Comments Add Comment

नेपाललाई भारतको प्रस्ताव : सीमा विवादमा रचनात्मक समाधान खोजौं

१५, जेठ । काठमाडौं । भारतले नेपालसँगको सीमा विवादलाई रचनात्मक र सकारात्मक प्रयासद्वारा समाधान गर्न प्रस्ताव गरेको छ। बिहीबार भारतीय विदेश मामला मन्त्रालयको नियमित भर्चुअल पत्रकार सम्मेलनको क्रममा मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले यस्तो प्रस्ताव गरेका हुन् ।

छिमेकीहरूसँग पारिस्परिक संवेदनशीलता र विश्वासको वातावरण आवश्यक रहेको भन्दै श्रीवास्तवले सीमाको समस्या रचनात्मक प्रयासद्वारा समाधान गर्न प्रस्ताव गरेको हिन्दुस्तान टाइम्सले जनाएको छ।

बिहीबारको बैठकमा श्रीवास्तवले पछिल्लो समय लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रको विषयलाई लिएर नेपाल गम्भीर रूपमा प्रस्तुत भएको भन्दै त्यसलाई भारतले नजिकबाट नियालिरहेको प्रतिक्रिया समेत दिएका छन्।

पछिल्लो समय लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समेत समेटेर नेपालले आफ्नो नक्सा जारी गरेपछि सो नक्सालाई एकतर्फी सार्वजनिक गरेको भन्दै स्वीकार नगर्ने प्रतिक्रिया दिएको भारतले अहिले रचनात्मक ढंगले सीमा विवादलाई समाधान गर्न प्रस्ताव गरेको हो ।

नेपाल सरकारले नयाँ नक्सा समेटेको निशाना छाप बनाउनको लागि संविधान संशोधन गर्ने निर्णय गरिसकेको छ । यद्यपि भारतले भने सो क्षेत्र भारतीय भूमि दाबी गर्दै आएको छ । पर्याप्त प्रमाण बोकेर आफ्नो दाबी गरिरहेको नेपालले भने आफ्नो एक इन्च भूमि पनि नछाड्ने अडान दोहोर्‍याउँदै आएको छ।

‘भारत आफ्ना सबै छिमेकीहरूसँग पारस्परिक संवेदनशीलता र पारस्परिक सम्मानका आधारमा भरोसा र विश्वासको वातावरण कायम गर्न चाहन्छ । यो एक निरन्तर प्रक्रिया हो र यसका लागि रचनात्मक र सकारात्मक प्रयासको आवश्यक पर्छ’ श्रीवास्तवलाई उद्धृत गर्दै हिन्दूस्तान टाइम्सले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment