएका कारण पुनः परीक्षणका लागि काठमाडौंस्थित केन्द्रीय प्रयोगशाला टेकु पठाइएको बताए ।

डा. उपाध्यायले भने, ‘हाम्रो अस्पतालको प्रयोगशालमा ती वृद्धको स्वाब परीक्षण गर्दा शंकास्पद देख्यौं । त्यसैले कन्फर्म गर्नका लागि टेकु पठाएका हौं, रिपोर्टको आउन बाँकी छ ।’ कोरोना परीक्षणको रिपोर्ट नआउँदै मृतकको शव आफन्तको जिम्मा लगाउनु नियमसंगत नरहेको डा. उपाध्यायले बताए ।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले घटनाबारे जानकारी पाएपछि थप अनुसन्धानअघि बढाएको प्रतिक्रिया दिए। उनले भने, ‘हामीले पनि सञ्चारमाध्यमबाट घटनाबारे जानकारी पाएका छौं । यसबारेमा नारायणी अस्पतालका मेसु डा. उपाध्यायसँग जानकारी लिएका छौं । अनुसन्धानको क्रममा अस्पतालले लापरवाही गरेको पायौं भने कारबाही हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment