Comments Add Comment
दैलेखको दुःख :

१७ कोरोना संक्रमित दुई दिनदेखि क्वारेन्टिनमै छन्, थप पोजेटिभ केस भेटियो

मेयर भन्छन्– सामाजिक दुरी होइन, छत पनि दिन नसक्ने भयौं

नारायण नगरपालिकाको कार्यालय

१९ जेठ, काठमाडौं । दैलेखको नारायण नगरपालिकामा भारतबाट फर्किएका नागरिकहरुमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि हुने क्रम बढ्दो छ ।

तर नगरपालिकासँग अब न भारतबाट फर्किएकाहरुलाई राख्ने क्वारेन्टिन छ, न कोरोना संक्रमितलाई उपचारका लागि लैजाने आइसोलेसन छ ।

नगरपालिकाले एउटा विद्यालयमा ३० बेडको आइसोलेसन बनाएको थियो । तर रोजगारीका लागि भारत गएकाहरु फर्किने क्रम सुरु भएसँगै कोरोना सक्रमितहरु भेटिए र केही दिनमै आइसोलेन वार्ड भरिभराउ भयो ।

बेड थप्न नसकेपछि नयाँ संक्रमितलाई आइसोलेट गर्न नसक्ने अवस्था आएको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख लालबहादुर खड्काले अनलाइनखबरसँग भने, ‘नारायण क्याम्पसको क्वारेन्टिनमा रहेकामध्ये १७ जनालाई संक्रमण पुष्टि भएर पनि आइसोलेट गर्न गर्न सकेका छैनौं । त्यही थप १७ जनाको पोजेटिभ आएको खबर आएको छ ।’

मेयर रत्नबहादुर खड्काकाअनुसार नगरपालिकाले सुरुमा सामाजिक दुरी लगायतका सबै मापदण्ड पूरा गरेर सरस्वती माविमा २० बेडको क्वारेन्टिन बनाएको थियो । नारायण क्याम्पसमा १०५ बेडको क्वारेन्टिन बन्यो ।

भारतबाट फर्किनेहरुको संख्या बढेसँगै क्वारेन्टिन स्थल थपिँदै गयो, र अहिले २१ वटा पुगेको छ । ‘११/१२ गते २०/२५ गाडीमा मानिसहरु आएपछि जात्रा भयो’ मेयर खड्का भन्छन्, ‘अब सामाजिक दुरीलगायतका मापदण्ड त परको कुरा पानीबाट जोगाउन छत पनि दिन नसक्ने भयौं ।’

उनकाअनुसार आइतबार विहानसम्म नगरपालिकाका २१ वटा क्वारेन्टिनमा १४२९ जना छन् । ठाउँ नपुगेर १०५ सिटको नारायण मावि क्वारेन्टिनमा २१९ जनालाई राख्नुपरेको छ । तर भारतबाट आउने क्रम रोकिएको छैन ।

बाँकेको जमुनाह नाकामा कडाई गरेकाले दुई दिनदेखि ठूलो संख्यामा आएका छैनन् तर बनबासा नाकाबाट दैनिक ४०÷५० जना आउने गरेका छन् । उनीहरुलाई पनि क्वारेन्टिन गरेर राख्न सक्ने अवस्था छैन । मेयर खड्का भन्छन्, आफ्ना नागरिकलाई न घर जान दिन सक्छौं, न क्वारेन्टिनमा राख्न सक्छौं । यो हाम्रो क्षमताभन्दा बाहिर गइसक्यो ।’

नगरका विद्यालय भवनहरु सकिए । वृद्धाश्रम र पार्टी कार्यालयको भवन समेत प्रयोग गरिएको छ । नगरपालिकाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पुस्तकालय भवनमा स्वास्थ्यकर्मीहरुलाई राख्न प्रयोग गरेको छ ।

क्वारेन्टिन व्यवस्थित हुन नसक्दा त्यही एकबाट अर्कोलाई संक्रमण सार्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment