Comments Add Comment

सरकारसँग जम्मा १२ हजार भीटीएम मौज्दात

१२ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग पीसीआर विधिबाट कोरोना भाइरस (कोभिड–१९) परीक्षण गर्न थ्रोट स्वाब संकलन गर्ने भाडा भाइरल ट्रान्सपोर्ट मेडियम (भीटीएम) निकै कम मात्र मौज्दात रहेको पाइएको छ ।

पछिल्लो समय भारतबाट फर्किएर आउनेहरुको संख्या बढेसँगै स्थानीय तहको क्वारेन्टाइनमा चाप बढेको छ । तर उनीहरुमा कोरोना संक्रमण परीक्षण गर्न स्वाब संकलनका लागि चाहिने भीटीएम नपाएको गुनासो स्थानीय सरकारहरुले गरेका छन् ।

मन्त्रालयको व्यवस्थापन शाखाका निर्देशक भोगेन्द्रराज डोटेलकाअनुसार संक्रमितको सख्ंया १५ सय अनुमान गरेर स्वास्थ्य सामग्रीहरु जुटाएको थियो ।

त्यसअनुसार मन्त्रालयसँग जम्मा एक लाख भीटीएम जम्मा भएको थियो । त्यसमध्ये ८८ हजार विभिन्न जिल्लामा पठाइएको छ भने अब १२ हजार मौज्दात छ ।
पीसीआर किट १ लाख २८ हजार थियो । ७८ हजार विभिन्न ल्याबमा पठाइएको छ भने ५० हजार मौज्दात छ । र्‍यापिड डाइग्नोस्टिक किट (आरडीटी) १ लाख ७५ हजार जम्मा भएको थियो । त्यसमध्ये ८० हजार विभिन्न स्थानमा बाँकी छ ।

स्वाथ्यकर्मीको व्यक्तिगत सुरक्षामा चाहिने पीपीई १ लाख ४६ हजार सेट जम्मा भएको थियो । त्यसमध्ये ५४ हजार विभिन्न स्थानमा पठाइएको छ भने ९२ हजार सेट बाँकी छ ।

यस्तै १५ लाख सर्जिकल मास्क, १ लाख ८० हजार एन ९५ मास्क, २ लाख ७८ हजार पञ्जा, ५३ हजार सुज कभर, १७ हजार क्याप र ६०० आईआर थर्मामिटर मौज्दात छ ।

सरकारले किनेका तथा सहयोगमा आएका सामग्रीहरुलाई पारदर्शी रुपमा वितरण गरेको डोटेलको दाबी छ । ‘केस देखिएको र केन्द्रीय अस्पतालहरुलाई हामी यहीँबाट पनि रेस्पोन्स गर्छौं’ उनले भने, ‘अरुको हकमा प्रदेशमार्फत पठाउने गरेका छौं ।’

भीटीएम, किट खरिद गर्ने तयारी

कोरोना भाइरसबाट संक्रमित भएकाहरुको संख्या बढेसँगै ५ हजार केसलाई आधारमा मानेर सामग्री जुटाउन थालिएको व्यवस्थापन शाखाका निर्देशक डोटेलले बताए । २ लाख ५ हजार भीटीएम खरिद गर्ने प्रक्रिया सुरु भएको छ । उनले भने, ‘छिट्टै आइपुग्छ ।’

यस्तै १ लाख ७५ हजार पीसीआर किट र १ लाख २१ हजार आरडीटी किट किन्ने प्रक्रिया सुरु भएको छ । उनका अनुुसार ९२ करोड रुपैयाँ बराबरका स्वास्थ्य सामग्री सरकारले प्राप्त गरेको छ भने ६६ करोडका सामग्री खरिद आउने क्रममा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment