Comments Add Comment

सुदूरपश्चिममा थपिए तीनजना कोरोना संक्रमित

६ जना संक्रमित एउटै क्वारेन्टिनमा बसेका

१५ जेठ कैलाली । सुदूरपश्चिममा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कैलाली र दार्चुलामा बिहीबार नयाँ संक्रमित पुष्टि भएको हो ।

कैलालीको जानकी गाउँपालिकाका ४ का २५ र ३० वर्षीय पुरुष र दार्चुलाको महाकाली नगरपालिका-५ का २१ वर्षीय युवकमा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालमा सूचना अधिकारी दिलीप श्रेष्ठलले जानकारी दिए ।

२५ वर्षीय युवक भारतको महाराष्ट्रबाट जेठ १ मा टीकापुरको खक्रोला नाका हुँदै लुकेर नेपाल भित्रिएका हुन् भने

अर्का संक्रमित जेठ ३ गते कैलालीको गौरिफन्टा नाका हुँदै नेपाल आएका थिए ।
टीकापुरबाट लुकेर आएका संक्रमित घर पुगे पनि परिवारको सम्पर्कमा नरहेको जानकी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जितबहादुर चौधरीले बताए ।

‘उहाँ घरको आगनसम्म पुग्नु भएको थियो । त्यो थाहा पाएर प्रहरीले क्वारिन्टिनमा ल्याएको हो,’ उनले भने, ‘अर्का संक्रमित भने जेठ ३ गते क्वारिन्टिनमै आए ।’

दार्चुलाका संक्रमित भने जेठ ८ गते दार्चुला नाका हुँदै नेपाल आएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक सुरेन्द्र जोशीले बताए । उनीसँगै ८ गते उक्त नाकाबाट ३१९ जना नेपाल आएको उनले बताए ।

योसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमतिको सङख्या २० पुगेको छ । प्रदेशमा सबैभन्दा बढी कैलालीमा १०, बैतडीमा ५, अछाममा दुई, दार्चुला, कञ्चनपुर र डडेल्धुरामा एक/एक जनामा कोरोना पुष्टि भएको छ । हालसम्म पाँच जना संक्रमित निको भएर घर फर्किएका छन् ।

एउटै क्वारेन्टिनमा ६ जना संक्रमित

जानकी गाउँपालिका १ मा रहेको सरस्वती माबिको क्वारेन्टिनमा रहेकाहरु मध्ये ६ जनामा कोरोना संक्रमणको पुष्टि भइसकेको छ । बिहीबार पुष्टि भएका दुई जनासहित कैलालीमा संक्रमतिको संख्या १० पुगेको छ ।

सरस्वती माबिको क्वारेन्टिनमा बसेका मध्ये जेठ ९ गते ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । १३ गते एकजना र बिहीबार २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए ।

उक्त क्वारेन्टिनमा अहिले ३९ जना रहेका छन् । उनीहरु मध्ये २३ जनाको स्वास्थ्य परीक्षण हुन सकेको छैन ।

१६ जनाको स्वास्थ्य परीक्षण गर्दा ६ जनामा संक्रमण देखिएको र १० जनाको नेगेटिभ रिर्पाेट आएको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए । ती १० जनाको पनि पुन: पीसीआर गरिने उनी बताउँछन् ।

‘उहाँहरुको ६ गते पीसीआर गर्दा नेगेटिभ आएको हो । त्यसयता पनि संक्रमण फैलन सक्ने भन्दै उहाँहरुलाई पुन परीक्षण गर्ने तयारीमा छौँ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment