Comments Add Comment

अस्ट्रेलियामा आर्थिक मन्दी सुरु, १९९१ यताकै महामन्दी आउन सक्ने

२१ जेठ, ताज्मानिया । अस्ट्रेलियामा आर्थिक मन्दी सुरु भएको छ । गत वर्षको अन्तमा अष्ट्रेलियाका विभिन्न क्षेत्रमा देखिएको खडेरी, भीषण आगलागी र नयाँ वर्षको सुरु मै देखा परेको कोरोनाका कारण आर्थिक मन्दी सुरु भएको भन्दै सरोकारवालले चिन्ता व्यक्त गरेका छन् ।

यो वर्ष सुरु भएदेखि मार्च ३१ सम्म अस्ट्रेलियाको कुल गार्हास्थ उत्पादनमा ०.३ प्रतिशतले कमी आएपछि सन् १९९१ यताकै सबैभन्दा ठूलो महामन्दी आउन सक्ने अष्ट्रेलियन तथ्यांक विभागले जनाएको छ ।

सेप्टेम्बर १९९० देखि सेप्टेम्बर १९९१ सम्म को एक वर्षे आर्थिक मन्दी अष्ट्रेलियाको इतिहासमा ठूलो मन्दी मानिन्छ । जतिबेला कुल गार्हस्थ उत्पादन १.७ प्रतिशतले घटेको र बेरोजगारी १०.८ प्रतिशतले बढेको थियो ।

अर्थशास्त्रका अनुसार लगातार दुई त्रैमासिकसम्म कुल गार्हस्थ उत्पादनमा लगातार गिरावट आएपछि आर्थिक मन्दी भएको मानिन्छ ।

अष्ट्रेलियाका विभिन्न भागहरुमा खासगरी पश्चिम अस्टेलियामा भएको खडेरी, डढेलोका कारण उत्पादनमा कमी भएको र कोरोना महामारीका कारण बजार व्यवसाय ठप्प भएसँगै बेरोजगारी ह्वात्तै बढेकोले देश गम्भीर आर्थिक मन्दीतर्फ अगाडि बढेको अष्ट्रेलियाका ट्रेजरर जोश फ्राइडेनबर्गले बताए ।

कोरोना भाइरसका कारण अत्यावश्यक वाहेकका अरु व्यवसाय तथा सेवाहरु बन्द भएपछि अष्ट्रेलियामा यो अप्रिल महिनामा मात्रै करिब ६ लाख जनाले रोजगारी गुमाएका थिए ।

प्राकृतिक प्रकोप तथा महामारी आउनुभन्दा पहिलेदेखि नै अष्ट्रेलियाको अर्थतन्त्रले गति लिन नसकेको स्वीकार गर्दै उनले आर्थिक मन्दी आउनुमा व्यवसाय ठप्प हुनु, उत्पादनमा कमी र सरकारको ऋण बढ्नु मुख्य जिम्मेवार भएको बताए ।

कोरोना महामारी नियन्त्रणका लागि लगाइएको प्रतिबन्धका कारण मानिसले गर्ने खर्चहरुमा भारी मात्रामा कमी आएको थियो ।

त्यति मात्रै होइन, कोरोना भाइरसको नियन्त्रणमा चीनले चालेका कदममाथि निष्पक्ष छानबिनको माग गरेका अष्ट्रेलियन प्रधानमन्त्री स्कट मौरिसनविरुद्ध अष्ट्रेलियाबाट चीन निर्यात हुने जौमा भारी मात्रामा कर लगाउने चीनले घोषणा गरेको थियो ।

त्यस्तै, अष्ट्रेलियाबाट निर्यात गरिने गाईको मासुमा समेत चीनले भारी मात्रामा कटौती गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment