Comments Add Comment

कोरोना महामारी नियन्त्रण गर्दै उत्पादन बढाउने बजेटको लक्ष्य : महासचिव पौडेल

फाइल तस्वीर

१८ जेठ, काठमाडौं । सत्तारुढ नेकपाका महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले सरकार कोरोना नियन्त्रण गर्दै आर्थिक क्रियाकलाप तथा उत्पादनमा केन्द्रित हुने बताएका छन् । उनले बजेटले यही सिद्धान्तलाई प्राथमिकता दिएको दावी गरेका छन् ।

प्रतिनिधिसभामा बजेटमाथि छलफलमा भाग लिदै महासचिव पौडेलले कोभिड १९ महामारी नियन्त्रण मुख्य अभिभारा भए पनि महामारी सकिएको भोलिपल्ट केही पनि गर्न नसक्ने अवस्थामा देश पुग्न हुने बताए । त्यसैले अबको कार्यभार महामारीमा केन्द्रित हुँदै आर्थिक गतिविधि र उत्पादनलाई निरन्तरता दिनु रहेको बताए ।

पूर्व अर्थमन्त्री पौडेलले भने ‘मान्छे बरु कोरोनाले मर्न तयार छ तर भोकै मर्न कोही तयार हुन्न । कोरोनाले उत्पन्न समस्यालाई बजेटले प्राथमिकता दिएको छ । आर्थिक गतिविधि र उत्पादन बृद्धिमा निरन्तरा दिएनौं भने कोरोना सकिएको भोलिपल्ट केही गर्न नसक्ने अवस्थामा पुग्छौं । बजेट त्यसमा केन्द्रित छ ।’

कोरोनालाई परास्त गर्दै आर्थिक गतिविधि अघि बढाउने लक्ष्य बजेटले निर्धारण गरेको भन्दै पौडेलले लकडाउनका कारण धाराशायी भएका उद्योगधन्दा तथा व्यवसायहरुलाई ५ प्रतिशत सहुलियत कर्जा तथा १ खर्बको पुनर्कर्जाले राहत दिएको बताए । उनले १२ लाख प्रत्यक्ष तथा परोक्ष रोजगारी सिर्जना गर्ने लक्ष्य महत्वपूर्ण भएको बताए ।

बजेट यथार्थको जगमा उभिएर आएको भन्दै महासचिव पौडेलले बजेटको मुख्य स्रोत आन्तरिक राजश्व नै रहेको दावी गरे । उनले स्रोत व्यवस्थापनको दृष्टिले बजेट यथार्थपरक रहेको भन्दै सरकार लोकल्याणकारी राज्यको अवधारणबाट पछि नहटेको समेत दावी गरे ।

नेता पौडेलले ४० प्रतिशत नेपालीलाई आगामी आर्थिक वर्षभित्र स्वास्थ्य विमाको दायरामा ल्याइसक्ने लक्ष्य महत्वपूर्ण रहेको भन्दै शिक्षा,स्वास्थ्य र कृषिको विकासमा केन्द्रत बजेटको कार्यन्वयनले समाजवादको आधार तय गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment