Comments Add Comment

संक्रमित आइसोलेसन पुगिसके, मन्त्रालयले दिएन जानकारी

१४ जेठ, सप्तरी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार एकै पटक ९० जना कोरोना संक्रमण देखापरेको भन्दै तथ्यांक सार्वजनिक गर्‍यो ।

मन्त्रालयका अनुसार प्रदेश २ का रौतहट, धनुषा, बारा, सिरहामा संक्रमित भेटिएका छन् । तर, प्रदेश २ कै सप्तरीमा मंगलबार पुष्टि भएका ११ जना संक्रमितबारे मन्त्रालयले हालसम्म औपचारिक जानकारी दिएको छैन ।

सप्तरीमा मंगलबार एक प्रहरीसहित ११ जनामा कोरोना पुष्टि भएको थियो । संक्रमित देखिएकामध्ये ३ जना राजविराजस्थित आइसोलेसन कक्षमा छन् ।

‘मंगलबारै सबै आउँथे, तर हाबाहुरीका कारण आउन सकेनन्,’ गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले भने, ‘बाँकी आज आउँदैछन् ।’

मंगलबार सप्तरीको बोदे बर्साइन नगरपालिकामा ८ जना पुरुष संक्रमित देखिएको स्वास्थ्य कार्यालयका प्रमुख दुनियाँलाल यादवले जानकारी दिए ।

बोदे बर्साइन वडा नम्बर ६ का २०, १८ र १९ वर्षीय पुरुष, वडानम्बर ९ का २० र २१ वर्षीय पुरुष, वडा नम्बर १ का १९ र २८ वर्षीय पुरुष तथा वडानम्बर ७ का ५६ वर्षीय पुरुष छन् ।

उनका अनुसार बलान बिहुल गाउँपालिकाका २ जनामा संक्रमण देखिएको छ । १७ वर्षीय महिलासहित एकजना पुरुषमा समेत संक्रमण पुष्टि भएको छ ।

सुरुङ्गा नगरपालिकाका एकजना पुरुष संक्रमित छन् । उनी क्वारेन्टाइनमा खटिएका प्रहरी हुन् ।

यी सबैको स्वाब संकलन गरी धरानस्थित घोपा क्याम्पको प्रयोगशालामा पठाइएको थियो । उनीहरुको रिपोर्ट मंगलबार आएको यादवले बताए ।

तर, संक्रमण पुष्टि भएर आइसोलेसनमा पुगिसके पनि मन्त्रालयले हालसम्म उनीहरुको बारेमा कुनै जानकारी दिएको छैन ।

योसँगै सप्तरीमा संक्रमितको संख्या १५ पुगेको छ । डाक्नेश्वरी नगरपालिका ३, ५ र ८ तथा बलान बिहुल गाउँपालिका ४ का एक पुरुष यसअघि नै संक्रमित भइसकेका छन् ।

संक्रमितहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसन कक्षमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment