Comments Add Comment

नेकपा संसदीय दलमा मुख्यमन्त्री भट्टले माफी मागे

२० जेठ, कैलाली । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलमा मुख्यमन्त्री त्रिलोचन भट्टले माफी मागेका छन् ।

एक वर्षपछि मंगलबार बसेको संसदीय दलको बैठकमा प्रदेशसभा सदस्यहरूले सरकारप्रति असन्तुष्टि जनाएका थिए। मंगलबार धारणा राख्ने अधिकांश सांसदहरूले सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका थिए भने केही सांसदहरूले काम गर्न नसक्ने अवस्थामा पदमा बस्नुको औचित्य नहुने बताएका छन् ।

बैठकमा संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री त्रिलोचन भट्टले आत्मालोचनाको शैलीमा माफी मागेको एक सांसदले बताए । समयमा दलको बैठक बोलाउन नसकेको, सरकार र सांसदबीच समन्वय अभाव भएको स्वीकार गर्दै उनले माफी मागेका हुन् । ‘सुरुमै मुख्यमन्त्रीज्यूले त्रुटि भएको भन्दै माफी माग्नुभयो’ उनले भने ‘उहाँले पहिले त्यसरी कहिल्यै माफी माग्नु भएको थिएन ।’

मुख्यमन्त्रीले धारण राखेलगत्तै नेकपाका सांसद वीरमान चौधरीले सरकारको गतिविधि ठिक नभएको आरोप लगाए । ‘सरकारले केही गर्न सकेनभन्दा पनि हुन्छ । काम गर्न नसक्ने अवस्थामा पदमा बस्नुको केही अर्थ छैन’ उनले भनेका थिए ।

पूर्वमन्त्री दीर्घ सोडारीले पनि सरकारको अलोचना गरे । मंगलबार प्रमुख सचेतक तारालामा तामाङ, सचेतक अक्कल रावल विषयगत समितिका सभापतिलगायत ११ जना सांसदले धारणा राखेका थिए । बोल्ने अधिकांशले सरकारले राम्रो काम गर्न नसकेको बताएका छन् ।

सचेतक रावलले अब ल्याउने बजेट सन्तुलित नभए बजेट संशोधन पनि हुन सक्ने बताएका थिए । उनले केही समय पहिले आफूलाई नियोजित ढंगले फसाइएको भन्दै छानबिन गर्न माग गरेका छन् ।

गत वर्ष बजेट पारित गर्ने विषयमा विवाद बढेपछि मुख्यमन्त्री कार्यालयमा संसदीय दलको १३ औं बैठक बसेको थियो । त्यसपछि सुदूरपश्चिममा नेकपा संसदीय दलको बैठक पहिलो पटक बसेको हो । मंगलबार सांसदहरूले बोल्ने क्रम नसकिएकाले बैठक भोलि बिहान ८ बजे पुनः बस्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment