Comments Add Comment

फ्रेन्च लिग वान रद्दको निर्णय पुनर्विचार गर्न प्रधानमन्त्रीलाई आग्रह

१३ जेठ काठमाडौं । फ्रेन्च क्लब लियोनका अध्यक्ष जीन मिचेल औलासले फुटबल सिजन चाँडै अन्त्य गर्ने निर्णयमाथि पुनर्विचार गर्न सरकारलाई अनुरोध गरेका छन् ।

कोरोना भाइरसको महामारीका कारण २८ अप्रिलमा फ्रेन्च लिग वान र लिग टू पुन: शुरु हुन नसकिने भन्दै रद्द गरिएको थियो । फ्रान्सका प्रधानमन्त्री र खेलकुदमन्त्रीलाई पठाइएको पत्रमा लियोनका अध्यक्ष औलासले फ्रान्स फुटबलले ‘अविश्वसनीय सामाजिक र आर्थिक संटक भोग्न’  सक्ने भनेका छन् ।

सिजन रद्द घोषणा गर्दा लियोन सातौं स्थानमा थियो र युरोपियन छनोट खेल समेत गुमाएको थियो ।

यूरोपका ठूला पाँच लिगमध्ये सिजन बीचमै रद्द गर्ने फ्रेन्च लिग वान एकमात्र लिग हो । यसबाहेक जर्मन बुण्डेसलिगा पुन: सुरु भइसकेको छ । स्पेन, इटली र इंग्ल्याण्डमा पनि आगामी जुनमा लिग फेरि शुरु गर्नेबारे तयारी भइरहेको छ ।

युरोपकै नेदरल्यान्ड्स र बेल्जियमको लिग भने रद्द भइसकेको छ ।

‘बुन्डेसलिगाले १६ मे बाट खेल शुरू गरेका छन्, स्पेनले ८ जुनमा शुरु गर्दैछ । इटली, रसिया र पोर्चुगलमा पनि सामुहिक प्रशिक्षण शुरू भएका छन् र इंग्ल्याण्ड १९ जुनपछि खेल शुरू गर्ने तयारी छ’ औलासले भनेका छन्,  ‘फ्रान्सले मात्र कसरी यति चाँडै रद्द गर्न सक्छ र यहाँको व्यवसायिक फुटबललाई अवमूल्यन गर्न सक्छ ?’

फ्रान्स सरकारले २ जुनबाट देशमा लकडाउन खुकुलो पार्ने घोषणा गर्ने अनुमान गरिएको छ । ‘त्यस मितिमा धेरै घटनाक्रम र आशाको अपेक्षा गरिएको छ । ताकी फ्रान्सले विस्तारै गति लिन सक्छ’ औलासले भने ।

गत साता लियोनसहित रेलिगेसनमा परेका एमिएन्स र टोउलोउजले लिग वानको सिजन चाँडै अन्त्य गरिएको भन्दै त्यस विरुद्ध गर्दै अपील गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment