Comments Add Comment

बजेटमा बाबुरामको प्रतिक्रिया : स्वास्थ्य र कृषिमा बजेट पुगेन

‘रेल र पानीजहाजको कुरा नगरे हुँदैनथ्यो ?’

१५ जेठ, काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेटले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न कठिन हुने बताएका छन् ।

उनले स्वास्थ्य क्षेत्रमा गत वर्षभन्दा २२ अर्ब रुपैयाँमात्र बढी विनियोजन गरेर कोरोना महामारीको समस्या समाधान गर्न नसक्ने बताए ।

संघीय संसद भवनमा अर्थमन्त्रीले बजेट प्रस्तुत गरेपछि पत्रकारसँग प्रतिक्रिया दिँदै डा. भट्टराईले भने ‘२२ अर्ब रुपैयाँबाट यति ठूलो संकटको उपचार गर्छु भन्ने असम्भव कुरा हो । फोकस पुगेन ।’ सरकारले चालु आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रमा ६८ अर्ब रुपैयाँ विनियोजन गरेको थियो भने आगामी आर्थिक वर्षमा ९० अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

त्यस्तै स्वदेशमा र विदेशमा रोजगारी गुमाएकालाई कृषि क्षेत्रमा रोजगारी दिने भनिए पनि जम्मा ७ अर्ब रुपैयाँ मात्र बजेट थप गरिनु पर्याप्त नहुने भट्टराईले बताए । ‘७ अर्ब रुपैयाँ मात्र लगानी गरेर, १० औं, १५ औं लाख रोजगारी दिन सक्नुहुन्छ ?’ उनले प्रश्न गरे ।

सरकारले अप्ठेरो समयमा पनि विगतकै निरन्तरतामा बजेट ल्याएको भट्टराईको टिप्पणी छ । ‘बजेट निरन्तरतामा आयो यसले समस्या समाधान गर्दैन, राहत, सामाजिक सुरक्षा कनिका छरेजस्तै आयो’ उनले भने ।

अहिलेको संकटमा रेल र पानीजहाजको कुरा गर्न आवश्यक नरहेको पनि भट्टराईले बताए । ‘अहिले रेलको कुरा किन चाहियो, यो वर्ष नगरे हुँदैन ?’ उनले प्रश्न गरे ‘पानीजहाजको कुरा फेरि आएको छ । यसले अहिलेको संकट समाधान गर्दैन ।’

भट्टराईले आगामी आर्थिक वर्षको बजेटलाई क्यान्सरको रोगीलाई सामान्य झारफुक गरेजस्तो भएको टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment