
१२ जेठ, चितवन । चितवनको वीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले दाँतसम्बन्धी उपचार सेवा सुरु गर्ने भएको छ । अस्पतालको जेठ १० र ११ गते भरतपुरमा बसेको बोर्ड बैठकले दन्त रोग सेवाको लागि छुट्टै इकाई स्थापना गर्ने निर्णय गरेको अस्पतालका कार्यकारी निर्देशक डा. देजकुमार गौतमले जानकारी दिए ।
त्यसका लागि तीन सदस्यीय समिति गठन गरिएको छ । समितिले सेवा सञ्चालन सम्बन्धी कार्यविधि र व्यवस्थापनका बारेमा सुझाव दिनेछ । अस्पतालमा हालसम्म दात सम्बन्धी सेवा नहुँदा नाक, कान, घाँटी रोग विभागले नै हेर्दै आएको थियो ।
दाँतको समेत क्यान्सर भएका बिरामीहरु उपचारका लागि आउने तर विशिष्टिकृत सेवा नभएकोले उपचार सेवा सुरु गर्ने निर्णय भएको कार्यकारी निर्देशक डा. गौतमले बताए । यस्तै, क्यान्सर सम्बन्धी फेलोसिप तालिम सञ्चालन गर्ने निर्णय पनि भएको छ ।
चिकित्सकहरुका लागि क्यान्सरसम्बन्धी तालिम दिने उद्देश्यले फेलोसिपको कार्यक्रम ल्याइएको डा. गौतमले बताए । अस्पतालमा उपलब्ध नभएका तथा अति आवश्यक सेवाहरु सञ्चालनका लागि चिकित्सक झिकाएर उपचार गर्ने निर्णय पनि अस्पताल सञ्चालक समितिको बैठकले गरेको छ ।
‘क्यान्सर रोग भएका तर अन्य नन क्यान्सर रोग सम्बन्धी पनि अत्यावश्यक जाँच गर्नुपर्ने बिरामीका लागि दक्ष चिकित्सकहरु बोलाउने गरी व्यवस्थापन गर्ने निर्णय गरेका छौं’ कार्यकारी निर्देशक डा. गौतमले भने, ‘यसबाट बिरामी बाहिर जानुपर्ने र आकस्मिक अवस्थामा तत्काल उपचार गर्न सकिन्छ ।’
अस्पतालमा हाल मुटु, दम, सुगर, प्रेसरलगायतका अन्य समस्या भएका बिरामीहरुका लागि उपचार गर्ने चिकित्सकीय व्यवस्थापन नहुँदा समस्या हुँदै आएको छ । यसका लागि बाहिरबाट कसरी दक्ष चिकित्सकलाई जोड्ने भनेर कार्यविधि बनाउन समिति गठन गरिएको कार्यकारी निर्देशक डा. गौतमले जानकारी दिए ।
यस्तै, स्वास्थ्य अनुसन्धान परिषदसँग मिलेर क्यान्सरसम्बन्धी अनुसन्धान कार्यक्रमलाई पनि अघि बढाउने र अस्पतालमा इलेक्ट्रोनिक भुक्तानी प्रणालीलाई प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय बोर्ड बैठकबाट भएको कार्यकारी निर्देशक डा. गौतमले अनलाइनखबरलाई जानकारी दिए ।
प्रतिक्रिया 4