Comments Add Comment

विदेशमा लाखौं नेपाली विद्यार्थीको भविष्य संकटमा

चीनको वुहान शहरबाट सुरु भई अहिले विश्वव्यापी रूपमा देखिएको कोरोना भाइरस संक्रमणले मानव जगतलाई नै संकटमा धकेलेको छ । स्वदेशमै रहेका हुन् या विदेशमा रहेका हुन् नेपालीहरु पनि यो संकटबाट मुक्त छैनन् ।

करिब चालीस लाख नेपालीहरु संसारका विभिन्न देशमा रोजगारी, व्यवसाय, अध्ययन लगायत विविध क्षेत्रमा छरिएर रहेका छन् । मुख्यतः रोजगारको गन्तव्य मानिने खाडी मुलुकहरुलाई अपवाद मान्ने हो भने अधिकांश देशहरुमा नेपाली विद्यार्थीहरु उल्लेखनीय संख्यामा छन् । नेपाली विद्यार्थीहरु भिसा आवेदन दिँदाको बखत आफ्नो परिवारको यथेष्ट सम्पति भएको र त्यही सम्पतिले नै आफू विदेशमा विद्यार्थी रहँदाको बखत जीवनयापन गुजारा गर्ने दावी गर्दछ । यद्यपि यथार्थचाहिँ अधिकांश विद्यार्थीहरु ऋण, सापटी लिएर विदेश जाने र विदेशमा नै काम गरेर आफ्नो कलेजको शुल्क तिर्नुका साथै दैनिक खर्च चलाउने गर्दछन् । अझ सम्भव भएसम्म आफ्नो बचतको पैसा नेपालमा आफन्तलाई रेमिट्यान्स मार्फत् पठाउने पनि गर्दछन् । कोरोनाको महामारीबाट संसारको कुनै पनि देश अछुतो रहन नसकेको यो संकटकालीन स्थितिमा विद्यार्थीहरु सबैभन्दा धेरै मारमा परेको सहजै अनुमान गर्न सकिन्छ ।

संसारभर विद्यार्थीहरु अध्ययनको लागि जाने क्रम वृद्धि भएसँगै पछिल्ला वर्षहरुमा अति विकशित देशहरु मध्येको एक जापान पनि नेपाली विद्यार्थीहरुको लागि प्रमुख आकर्षक अध्ययनको गन्तव्य बनेको छ । सामान्यत प्लस टु भन्दा माथिको विद्यार्थीहरु सामान्य जापानी भाषाकोे ज्ञान भएपछि अध्ययनको लागि जान सक्ने भएपनि त्यहाँ पुगिसकेपछि भने भाषागत कठिनाइ अनवरत झेल्नुपर्छ । जापानमा अध्ययन गर्नुको आकर्षक पाटाहरु अनेक भए तापनि विदेशी विद्यार्थीहरुले भोग्नु पर्ने कठिनाइ र समस्याहरुलाई नजरअन्दाज गर्न भने सकिँदैन । अंग्रेजी भाषा चल्ने अन्य देशको तुलनामा कतिपय जापानी भाषा नजान्ने नेपाली विद्यार्थीहरुका लागि भाषाकै कारणले जापानको जीवन कष्टप्रद हुन सक्छ । फलस्वरूप भाषाकै समस्याले समग्र जापानमा अध्ययनरत नेपाली विद्यार्थीहरुको समस्टिगत कठिनाइ अन्य धेरै देशको तुलनामा केही फरक प्रकृतिको रहन सक्ने हुनाले संसारभरका नेपाली विद्यार्थीहरुको समस्यालाई समेत ध्यानमा राख्दै यस लेखलाई केही हदसम्म जापानमा रहेका नेपाली विद्यार्थीहरुको समस्याप्रति केन्द्रित गरिएको छ ।

जापानको कुरा गर्दा चीनको वुहान शहरको भ्रमण गरेर ६ जनवरी, २०२० मा जापान फर्केका ३० वषर्ीय जापानी युवक कोरोनाभाइरस संक्रमित भएको कुरा जापान सरकारले १६ जनवरीमा पहिलो केसका रूपमा सार्वजनिक गरेको थियो । त्यसको एक हप्तापछि वुहान भ्रमणबाट फर्केर आएका अरू दुई जना कोरोनाभाइरस संक्रमित जापानी भेटिए । यसरी संक्रमणको शिलशिला सुरु भएको जापानमा यो आलेख तयार गर्दैगर्दा झन्डै १७ हजार ४९३ जना संक्रमित रहेका छन् । जसमा मृत्यु हुनेको संख्या ८८३ नाघेको छ भने ठीक भएर घर फर्किनेहरुको संख्या १४ हजार ८०१ छ । पछिल्लो एक हप्ताबाट जापान सुधारको क्रममा अगाडि बढीरहेको छ ।

नरेन्द्र बस्नेत (दिनेश)

जापानको सन्दर्भमा संक्रमित विरामीको संख्या फैलिनबाट कम हुन जापानी परम्परागत व्यवहार, सरसफाइ र वैज्ञानिक अनुसन्धानमा आधारित सरकारी नीति, अत्याधुनिक प्रविधियुक्त स्वास्थ्य पद्दति लगायतले प्रभावकारी भूमिका खेलेको अनुमान लगाइन्छ ।

जापान सरकारको २०१९ डिसेम्बरको आधिकारिक तथ्यांकलाई हेर्दा जापानमा नेपालीहरुको संख्या ९२ हजार ८०४ रहेको छ । यद्यपि वर्तमान परिस्थितिमा यो संख्या १ लाखको हाराहारीमा पुगेको अनुमान लगाउन सकिन्छ । तथ्यांकलाई केलाउँदा विद्यार्थीहरुको संख्या २८ हजार २६८, डिपेनडेन्ट २७ हजार ७९२, स्किल भिषा, कुक पेशालगायत अन्य १२ हजार ६३९, इन्जिनियर मानव संसाधन तथा अन्तर्राष्ट्रिय व्यापारमा ११ हजार १४८ जापानको स्थायी भिषा भएका ४ हजार ६७२ व्यवस्थापन अर्थात व्यापारमा १ हजार ५३८ र अन्य भिषामा ६ हजार ७४७ जना रहेको देखिन्छ । यद्यपि वर्तमान परिस्थितिमा यसमा केही संख्यात्मक तलमाथि हुनसक्छ । यो संख्या हेर्दा सबैभन्दा बढी ३०.४६ प्रतिशत विद्यार्थीको संख्या देखिन्छ जुन जापानमा रहेका विदेशी विद्यार्थीहरुमा चीन, भियतनामपछि तेश्रो ठूलो संख्यामा पर्न आउँछ ।

सुन्दर सपनाको परिकल्पनासहित जापानको यात्रा तय गर्नेहरुमध्ये अधिकांशको सुरुवाती बाटो जापानी भाषा विद्यार्थीको रुपमा नै हुन्छ । यद्यपि अहिले एकाध कलेजहरुमा सीधै अंग्रेजी माध्यमबाट पनि पढाइ भने हुने गर्दछ । अधिकांश छात्रवृत्तिमा पढ्ने नेपाली विद्यार्थीहरु अंग्रेजी माध्यमबाट पढाइ हुने विश्वविद्यालय र कलेजहरुमा पढ्ने भएकाले उनीहरुलाई आर्थिक तथा जापानी भाषाको समस्या भने तुलानात्मक रुपमा कम नै हुने गर्दछ । जापानमा अध्ययन गर्ने अधिकांश नेपालीहरु भने भाषा विद्यालय, सेन्मोन गाक्को (भोकेसनल कलेज), दाइगाकु, दाइगाकुइन लगायत अन्यमा पर्छन् ।

कलेज फीको चिन्ता

अधिकांश विद्यार्थीहरुले पार्टटाइम काम गरेर कलेज फी तिर्ने, दैनिक जीवनयापन गर्ने गर्छन् । जापानमा नयाँ रोजगारी र नयाँ सेसनको अध्यापन सुरु हुने समय अपि्रल महिना हो । यो वर्षको अपि्रल संसारिक महामारीको चपेटामा रहेकाले विद्यार्थीहरुको पढाइ संचालन हुन नसकेको अवस्था छ । पढाइ सकेर जागिर सुरु गरेकाहरु कतिपयको कम्पनी डुबेर पहिलो गासमै ढुंगा भने जस्तो स्थिति भएको छ ।

टोक्यो, ओसाका, फुकुओका, ओकिनावा, क्योटो, ओकायामालगायतका केही विद्यार्थीहरुसँग बुझ्दा कुनै-कुनै कलेजहरुले एक-दुई ओटा क्लासहरु लिएका छन् । तर अधिकांशको क्लास ठप्प भएको स्थिति छ । कम्तिमा ६ महिनाको शुल्क अगि्रम लिइसकेका कलेजहरुले त्यो शुल्क आगामी दिनमा आउने पछिल्लो सेमेस्टरको लागि मिलाइदिएमा ठूलो राहत हुने, यदि त्यसो नभएमा फेरि अक्टोबरदेखि उताको शुल्क माग्न थाल्ने भएकाले यसले अकल्पनीय स्थिति आउन सक्ने विद्यार्थीहरुको चिन्ता छ ।
यद्यपि विद्यार्थीहरुलाई लक्षित गरी थप १ देखि २ लाखसम्म सहयोग गर्ने जापान सरकारको मन्त्रिपरिषदबाट निर्णय भएको जानकारी आएको छ ।

कोरोनाबाट कसरी जोगिने भन्ने चिन्ता

अधिकांश नेपाली विद्यार्थीहरु पर्यटन क्षेत्रसँग सम्बन्धित विभिन्न होटल, रेस्टुरेन्ट, कन्विनियन्स स्टोर लगायत ग्राहकसँग प्रत्यक्ष सम्पर्क हुने ठाउँहरुमा कार्यरत छन् । यीमध्ये अधिकांश ठाउँहरु अहिले बन्द रहेकाले आर्थिक रुपमा संकट आउने अवस्था बढ्दै गएको छ । केही चलिरहेका ठाउँहरुमा भने धेरै थोरै नियमित काम भइरहेको छ । सम्भावित आर्थिक संकटबाट जोगिन फेस टु फेस सम्पर्क गर्नुपर्ने ठाउँहरु भए पनि आवस्यक सावधानीका उपायहरु अपनाएर काम जारी राख्नुपर्ने बाध्यतामा नेपालीहरु छन् ।

यतिखेर कलेज बिदाको समय मिलाएर नेपाल गएका धेरै विद्यार्थीहरु नेपालको लम्विदो लकडाउनका कारण समयमै आ-आफ्नो कर्म देश फर्किन नसकि नेपालमा नै भिषा सकिएर आउन नसक्ने स्थिति छ । यो समस्या जापानको विद्यार्थीहरुको मात्रै नभएर नेपाल गएर समयमा फर्किन नपाएका अधिकांश नेपालीहरुको हो ।

यस्तो समस्यालाई समाधान गर्नका लागि गैह्रआवासीय नेपाली संघले नेपाल गएर समयमा आफ्नो कर्मथलो फर्किन नपाइ संकटमा पर्न लागेका र सम्बन्धित देशबाट आफ्नो देश जान इच्छुकहरुको तथ्यांक संकलन गरी पररास्ट्र मन्त्रालयमार्फत पहलकदमी अगाडि बढाइरहेको छ । यसै सन्दर्भमा गैह्रआवासीय नेपाली संघ जापानले पनि नेपालबाट आउन नपाएकाहरु तत्काल आउनु पर्नेहरु र जापानबाट नेपाल फर्किनु पर्नेहरुको सर्वेक्षण फारम भरि त्यसको आधारमा नेपाल सरकारको सम्बन्धित ठाउँमा अनुरोध गरेको थियो । त्यसलाई मध्यनजर गर्दै केही ट्राभल एजेन्ट हरु को व्यवस्थापनमा नेपालबाट चार्टर उडानमार्फत जापान आउने क्रम सुरु भएको छ । यद्यपि नेपाल सरकारले जापानबाट नेपाल फर्किन इच्छुकहरुलाई अनुमति नदिएको कारण धेरै नेपालीहरु आफ्नो देश फर्किनबाट बन्चित भएको अवस्था छ ।

एनआरएन र विदेशस्थित दूतावासको भूमिका

एनआरएनएले आफ्नो सम्पूर्ण संयन्त्र प्रयोग गरी देशमा रहेकालाई र विदेशमा रहेका नेपालीलाई विविध तरिकाले सहयोग गरिरहेको छ । जसको पछिल्लो उदाहरण जापानमा चार्टर उडान मार्फत नेपालबाट आएका नेपालहरुलाई गरिएको सहयोग छ । नेपालबाट जापान आएका ती नेपालीहरुलाई जापान सरकारको नियम अनुसार सार्वजनिक सवारी साधन ट्रेन, बस, ट्याक्सी लगायत प्रयोग गर्न अनुमति थिएन । त्यसैले यहाँ सक्रिय एनआरएन जापानका क्षेत्रीय समितिहरु स्वतस्फुर्त आफ्नो जीवन जोखिममा राखी टोक्योदेखि ओसाका, फुकुओका लगायत जापानभरिका ठाउँहरुमा व्यवस्थापकीय कार्यमा खटिए । नेपालीहरुलाई घर-घरमा पुर्याइदिएर सहयोग गरे ।

जापानमा उच्च अध्ययनको लागि अप्रिल सेसनको अनुमति -भिषा प्राप्तिको लागि अत्यावस्यक प्रमाणपत्र(सीईओ) पाएर कोरोनाको कारण जापान आउन नपाएको हजारौं विद्यार्थीहरु जसले कलेज अनुसार ६ महिनादेखि एक वर्षको शुल्क बुझाइ सकेका हुन्छन् । यो अवस्थाको विद्यार्थीहरुलाई जापान इमिग्रेसनले जापान प्रवेश गर्न मान्य अवधि बढाएर ६ महिनासम्ममा प्रवेश गर्न पाउने प्रावधान बनाएको छ । यद्दपि वर्तमान परिस्थितिमा भोलिको दिन अत्यन्तै अन्योलपूर्ण रहेकाले अध्ययन बिना अध्यापन शुल्क के हुने हो भन्ने अन्योलपूर्ण स्थिति छ ।

त्यसैगरी जापानमै अध्ययन गरिरहेका विभिन्न तहका विद्यार्थीहरु जसले कम्तिमा ६ महिनाको शुल्क अगि्रम बुझाइसकेको र अध्यापन हुन नसकेको यो अवस्थामा नेपाली राजदूतावास जापानले नेपाल सरकारको सहयोग लिएर सम्बन्धित ठाउँहरुमा परामर्श गरी यसको समाधानको लागि तत्काल कदम चाल्नु पर्ने देखिन्छ । सरकारी तहबाट मात्रै सम्भव हुने यो समस्या जापान मात्रै नभएर अन्य देशको विद्यार्थीहरुमा पनि मिल्दोजुल्दो रहेको बुझिएको छ ।

कोरोना संक्रमित नेपाली बढ्ने सम्भावना

हालसम्म जापानमा ७ जना नेपालीहरु कोरोना संक्रमित भएको र सबैजना ठीक भएर फर्किसकेको भनिएको छ । जापानमा अहिले कोरोना संक्रमितलाई हस्पिटलमा ठाउँ नभएको अवस्थामा सरकारले कोरोना उपचार संयन्त्र अन्तर्गत व्यवस्था गरेको होटलहरुमा राखेर प्रत्यक्ष निगरानी गर्ने गर्दछ । कतिपय अवस्थामा त विरामीहरुलाई घरमा नै बसेर स्वास्थलाभ लिन सुझाव पनि दिएको छ ।

कतिपयहरु संक्रमित भएर पनि आफ्नै घरमा बस्दा स्वाभाविक रुपमा परिवारको सदस्यहरुमा यो सर्ने खतरा अत्यधिक रहन्छ । संक्रमित भएर पनि समाज र साथीभाइ आफन्तबाट अपहेलित हुनु पर्छ कि भन्ने डरले कतिपयले रोग लुकाएको भन्ने बुझ्नमा आएकाले यस्तो सोच राखेर संक्रमितहरु खुल्मखुल्ला दैनिक क्रियाकलाप गर्दा अन्जानमा अन्य नेपालीहरु संक्रमित हुने सम्भावना त्यत्तिकै बढ्दै गएको छ । यसर्थ यो रोग लुकाउँदा तपाईंको परिवार वरपरको समेत यसबाट संक्रमित हुने डर भएकाले मनोबल दरो बनाएर जानकारी गराएमा तपाईं आफूसँगै अरुको पनि जीवन रक्षामा पनि भूमिका खेल्न सक्नु हुन्छ । सशंकित नबनौं, सुसूचित रहौं, सहयोगी बनौं, सुरक्षित रहौं ।

(बस्नेत एनआरएन जापानका सल्लाहकार हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment