News Summary
Generated by OK AI. Editorially reviewed.- रसुवाका पूर्व सीमा प्रशासन अधिकृतले २०४२ सालको टिमुरे, रसुवागढी र ल्हेन्दे खोलाको दुर्गम अवस्थाको स्मरण गरेका छन्।
- उनले परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग वार्ता गरी रसुवागढीमा नयाँ झोलुङ्गे पुल बनाउने सम्झौता भएको खुलाए।
- उनका अनुसार २०८३ भदौ १० को बाढीले रसुवागढी क्षेत्र, मितेरी पुल र भन्सारसहित धेरै संरचना बगाएर ठूलो क्षति पुर्याएको छ।
२०४२ सालमा गृह मन्त्रालयबाट रसुवाको सीमा प्रशासन अधिकृतमा सरुवा भएर त्यहाँ पुगेको थिएँ। सीमा प्रशासन कार्यालयको मुकाम टिमुरेमा थियो। टिमुरे पुग्न त्रिशूलीदेखि नै घटीमा ४ दिन पैदल हिँड्नुपर्दथ्यो।
टिमुरे पुगेपछि ‘कालापानी पुगेजस्तो’ हुन्थ्यो। दुई डाँडाको बीचको तल खोँचमा रहेकाले जाडोमा बिहान १० बजेतिर मात्रै घाम लाग्दथ्यो। बेत्रावतीदेखि गणेश हिमालको सोमदाङसम्म सिसा-जस्ता खानीका लागि ११० किमी सडक सेनाले निर्माण गरिराखेको थियो।
सोही सडकका ठेकेदारको निर्माण सामग्री बोक्ने ट्रकको ढालामा बसेर बेत्रावतीमाथिको डाँडा कालिकाथानसम्म, केही पछि राम्चे ग्रागानको भिरसम्म र पछि धुन्चेसम्म यात्रा गर्न पाइन्थ्यो। म रसुवा बस्दा धुन्चेभन्दा उता गाडी चलेको थिएन।
धुन्चेबाट भने पैदल नै जानुपर्दथ्यो। धुन्चेपारि ब्राबलको भिर, भार्खु र अन्यत्र ठाउँठाउँमा पहरा फुटाउन विस्फोटक पदार्थ पड्काउने कारणले पैदल हिँड्दा बाटो बन्द गरिनाले कहिलेकाहीँ घण्टौं कुर्नुपर्दथ्यो।
स्याफ्रुबेँसीमा २–३ वटा भात खान पाइने पसल थिए, भार्खुमा अर्डर गरेर पकाउन लगाउनुपर्दथ्यो। नत्र बाटामा खाने सुविधा थिएन।
धुन्चेबाट जाँदा स्याफ्रुबेँसीबाट दायाँ पूर्वतिर लाङटाङ जाने पदयात्रा मार्ग छुट्टिन्थ्यो। विदेशी पदयात्री नगण्य हुन्थे। नेपाली पदयात्री त हुँदैनथे। स्याफ्रुबेँसीको पश्चिमतर्फ भएर सोमदाङ जाने सडक निर्माणाधीन थियो। अगाडि उत्तरतर्फ भने टिमुरे भई रसुवागढी जाने पदयात्रा मार्ग थियो।
त्यहाँबाट करिब ३ घण्टामा कार्यस्थल टिमुरे पुगिन्थ्यो। पदमार्गमा एक ठाउँमा हुलाक सट्टापट्टा गर्ने र चिया खाने ठाउँ थियो। त्यतिबेला हुलाकको व्यवस्था भने भरपर्दो थियो। हुलाकीले प्रत्येक ३ घण्टामा आफ्नो हुलाकी सामान निर्दिष्ट तोकिएको स्थलमा पुर्याउनै पर्दथ्यो।
टिमुरे जाने हुलाकी धुन्चेतिरबाट आएको हुलाक पर्खेर बसेको हुन्थ्यो। हुलाकी लट्ठीमा घण्टी बजाउँदै हिँडेपछि बाटो छाडिदिनुपर्दथ्यो— हुलाक समयमा पुर्याउनका लागि। यस प्रकार हुलाक सेवाजस्तो भरपर्दो र विश्वासिलो अरू कुनै सरकारी कार्यालय त्यतिबेला थिएन।
स्याफ्रुबेँसीबाट टिमुरे जाँदा एक ठाउँमा खतरनाक पहिरो पर्दथ्यो। वर्षामा पहिरोमा जुत्ता मात्र अट्ने चिप्लो बाटो र भिरबाट लडेमा त्रिशूलीमा परिने भएकाले माथि बृद्धिमको डाँडा भएर ३ घण्टा लामो बाटो घुमेर जानुपर्दथ्यो। हिउँदमा भने ज्यान हातमा लिएर पहिरोबाट नै हिँडेको छु।
पैदल मार्गमा वर्षामा ढुङ्गा लडेर लाग्ला भन्ने डर हुन्थ्यो। हिउँदमा पनि वर्षामा घाँसमा अल्झेका ठूलठूला ढुङ्गा बाँदर हिँड्दा वा डढेलो लाग्दा गुडेर तल खस्थे, ‘लाग्ला कि’ भन्ने डर हुन्थ्यो।
ढुङ्गा लडेर पैदल सडकमा ठूलठूला खाल्डा परेका हुन्थे। कतै ठूला ढुङ्गाले बाटो नै छेकेका हुन्थे। तातोपानी कुण्डभन्दा केही माथि टिमुरे गाउँ थियो।
यो लेखक २०४२ सालमा बस्दा ढुङ्गाको गारो र काठकै छाना भएका घर थिए। टिनका छाना भएका र नयाँ घर थिएनन्। सीमा प्रशासनको सदरमुकाम रहेको टिमुरेमा बढीमा ४०–५० घर थिए।
त्यहीँ एक स्थानीयको घरमा तल अफिस, माथि आवास थियो। सबै घरमा चर्पी हुँदैनथ्यो। धेरैजसोले छिँडी तलामै दिसापिसाब गर्थे। भान्साका लागि छुट्टै सानो टहराको लाफो जोडेका हुन्थे। ढुङ्गा छापेको सडकको डिलमै बच्चाहरूले र अभिभावकहरूलेसमेत रातमा दिसा गर्थे।
सम्झाउँदा–बुझाउँदा जग्गा हुनेहरूले पछि खाल्डे चर्पी बनाउन थाले। त्यहीँ वरपरका खाल्डे चर्पीमा काम चलाउनुपर्दथ्यो। सीमा प्रशासनको हाकिमलाई स्थानीय तामाङ भाषामा ‘पम्पु’ अर्थात् हाकिम भन्दथे।
अभिलेखमा नरहेको १९ सालको बाढी
स्थानीयहरू साह्रै सिधासादा थिए। एक बुढा जिमिदार थिए, साह्रै रमाइला। सीमाको ‘पम्पु’ भएकाले जाँड र रक्सी खान बोलाउँथे, म खाँदिनथेँ। रक्सी नखाने भनेपछि ‘अर्कै ग्रहबाट आएको जन्तु’ जस्तो ठान्दथे। उनीहरूको पर्व ल्होसार र अन्य कार्य, घेवा आदिमा पनि सातु र रक्सीले मानमनितो गर्दथे।
म बिहान प्रायः रसुवागढी जाने बाटोतर्फ परसम्म पदयात्राका साथै नित्यकर्म गर्न जान्थेँ। टिमुरे गाउँको अन्तिम ५–७ मिनेट उत्तरतर्फ केही तल राष्ट्रिय निकुञ्ज हेर्ने सैनिक टोली थियो।
गाउँमा २–३ वटा पसल थिए। त्यसैमा नुन, मट्टीतेल, चामल, चुरोट, साबुन, बिस्कुट आदि पाइन्थ्यो। गाउँ पञ्चायत कार्यालय, प्राथमिक विद्यालय, हुलाक, स्वास्थ्य कार्यालय थियो।
घरेलु जाँड रक्सी नै बिहानदेखि चल्दथ्यो। दूध पाइँदैनथ्यो, तर रक्सी जति भने पनि पाइन्थ्यो। मेरै अफिसका एक जना खरिदार बिहानैदेखि पिउनैपर्ने लतका थिए। मेरै कार्यकालमा डेरा कोठामा झुन्डिएर मरेको भेटिएकाले पोस्टमार्टम गराउन बोकाएर नुवाकोटको त्रिशूली अस्पताल लैजानुपरेको थियो।
नेपालबाट तिब्बत र चीन जाने छोटो बाटो यही रसुवागढी थियो। लिच्छविकालदेखि नै यो व्यापारिक मार्ग थियो। चिनियाँ यात्रीहरू हुयन साङलगायत यही बाटो भएर त्यतिबेलाको नेपाल (अर्थात् काठमाडौं) र भारत यात्रा गर्दथे।
भृकुटी यही मार्ग भएर घर–माइती गर्थिन्। यही गढी भएर नै नेपालले बहादुर शाह र जङ्गबहादुरको पालामा तिब्बतको केरुङ, दिगर्चा आदि क्षेत्र विजय गरेको थियो। तिब्बती र चिनियाँहरू नेपालसँग युद्ध गर्न यही बाटो बेत्रावतीसम्म आएका थिए।
अहिले २०८३ सालमा बाढी आउनुअगाडि पनि चीनसँगको व्यापारको मुख्य सतहमार्ग यही नै रहँदै आएको थियो। तर बाढीले नेपालको चीनसँगको व्यापारको यो ऐतिहासिक र परम्परागत सतहमार्गलाई धराशायी बनाइदिएको छ।
२०१९ सालमा अहिले बाढी आएकै ल्हेन्दे खोलामा बाढी आएको रहेछ। त्यतिबेला मेरो पिताजीले देख्नु र भोग्नुभएको रहेछ। २०१९ सालको बाढीको सम्बन्धमा नेपाली सेनासँग कुनै अभिलेख हुनुपर्ने हो।
सो कुरा पुष्टि हुन्छ कि भनेर मैले सेनाको इतिहाससम्बन्धी जानकारी राख्ने डा. प्रेमसिंह बस्न्यातलाई गत साल अनुरोध गरेको थिएँ। तर ‘अभिलेख पाइएन’ भनी उहाँले मलाई भन्नुभएको थियो।
२०१९ साल अर्थात् इस्वी सन् १९६२ अगस्टको बाढीले केही क्षति पुर्यायो। तल्लो किनारका केही बसोबास बगायो, केही मानवीय क्षति पुर्याएको थियो। ल्हेन्दे खोलाबाट नै बाढी आएको थियो। त्यतिबेला बचेका स्थानीयहरू र विज्ञहरूले ‘९ अगस्ट १९६२ (भदौ २०१९ साल) को डरलाग्दो बाढी’ सम्बन्धमा उल्लेख गरेको/लेखेको पाइन्छ।
‘रसुवागढी र त्रिशूलीमा २०१९ सालमा आएको बाढी अहिलेको हेरेर केही पनि थिएन’ भन्ने नुवाकोट दर्शनटारका ८६ वर्षीय भुवनप्रसाद घिमिरेको भनाइ बाहिर आयो (अनलाइनखबर, पत्रकार दिनेश गौतम, २०८३ भदौ १७)। त्यसबाट २०१९ सालमा रसुवागढीमा बाढी आएको मेरो बुबाको भनाइ पुष्टि हुन आयो।
२०४२ सालको अवस्था
टिमुरेबाट रसुवागढी ३ किमी टाढा पर्दछ। सडक बन्नुअगाडि हिँडेर जानुपर्दा बाटो असजिलो थियो। घट्टेखोला नामको सानो गाउँ भएर जानुपर्दछ। भन्सार अफिस गढीको तल कसैको घरमा थियो। भन्सार हाकिम मुखिया दर्जाका हुन्थे।
व्यापार नगण्य भएकाले राजस्व उठ्दैनथ्यो। नेपाल–चीन सीमाको ३० किमीभित्र बसोबास गर्ने स्थानीयलाई आवतजावत गर्न र साटफेर व्यापार गर्न छुट थियो। अन्य व्यापार केही हुँदैनथ्यो।
नुवाकोट धैबुङका बाहुनहरूले ‘स्थानीय हुँ’ भनेर केरुङ पुगेरै दसैंमा च्याङ्ग्रा र भेडा किनेर नेपाल ल्याउँथे। केही स्थानीय र केरुङ (तिब्बत) का व्यापारीहरू मिलेर भेडाच्याङ्ग्रा काठमाडौंसम्म पुर्याउँथे।
रसुवागढीको पारि चीनतिर भवनहरू केही थिएनन्। चिनियाँ सेना र प्रहरीको अफिस पनि थिएन। पानी पर्दा ओत लाग्ने खरका एक–दुई टहरा थिए। कहिलेकाहीँ चिनियाँ पुलिस वा सेनाहरू ३५ किमी टाढा केरुङबाट नेपाली सीमापारि गस्तीमा आएको देखिन्थ्यो।
चिनियाँ भन्सार र अन्य कार्यालयहरू केरुङमै थिए। चिनियाँ सिमानाको १ किमी परसम्म केरुङ जाने बाटोतर्फ म गएको थिएँ। मान्छे हिँड्ने सामान्य बाटो थियो।
केरुङबाट आउने खोलाको पूर्वीतर्फ किनारैकिनार भएर पहाडी उकालो बाटो थियो। ‘एक दिनमा सजिलै केरुङ बजार पुगिन्छ’ भन्थे। सरकारी अधिकृत भएकाले म केरुङ गइनँ।
चिनियाँ सिमानाको केरुङ जाने बाटोमा ठूला ढुङ्गामा हरियो इनामेलले नेपाली भाषामा ‘वनमा आगो नलगाउनुहोला, आगो लगाएमा कडा सजाय हुनेछ’ भनेर ठाउँ–ठाउँमा लेखेको देखेको थिएँ। केरुङ जाने भरिया र व्यापारी नेपाली नै हुने हुनाले यस्तो लेखिएको थियो।
रसुवागढीको केही पूर्वतर्फको सीमास्तम्भ हेर्न गएको थिएँ। हिमाली पहाडी क्षेत्र भएकाले सीमास्तम्भ केही परिवर्तन भएको थिएन। वर्षामा पहिरोले भने भत्किने सम्भावना हुन्थ्यो। रसुवागढीको पश्चिमतर्फ खर्कमा तिब्बतबाट पनि चरन ल्याइने र नेपालबाट पनि तिब्बततर्फ लगिने परम्परागत चलन चलेको थियो।
पूर्वतर्फ लेन्दे खोलाको सिरानतिर पनि नेपाली खर्कमा चरन ल्याइने चलन रहेछ। स्थानीयहरूले समझदारीमा काम चलाउने गर्थे। सरकारी तवरबाट केही गर्नुपर्ने अवस्था आएन। टिमुरेबाट पश्चिम भोटेकोसीपारि चितुवाले घोरल लखेटेको देखिन्थ्यो। तर भिरमा चितुवा जान सक्दैनथ्यो।
पुल बनाउने सम्झौता
रसुवागढीबाट चीनको स्वशासित क्षेत्र केरुङ जान सीमामा पुरानो भइसकेको झोलुङ्गे पुल थियो। हिमाली भेगमा सालको रूख नपाइने हुनाले अग्राखको होइन, स्थानीय सल्लाको फल्याकबाट पुलको भुइँ छापिएको थियो।
सालको काठ त्रिशूली आसपासबाट ८–१० दिन बोकेर ढुवानी गराउन सम्भव थिएन। लठ्ठाहरू र बनावट बलियै देखिए तापनि पुरानो भइसकेको थियो। पुलको भुइँ सतह, टेक्ने ठाउँका काठ मक्किसकेका थिए।
घोडा, गाई र याकका खुट्टा खस्छन् भनेर कहीँ–कहीँ प्वालमाथि काठका फल्याक ओछ्याएर ढुङ्गाले थिचिएको थियो। पुल धराप हुन लागेको थियो। म हाजिर भएपछि पुल पुरानो भएकाले मर्मत गर्न गृह मन्त्रालयमा जाहेरी पठाएको थिएँ।
मैले जाहेरी दिएकोमा परराष्ट्र मन्त्रालयबाट चीन सरकारसँग लेखापढी र वार्तालाप भएछ। पहिलेभन्दा राम्रो पुल निर्माण गर्ने चीन सरकारको प्रस्तावमा नेपाल सरकारबाट सहमति भएछ। त्यसपछि चीन सरकारले पुल निर्माण गर्न सम्झौता गर्न केरुङको खासा नाकामा नेपाल सरकारलाई बोलाइएछ।
नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्रालयका उपसचिव चिनियाँ भाषाविद् वासुदेव तुफानको नेतृत्वमा एउटा टोली जानुपर्ने भएछ। सो टोलीमा गृह मन्त्रालयका उपसचिव पुरुषोत्तम भट्टराई र रसुवा सीमा प्रशासन कार्यालयमा प्रमुख रहेको मसहित ३ जनाको टोली खटिएर खासा पुग्यौं।
खासालाई चिनियाँहरूले ‘झाङमो’ भन्दा रहेछन्। चिनियाँहरूसँग पटकपटक वार्तालाप र छलफल गरियो। तिब्बतीका सम्बन्धित पदाधिकारीको पनि उपस्थिति थियो। नयाँ झोलुङ्गे पुल ठूलै बनाउने प्रस्ताव र डिजाइनमा छलफल भयो, तर गाडी चल्ने खालको होइन।
छलफलको बेहोरा परराष्ट्र मन्त्रालयमा जाहेर गरियो। परराष्ट्र मन्त्रालयबाट चीनसँग सम्झौता गर्न अनुमति भयो। त्यतिबेला परराष्ट्र मन्त्रालयको सहमतिअनुसार ‘चीन सरकारले रसुवागढीको पुल निर्माण गरिदिने’ गरी हामीले सम्झौता गरेका थियौं।
त्यहाँ हामी दुई रात बसेका थियौं। चिनियाँ अधिकारीहरूको अनुमतिबाट खासा बजार हेरियो। नेपाली व्यापारीहरूसँग उनीहरूका समस्याबारे कुरा गरियो। त्यतिबेला स्थानीय तिब्बती व्यापारीसँग मिलेर नै नेपालीले व्यापार गरिरहेका थिए।
नेपालीलाई खासाभन्दा भित्र जान दिइँदैनथ्यो। खासा नाकाबाट ठूलो परिमाणमा आयात–निर्यात व्यापार सुरु भइसकेको थिएन। चिनियाँ सामान ल्हासा वा नजिकको चिनियाँ बजारबाट चिनियाँ र तिब्बती व्यापारीले खासामा ल्याउँथे।
त्यहाँबाट नेपाली व्यापारीले खरिद गरेर नेपाल भित्र्याउने गर्थे। खासा नाकामा सुरक्षा र भन्सार भने चिनियाँहरूले हेर्ने गरेको बुझियो। हामी जाँदा मितेरी साँघुमा बाढी आएर बगाएको थिएन।
खासा बन्द भएपछि रसुवागढी
२०४२ फागुन २३ (सन् १९८६ मार्च ५) मा खासा गएर २ रात बसेर २५ फागुनमा हाम्रो टोली फर्केको पासपोर्टबाट देखिन्छ। त्यतिबेला मोबाइल चलेकै थिएन। सम्झौता र अन्य कागजात गृह र परराष्ट्र मन्त्रालयमा बुझाइयो, हामीसँग केही रहेन।
टिमुरेमा म बसुन्जेल पुलको काम सुरु भएको थिएन। सीमा प्रशासनको काम त सीमा घुम्ने, हेर्ने आदि हो। तर उच्च हिमाली भेगमा भने जान सकिँदैनथ्यो। रसुवागढी र केही पूर्वसम्म गइन्थ्यो।
टिमुरेमा रेडियो नेपाल सधैं टिप्दैनथ्यो। चाख हुनेले पढ्ने र विदेशी रेडियो सुनेरै दिन बित्दथ्यो। कार्यालयमा काम थिएन।
रसुवा टिमुरेको बसाइमा न्याय सेवाको आन्तरिक बढुवा जाँच दिने तयारी गर्न मौका मिल्यो। २०४३ सालमा न्याय सेवाको सहायक सचिवमा आन्तरिक प्रतियोगिताबाट बढुवा हुन पाएँ। सरकारी वकिल हुँदै पछि न्यायाधीशमा नियुक्ति भएको थियो।

माथिको तस्बिर रसुवागढीको सिमानामा २०७१ सालमा गाडी चल्ने पुल तयार हुनुअगाडि २०७० जेठ २५ मा लिइएको हो। पुलको पिलर उठाइसकिएको देखिन्छ। यो तस्बिरमा बायाँपट्टि भागमा पुरानो पुल देखिन्छ।
जहाँसम्म लाग्छ, २०४२ सालमा सम्झौतापछि बनेको पुल त्यही हुनुपर्दछ। गढीको अगाडि माथि देखिएको भागको चिनियाँ भवनभन्दा यतापट्टि पुरानो झोलुङ्गे पुल पनि रहेको छ। गढीको पश्चिमी भाग भत्किएको देखिन्छ। म २०४२ सालमा जाँदा गढीको पश्चिमी भाग साबुत थियो।
रसुवागढीमा गढी निर्माण गरेको १९१२ सालको केही टुटेफुटेको शिलालेख थियो। रसुवागढीमा दुईवटा गढी रहेका थिए। पूर्वतर्फको मल्लकालीन गढीको सिङ्गो अंश पाइन्न। अहिलेको बाढीअघि पनि माथि र तल गरी सँगै दुई किल्ला रहेका थिए। जुन कुरा ६ वर्षअगाडिको डा. प्रेमसिंह बस्न्यातको भिडियोमा पनि पाइन्छ।
तस्बिरको किल्ला करिब ६० मिटरको घेरामा बनेको थियो। करिब ६ फिट अग्लो पर्खालको बीच भागमा ६८ × ४५ सेन्टिमिटर आकारमा तोप र गोली हान्ने ४७ वटा प्वाल वा खोपा रहेका थिए।
किल्लाको उत्तरतर्फको भागमा प्रहरी चौकी रहेको थियो। पूर्व र पश्चिम गरेर दुई खण्डमा किल्ला रहेका थिए। पूर्वतर्फ रहेको किल्ला ३६ × ९ मिटरको रहेको थियो। किल्लाको पूर्वी भागमा ढुङ्गाकै गणेश मन्दिर र पश्चिम भागमा भगवतीको मन्दिर रहेका थिए।
१९१२ सालको शिलालेखसँगैको मूर्तिलाई भीमसेनको भनेको पाइन्छ। त्यो मूर्ति नरसिंहको रहेछ। १९१२ को शिलालेख नयाँ गोरख नरसिंहनाथले खडा गरेका हुनाले नरसिंहको मूर्ति शिलालेखसँगै राखिएको पाइन्छ।
सो मूर्तिमा नरसिंहको दाहिने हात भीमसेनको जसरी उठाइएकाले ‘भीमसेनको मूर्ति’ भनिएको हो। अलि गहिरिएर हेरेमा हिरण्यकशिपुको पेट फोरेको प्रस्टै देखिन्छ।
यो शिलालेखसँगै २०१८ सालमा नेपाल–चीन सीमा सम्झौतापछिको अर्को शिलालेख पनि थियो। सो शिलालेख डा. प्रेमसिंह बस्न्यातको किल्लासम्बन्धी अङ्ग्रेजी कृतिमा पाइन्छ।

ल्हेन्दे खोलामाथिको पुल
रसुवागढीको उत्तरको ल्हेन्दे खोलालाई तिब्बती भाषामा ‘दोङलिङ साङ्पो’ भनिन्छ। साङ्पो भनेको खोला वा नदी हो। २०४३ सालतिर बनेको त्यो खोलामाथिको पुलको सट्टामा गाडी चल्ने पुल तयार भएर २०७१ साल मङ्सिर १ देखि सञ्चालनमा आएको थियो। पहिलोको झोलुङ्गे पुलभन्दा नयाँ बनेको पुल फराकिलो देखिन्थ्यो।
२०७२ सालमा भूकम्पले खासामा धेरै क्षति पुर्यायो। बाढीले कोदारीको मितेरी साँघु नै बगायो। नेपालको तातोपानीसम्मको सडकमा धेरै क्षति पुर्याएको थियो।
२०७२ सालको भूकम्पले खासामा धेरै नोक्सान पारेकाले त्यो कोदारीको खासा व्यापारिक मार्ग नै बन्द गरियो। रसुवागढीबाट केरुङको बाटोलाई नै व्यापारका लागि चीनले प्राथमिकता दियो। नेपाल–चीन व्यापारको ‘लाइफ लाइन’ भनियो।
२०७४ मा यो सडकको स्तरोन्नति गरियो। पछि एसियाली राजमार्ग घोषणा गरियो। काठमाडौं–रसुवागढी ११० किमी र केरुङ–सिगात्से (अर्को ठूलो व्यापारिक केन्द्र) ५४० किमी टाढा पर्दछ।
२०८२ असार २४ गतेको बाढीभन्दा अगाडि २०७१ सालमा माथिको नयाँ पुल तयार भएर केरुङसम्म कन्टेनर अर्थात् ठूला गाडीबाट व्यापार चल्ने गरेको थियो।
२०८२ असार २४ को बाढीले रसुवागढीको हेभी गाडी चल्ने पुल नै बगायो। नेपालतर्फका भन्सार क्षेत्रमा राखिएका सयौं गाडी बगायो।
२०८२ पुसमै चीन सरकारले बेलीब्रिज तयार गरेपछि केरुङ भई चल्ने व्यापारमा पुनः वृद्धि हुन थालेको मात्र के थियो, यसपालि २०८३ साल भदौ १० गतेको ल्हेन्दे खोलाको बाढीले मितेरी पुल मात्र होइन, रसुवागढी र चीनतर्फको भन्सार, अध्यागमन, भण्डार गृहलगायत सबै संरचना बगाएर बगर बनाइदिएको छ।
२०७५ कात्तिक ५ मा रसुवागढी पुनर्निर्माण गरी सङ्क्षिप्त परिचयात्मक इतिहाससहित सेनाको मध्यपृतनाबाट स्तम्भ खडा गरी २८.५ फिट अग्लो राष्ट्रिय झन्डा राखियो। त्यो झन्डा पनि यसपालिको बाढीले बगाएपछि नेपाली सेनाले फेरि झन्डा गाडेको छ।
२०४२ सालमा रसुवा जिल्ला नै दुर्गम मानिएको थियो। धुन्चे सदरमुकाम नै त्रिशूलीदेखि पैदल हिँड्नुपर्ने बागमती अञ्चलको अति दुर्गम जिल्ला मानिन्थ्यो। चीनसँगको परम्परागत व्यापारिक नाका भए तापनि रसुवागढी अति दुर्गम मानिन्थ्यो।
सीमा प्रशासनको केन्द्र टिमुरेमा बस्नु पनि ‘खुला जेल कालापानीमा बसेको’ जस्तो हुन्थ्यो। पैदल हिँड्नु र मान्छेले बोकेर नै दैनिक उपभोग्य सामान पुर्याउनुपर्दथ्यो।
अब कहिले त्यस्तै बन्ला ?
त्यस्तो ठाउँ गत ३० वर्षमा व्यापार र पर्यटनमा निकै स्तरोन्नति भइसकेको थियो। नेपालको चीनसँगको मुख्य सतहमार्गका रूपमा विकास भएको थियो। २०८२ असार २४ को ल्हेन्दे खोलाको बाढीले मितेरी पुल र नेपालको भन्सार क्षेत्रका धेरै गाडी बगाएपछि केही अप्ठेरो परे तापनि २०८२ पुसमै बेलीब्रिज तयार भएपछि पुनः व्यापार र कैलाश मानसरोवर यात्रा सुचारु भइसकेको थियो।
तर दुर्भाग्य भनौं, यसपालि २०८३ भदौ १० को बाढीले नेपाल–चीन सीमा क्षेत्र रसुवागढीको नामनिसाना छैन। रसुवागढीदेखि घट्टेखोला, टिमुरे, ड्राइपोर्ट, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशूली, देवीघाटदेखि पृथ्वी राजमार्गका धादिङ जाने पुललगायत धेरै संरचना ध्वस्त नै पारेको छ।
७ खर्बभन्दा बढी सम्पत्ति क्षति भएको छ। ८ हजार घर क्षति भएका छन्। १५ सय लगभग लास बरामद भएका छन्। हजारौं बेपत्ता छन्। भोटेकोसीको सतहदेखि २–३ सय फिट माथिसम्म खोलाका दुवै भाग बगर भएका छन्।
सडकको रेखाङ्कन पनि बाँकी रहेन। १४ जलविद्युत् आयोजनाका ७५९ मेगावाट विद्युत् क्षमतामा बाढीले असर पारेको छ। खोला आसपास र किनारका सबै बस्ती पुरिए वा बाढीले ध्वस्त पारिदिएको छ। अब पुनः साविक अवस्थामा पुग्न हामीले धेरै मिहिनेत गर्नुपर्नेछ।
(कार्की विशेष अदालतका पूर्वअध्यक्ष हुन्।)
प्रतिक्रिया 4