Comments Add Comment

भारतबाट भित्रिएको चिनीमा चलखेल !

खाद्यले अयोग्य भनेको ७२ हजार किलो चिनी भन्सार पास

२६ जेठ, काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रणको भन्सार कार्यालयले तीन महिनाअघि गुणस्तरहीन भनेर प्रमाणित गरेको ७२ हजार किलो चिनी केन्द्रीय प्रयोगशाला परीक्षणमा खान योग्य रहेको पाइएको छ ।

भन्सारको गुणस्तर कार्यालयले आयात अयोग्य भनेको चिनी भन्सार पास हुनु, लगत्तै राजस्व अनुसन्धानको टोलीले पक्राउ गर्नु र त्यसको तीन महिनापछि गुणस्तर फेरिनुले चिनीमा चलखेल भएको प्रष्ट हुने स्वदेशी चिनी उत्पादकहरु बताउँछन् ।

सरकारले तोकेको चिनीको न्यूनतम् मूल्यअनुसार उक्त परिमाणको चिनीको बजार मूल्य ५२ लाख हाराहारी हो ।

खाद्यले अयोग्य भनेको चिनी भन्सार पास

भारतको बहराईज जिल्ला उत्तर प्रदेशबाट काठमाडौंको अनुष्का मल्टिप्रपोज प्रालिले आयात गरेको चिनी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जलेश्वर नेपाल भित्रिन अयोग्य रहेको बताएको थियो ।

गत फागुन २५ गतेको दिन कार्यालयले जारी गरेको ल्याब रिपोर्टअनुसार १४ सय ४० बोरा (७२ हजार किलो चिनी) चिनी नेपाल सरकारले तोकेको खाद्य मापदण्डको गुणस्तर अनुसार छैन ।

गुणस्तर जाँच पत्र हेर्नुहोस्

चिनीेको गुणस्तर मापदण्ड फेल भएपछि आयात गर्न पाइँदैन । तर, जलेश्वर भन्सार कार्यालयलले गुणस्तरहीन चिनी फागुन २५ मा भन्सार पास गरिदियो ।

भन्सार कार्यालय जलेश्वरले तीनवटा ट्रकमा लोड रहेको चिनीमा आयातकर्ताले घोषणा गरेको ३० लाख रुपैयाँ खरिद मूल्यमा थप ७ लाख रुपैयाँ थप गरेर चिनीको भन्सार पास गरेको थियो ।

आयातकर्ताले ३७ लाखको स्वघोषणा गरेर २३ लाख ५० हजार ९ सय ९४ रुपैयाँ भन्सार तिरेर चिनी पास भएको देखिन्छ ।

‘राजश्व छली र गुणस्तर अनुसन्धान गर्दैछौँ’

भन्सारबाट पास भएको चिनी सोही रात राजश्व अनुसन्धान कार्यालय पथलैया बाराले नियन्त्रणमा लिएको थियो । फागुन २५ गतेको राति नियन्त्रणमा लिइएको चिनीबारे अनुसन्धान जारी रहेको राजश्व अनुसन्धान कार्यालय पथलैया बाराका प्रमुख राजन बीसीले बताए ।

‘लकडाउनका कारण आयातकर्ता आउन सकेका छैनन्, गुणस्तर कार्यालय जलेश्वरको पत्र र भन्सार पास तथा राजश्वका बारेमा हामी अनुसन्धान गरिरहेका छौँ,’ बीसीले भने ।

अयोग्य भनेर प्रमाण पत्र दिइँदा दिइँदै चिनी भन्सार पास भएको लगायतका विषयमा कार्यालयले अनुसन्धान गरिरहेको उनले बताए । भन्सार छली, प्रक्रियानपुगी आयात तथा गुणस्तरको विषयमा कार्यालय एकिन भएपछि चिनी जफत, नष्ट गर्ने वा फुकुवा गरिदिने भन्ने प्रक्रियाअनुसार नै कार्यालयले गुणस्तर परीक्षण गराएको बीसीले बताए । ‘कार्यालयले जफत गरेर लिलामी गर्दा पनि चिनीको गुणस्तर हेरिनुपर्छ, त्यसैअनुरुप हामीले केन्द्रीय प्रयोगशाला पठाएका हौँ,’ बीसीले भने ।

गुणस्तर हेरफेर गर्नका लागि चिनीको नमूना पठाउनमा कुनै शंका गर्ने ठाउँ नरहेको र कानुनअनुसार नै सबै प्रक्रिया पुर्याइएको उनको दाबी छ ।

गुणस्तर प्रमाणीकरणमा उठेको प्रश्न

खाद्य प्रविधिको शाखा कार्यालयको तीन महिनाअघिको परीक्षणमा खान अयोग्य भएको चिनी केन्द्रीय प्रयोगशालाको परीक्षणमा गुणस्तरीय भएपछि गुणस्तर प्रमाणीकरण गर्ने विधिमा गम्भीर प्रश्न उठेको छ । तर, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भने कुनै नियत राखेर गुणस्तरमा हेरफेर नहुने दाबी गरेको छ ।

राजश्व अनुसन्धान कार्यालय पथलैयाका शाखा अधिकृतसहितको प्रहरी टोलीले लाहाछाप गरेर ल्याएको नमूना उहाँहरुकै रोहबरमा परीक्षण गरेर गुणस्तर प्रमाणपत्र पठाइएको विभागकी महानिर्देशक डा. मतिना जोशी वैद्यले बताइन् ।

राजश्व अनुसन्धानले आफ्नै अधिकृतलाई पठाएको चिनीको नमूना केन्द्रीय ल्याबमा मुचुल्का उठाएर परीक्षण गरेको महानिर्देशक वैद्यको दाबी छ । ‘प्राप्त नमूनाको चिनीमा गुणस्तर योग्य पाइएको छ, अब त्यो चिनी जलेश्वरले अयोग्य भनेको चिनीको नमूना हो वा होइन हामीलाई थाहा हुने कुरो भएन’ महानिर्देशक वैद्यले भनिन् ।

भन्सार क्षेत्रका कार्यालयहरुले वर्षमा एकपटक कार्यप्रगति विवरण केन्द्रमा बुझाउने हुनाले तीन महिनाअघि के भएको थियो विवरण आफूलाई प्राप्त नभएको पनि उनले बताइन् ।

‘हाम्रो शाखाले गुणस्तरहीन भनेको, त्यो हुँदाहँदै पनि भन्सार पास भएको र राजश्वको नियन्त्रणमा चिनी आएको कुरा त बल्ल हामी थाहा पाउँदैछौँ,’

महानिर्देशक वैद्यले थपिन् ‘हामीलाई नमूना राजश्व अनुसन्धानले पठाएको हो, त्यो नमूनामा कैफियत छैन, गुणस्तर नतिजा पठाएका छौँ नमूना हामीसँग सुरक्षित छ । ’

केन्द्रीय प्रयोगशालामा कसरी आएको थियो नमूना ?

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा वैशाख १५ गते चिनीको पहिलो नमूना राजश्व अनुसन्धान पथलैयाका शाखा अधिकृत चूडामणि बस्यालले लिएर आएका थिए । ल्याबका शाखा अधिकृत कृष्णप्रसाद राईका अनुसार मुचुल्कामा बस्याललाई पनि हस्ताक्षर गराइएको छ ।

उताबाट ल्याइएको नमूना कपडाको कालो रंगको थैलामा लहाछाप गरेर प्लाष्टिकमा तीनवटा पोका अञ्दाजी ४ सय ग्राम जति विभागलाई प्राप्त थियो । सादा प्लाष्टिकमा रहेको नमूनामा कुनै लेबल थिएन । चलानी नम्बर ५२६ मा त्यो प्राप्त भएको थियो । नमूना लिएर आउनेकै रोहबरमा ल्याब परीक्षण गर्दा अस्वाभाविक गन्ध र फोहोर नभेटिएको चिनी सरकारले तोकेको गुणस्तरअनुसार नै परेको राईले बताए ।

यस्तै दोस्रोपटक फेरि राजश्वले चिनीको गुणस्तर परीक्षण गर्न २०७७ जेठ ९ गते दुई बोरा नमूना सिल गरेको बोरामा चिनी पठाएको थियो । सिम्बोली सुगर लिमिटेड यूनिट उत्तर प्रदेश बहराज लेखिएको एउटा बोरामा लट नम्बर २०१९ लेखिएको थियो भने २४ महिनाभित्र प्रयोग गरिसक्नु पर्ने उल्लेख थियो । यस्तै अर्को बोरामा लट नम्बर र प्याक्ट मिति मार्करको सहायतामा हातले लेखिएको थियो ।

विभागको परीक्षणमा दुवै बोराको चिनी प्रयोगका लागि योग्य थियो । केही मात्रामा चिनीको नमूना विभागले राखेर बाँकी बोरा राजस्व पथलैयाले फिर्ता लगेको विभागले जनाएको छ । राजश्व अनुसन्धान पथलैयाले दिएको जानकारी अनुसार नियन्त्रणमा लिएको १४ सय ४० बोरा चिनीमध्ये २९८ बोरा चिनीमा लेबल मार्करले लेखिएको छ ।

गुणस्तरमा मिलोमतो भयो

यता उपभोक्ता अधिकारकर्मीहरुले भने भन्सार, गुणस्तर र राजश्वअनुसन्धान कार्यालयको मिलोमतोमा गुणस्तरहिन चिनीलाई बैधानिकता दिन खोजेको आरोप लगाएका छन् ।

भन्सार नाकामा रहेको गुणस्तर कार्यालयले गुणस्तरहीन भनेको आयातवस्तु भन्सार पास गरिनु, त्यसलाई राजस्वले नियन्त्रणमा राख्नु र केन्द्रीय प्रयोगशालाले गुणस्तरीय भनेर प्रमाणित गर्नुमा नियत देखिएको उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ बताउँछन् ।

‘कि त सरकारी ल्याब नाका र केन्द्रमा हुनेले फरक–फरक नतिजा दिन्छ भन्नुप¥यो होइन भने, सरकारी निकायको नियन्त्रणमा आएको गुणस्तरहीन वस्तु गुणस्तरीय प्रमाणित हुनुमा शंका गर्ने ठाउँ छ,’ अध्यक्ष बानियाँले भने ।

गुणस्तरहीन चिनीलाई प्रलोभनमा परेर सरकारी अधिकारी गुणस्तरीय बनाउने चलखेलमा लागेको अर्का उपभोक्ता अधिकारकर्मी माधव तिमिल्सिना बताउँछन् ।

‘खाद्यको  जलेश्वर ल्याब र काठमाडौं ल्याबको नतिजा फेरिनुमा नियन्त्रणमा लिइएको चिनीको नमूना संकलन र परीक्षणमा बदमासी गरिएको हुन सक्ने देखिन्छ, भन्सार, राजश्व अनुसन्धान र गुणस्तरका अधिकारी प्रलोभनमा नपरेको भन्ने ठाउँ रहेन,’ तिमिल्सिनाले भने । गुणस्तरहीन चिनी उपभोक्तालाई खुवाउन नदिइने पनि उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment