Comments Add Comment

विश्व भर्चुअल पुम्सेमा नेपालका लक्ष्मण ऐरले जिते स्वर्ण पदक

२३ जेठ काठमाडौं । नेपालका लक्ष्मण ऐरले विश्व भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् ।

युएस वेस्ट कोस्ट तेक्वान्दो संघ, पोर्टल्यान्ड, अमेरिकाको तत्वावधान तथा पान अमेरिकन तेक्वान्दो युनियन, पोर्टल्यान्डको आयोजनामा ४ जुनदेखि सुरु भएको च्याम्पियनसिप लक्ष्मणले ५० वर्षमुनिको समूहमा पहिलो हुँदै स्वर्ण जितेका हुन ।

लक्ष्मणले ६.७३ अंक स्को गर्दै प्रतिस्पर्धीलाई पछि पारेका हुन् । यसअघि युरोपियन र वर्ल्ड च्याम्पियनसिपमा पनि प्रतिस्पर्धा गरेका लक्ष्मणको यो पहिलो भर्चुअल पुम्से पदक हो ।

यसपटक अघिल्ला दुई च्याम्पियनसिपभन्दा फरक थियो । यो च्याम्पियनसिपमा जुममार्फत प्रत्यक्ष पुम्से प्रदर्शन गर्नुपर्ने थियो । ‘यसअघि हामीले भिडियो बनाएर युट्युब भिडियो लिंक पठाएर प्रतिस्पर्धा गरेका थियौँ । यो पटक सिधै जुममार्फत लाइभ प्रस्ति दिनुपर्ने थियो,’ लक्ष्मणले अनलाइनखबरसँग भने, ‘त्यसैले केही डर पनि थियो । कुल ९० सेकेण्ड प्रस्तुति दिँदा उतैबाट अन्तर्राष्ट्रिय रेफ्रीहरुले हेरेर जज गर्नुहुन्थ्यो । राति थियो मैले प्रस्तुति दिएँ । उताबाट यति स्कोर  भनियो ।’

यसअघि पदक जित्न नसकेका लक्ष्मण यस पदक भने पदक जित्ने लक्ष्यका साथ नै तयारी गरेर प्रतिस्पर्धा गरेको बताए । उनी नेपाल पुलिस क्लबका तेक्वान्दो प्रमुखका रुपमा छन् । यसअघि दुई च्याम्पियनसिपमा अहिलेको भन्दा राम्रो प्रदर्शन गरेपनि उनले पदक जित्न सकेका थिएनन् ।

नेपाल तेक्वान्दो संघसंग समन्वयमा यसपटक नेपालबाट लक्ष्मणसहित ६ खेलाडीले सहभागिता जनाएका छन् । अहिलेसम्म भएको तीनवटै भर्चुअल पुम्से च्याम्पियनसिपमा लक्ष्मणले नै व्यवस्थापन गरेका थिए ।

‘तीनवटै च्याम्पियनसिप फरक फरक थियो । युरोपियन च्याम्पियनसिपमा ३ वटा भिडियोमा ६ वटा पुम्से पठाएका थियौँ । यस्तै विश्व च्याम्पियनसिपमा २ वटा भिडियो पठाएका थियौँ । यसपटक भने डेढ मिनेटको लाइभ मात्र थियो । त्यसै यो अघिल्ला दुईभन्दा अलि फरक थियो,’ ४२ वर्षीय लक्ष्मणले भने ।

बैतडीका लक्ष्मणले २०५३ सालदेखि तेक्वान्दो खेल्न थालेको भए पनि पहिलो पटक अन्तर्राष्ट्रियस्तरमा पदक जितेका हुन् । उनी २०६० सालमा नेपाल पुलिसमा भर्ना भएका थिए । त्यसपछि लगातार चार वर्ष चिफ कोचका रुपमा काम गरेका लक्ष्मण दुईपटक मिसनमा समेत गएका थिए । युएन हेडक्वाटरमा समेत काम गरेका लक्ष्मण पाँच डन ब्ल्याकबेल्ट हुन् ।

चार दिनसम्म सञ्चालन हुने च्याम्पियनसिपमा पहिलो दिन नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्दा लक्ष्मण स्वर्ण जिते भने रेशमाया गुरुङले कास्य पदक जितेकी छन् । रेशमायाले महिला ४० वर्षमुनि कांस्य पदक जितेको लक्ष्मणले जानकारी दिए ।

यस्तै पुरुष ४० वर्षमूनि धनगढीका आशिष चन्द र ३० वर्षमनि सुनसरीका विवेक राईले पनि प्रतिस्पर्धा गरेका थिए । तर उनीहरुले पदक जित्न सकेनन् ।

अब नेपालका बाँकी दुई खेलाडीले प्रतिस्पर्धा गर्न बाँकी छ । च्याम्पियनसिपमा नेपालका निर्णायक अशोक खड्काले पनि निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् । कोरोनाभाइरस महामारीका कारण पछिल्लो पटक तेक्वान्दो खेलको अनलाइन पुम्से प्रतियोगिता हुँदै आएको छ ।

यसअघि फ्रान्समा भएको विश्व पुम्से च्याम्पियनसिपमा १३औं सागका स्वर्ण विजेता कमल श्रेष्ठले स्वर्ण पदक जितेका थिए । कमल पनि नेपाल पुलिसमै कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment