Comments Add Comment

कोरोना बिमा भइसकेकाको कम्पनीले ‘रिस्क’ बोक्ने

२३ जेठ, काठमाडौं । कोरोना बिमा आज शुक्रबारबाट स्थगित भएको छ । बिमा कम्पनीहरुको आग्रहपछि नियामक निकाय बिमा समितिले स्थगन गर्न सहमति जनाएको हो ।

संक्रमित धेरै भएपछि दाबी भुक्तानी धेरै गर्नुपर्ने र नाफा कम हुन सक्ने आकलन गर्दै कम्पनीहरूले नै पोलिसी बिक्री नगर्ने निर्णय गरेका हुन् ।

निर्जीवन बिमा कम्पनीहरूको संगठन नेपाल बिमक संघका महासचिव चंकी क्षेत्रीले आजदेखि पोलिसी नै स्थगन भएको जानकारी दिए । पोलिसी स्थगित भए पनि यस अघि बिमा भइसकेकाहरुको भने जोखिम वहन कम्पनीहरुले गर्ने उनले बताए ।

कोरोना बिमा कार्यक्रम आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा नै समावेश कार्यक्रम हो । सरकारले ल्याएको बजेट कार्यान्वयनमा नै चुनौती दिदै कम्पनीहरुले पोलिसी नै बन्द गरेका छन् ।

यो पनि पढ्नुहोस बजेटमै समेटिएको ‘कोरोना बिमा’ याेजना बन्द

नयाँ योजना भए पनि कोभिड–१९ बिमामा सर्वसाधारणको आकर्षण देखिएको थियो । बिमा कम्पनीहरूले कोभिड–१९ को बिमा गर्न सुरु गरेको दुई महिना पनि बित्न नपाउँदै तीन लाखभन्दा बढीले बिमा गराइसकेका छन् ।

जसबापत १६ करोड रुपैयाँभन्दा धेरै बिमा शुल्क आर्जन भएको महासचिव क्षेत्रीले बताए । हालसम्म बिमा दाबी भने कसैको पनि परेको छैन । सामान्यतयाः युद्ध र महामारीको बिमा नहुने विश्वव्यापी चलन छ । यद्यपि, बिमा समितिले नयाँ अभ्यास गर्दै नयाँ पोलिसी जारी गरेको थियो ।

समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँको कोरोना बिमा गर्न सकिने व्यवस्था बनाएको थियो । परिवारकै बिमा गर्ने हो भने एक लाख रुपैयाँको लागि छ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्ने र बिमाको अवधि एक वर्ष हुने व्यवस्था गरिएको थियो ।

बिमा गरेका कसैलाई १५ दिनपछि कोरोना (पीसीआर परीक्षण) पोजिटिभ देखिएको अवस्थामा एक लाखको गरे एक लाख र ५० हजारको गरे ५० हजार रुपैयाँ बिमा दाबी भुक्तानी हुनेछ ।

सरकारले आगामी आथिक वर्षको बजेटमा नै कोरोना बिमा हुने उल्लेख गरेको थियो । सामूहिक कोरोना बिमा गर्दा प्रिमियममा ५० प्रतिशत छुट दिने बजेटमा उल्लेख छ ।

बजेटमा प्रिमियम शुल्कमा छुट दिएका कारण पनि बिमा कम्पनीहरू रुष्ट भएका छन् । प्रिमियममा छुट दिने बजेटले उल्लेख गरेको तर बिमा कम्पनीलाई सहुलियत हुने अन्य नीति नलिएको महासचिव क्षेत्रीले बताए ।

हाललाई स्थगन गरिएको तर कार्यविधि बनेर कम्पनीहरूलाई केही सहुलियत आएको अवस्थामा भने पुनः बिमा हुने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment