Comments Add Comment

रौतहटमा क्वारेन्टिन स्थलमै कुटिए स्वास्थ्यकर्मी

२१ जेठ, काठमाडौं । रौतहटको राजपुर नगरपालिका-९ स्थित एक क्वारेन्टिन स्थलमा स्वास्थ्यकर्मी कुटिएका छन्।

राजपुरको बैरियास्थित ठूलो मदरसा क्वारेन्टिनमा बसेका व्यक्तिहरूको आक्रमणबाट दुई जना स्वास्थ्यकर्मी घाइते भएका छन्। घाइते हुनेमा सिनियर अहेव खुर्सीद आलम र रामनरेश साह रहेका छन् । आक्रमणबाट आलमको टाउको फुटेको छ। उनकाे स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेकाे छ।

पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आए पनि संक्रमतिसँगै केही दिन बसेकाले आरडीटी परीक्षण गराएरमात्रै घर पठाउने तयारी भइरहेको समयमा उनीहरूले त्यसको विरोध गर्दै स्वास्थ्यकर्मीमाथि नै आक्रमण गरेको नगरपालिकाका प्रशासकीय अधिकृत बैजु ठाकुरले अनलाइनखबरलाई जानकारी दिए ।

‘क्वारेन्टाइनमा बसेका २०९ जनाको पीसीआर परीक्षण गर्दा ६४ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । नेगेटिभ रिपोर्ट आएका व्यक्तिहरू पनि केही दिन संक्रमितसँगै बसेकाले आरडीटी परीक्षण गराएरमात्रै पठाउने तयारीअनुसार आरडीटी परीक्षण भइरहेको थियो ।’ ठाकुरले भने, ‘बुधबार २० जनाको आरडीटी परीक्षण भइसकेको थियो । जसमा १० जनाको आरडीटी रिपोर्ट पोजेटिभ पनि देखियो । आरडीटी परीक्षण चलिरहेकै समयमा एक्कासी उनीहरूले परीक्षण नै नगरी घर जान पाउनुपर्ने भन्दै स्वास्थ्यकर्मीमाथि जाइलागे ।’ क्वारेन्टिनमा बसेका व्यक्तिहरूले स्वास्थ्यकर्मीहरू चढेर आएको तीनवटा मोटरसाइकल समेत तोडफोड गरेको ठाकुरले बताए ।

क्वारेन्टिनमा बसेकाहरूको आरडीटी परीक्षणका लागि जिल्लाबाट तीन जना स्वास्थ्यकर्मीसहित ९ जनाको टोली खटिएको थियो ।यसअघि इशनाथको जोकहामा रहेको क्वारेन्टाइनमा पनि स्वास्थ्यकर्मीलाई कुटपिट भएको थियो ।

विवाद के हो ?

बैरिया क्वारेन्टिनमा भारतबाट आएका ५०९ जना बस्दै आएका थिए । ५०९ जनामध्ये पहिलो लटमा १८६ जनाको पीसीआर परीक्षण गरिएिको थियो । जसमा ३१ जनामा संक्रमण पुष्टि भएको थियो भने एक सय ५५ जनाको रिपोर्ट नेगेटिभ आएको थियो ।

त्यसबेला पनि नगरपालिकाले नेगेटिभ आएका व्यक्तिहरूको आरडीटी परीक्षण गर्ने तयारी गरेको थियो । तर क्वारेन्टिनमा बस्ने व्यक्तिहरूले परीक्षण नै नगराइ घर जान पाउनुपर्ने अडान राखेपछि उनीहरूको आरडीटी परीक्षण नै नगरी घर पठाइएको थियो ।

संक्रमण पुष्टि भएकाहरूसँगै हेलमेल गरेर बसेका कारण जोखिम न्यूनीकरण गर्न स्थानीय तहले नेगेटिभ रिपोर्ट आएका व्यक्तिलाई आरडीटी परीक्षण गराएर मात्रै घर पठाउने नीति अवलम्बन गरेको प्रशासकीय अधिकृत ठाकुरले बताए। तर क्वारेन्टिनमा बसेकाहरूले कुरा नबुझेका कारण समस्या आएको उनले बताए ।

दोस्रो लटमा २०९ जनाको पीसीआर परीक्षण गरिएको थियो । जसमध्ये ६४ जनामा संक्रमण पुष्टि भएको थियो । संक्रमितसँगै उनीहरू पनि बसेकाले आरडीटी परीक्षण गराएर मात्रै घर पठाउने योजनाअनुसार नगरपालिकाले आरडीटी परीक्षणका लागि स्वास्थ्यकर्मी परिचालन गरेको थियो ।

यसअघि पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएका व्यक्तिलाई परीक्षण नै नगरी घर पठाएको भन्दै उनीहरूले विरोध जनाएका थिए । तर नगरपालिकाले आरडीटी परीक्षणको रिपोर्ट नेगेटिभ आउनेलाई मात्रै घर पठाउने भन्दै परीक्षण कार्य अघि बढाएपछि क्वारेन्टिनमा बसेकाहरू आक्रोशित हुँदै स्वास्थ्यकर्मीमाथि आक्रमणमा उत्रिएको ठाकुरले बताए ।

जिल्लाका एसपी, सीडीओलगायतको समन्वयमै उनीहरूको आरडीटी परीक्षण गरिएको ठाकुरको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment