Comments Add Comment

चीन कोरोनाको खोप पहिला अमेरिका वा बेलायतमा बनेको हेर्न चाहँदैन- अमेरिकी सिनेटर

२६ जेठ, काठमाडौं । अमेरिकाको माथिल्लो संसद् सिनेटका एक सांसद रिक स्कटले चीनले कोरोना भाइरस (कोभिड-१९) को खोप सबैभन्दा पहिला अमेरिका वा बेलायतले बनाएको हेर्न नचाहेको आरोप लगाएका छन् । उनले चीन अहिले पश्चिमी मुलुकमा खोपन निर्माणको काम प्रभावित गर्ने दिशामा अघि बढिरहेको बताएका छन् ।

स्कटका अनुसार यो जानकारी उनलाई जासुसी समुदायबाट प्राप्त भएको हो । यद्यपि यस विषयमा उनले कुनै पनि जानकारी भने सार्वजनिक गरेका छैनन् । पछिल्लो समय कोरोना भाइरसको महामारीको विषयलाई लिएर अमेरिका र चीनको बीचमा आरोप प्रत्यारोप चलिरहेको समयमा अमेरिकाको सत्तारुढ पार्टीका नेताको तर्फबाट यस्तो बयान आएको हो ।

रिक स्कट राष्ट्रपति डोनाल्ड ट्रम्पका कट्टर समर्थक मानिन्छन् । उनले चीन कि त अहिले अमेरिकामा निर्माणको क्रममा रहेको खोपलाई नोक्सान पुर्‍याउने कि त्यसलाई सुस्त बनाउने प्रयासमा लागेको उनको आरोप छ । उनले कोरोना भाइरसको खोप सबैभन्दा पहिला अमेरिका वा बेलायतले नै बनाउने दाबी गरे ।

यसैबीच चीनले कोरोना भाइरसको विवरण लुकाएको आरोपको खण्डन गरेको छ । एक प्रतिवेदन जारी गर्दै चीनले अमेरिकालाई समयमा नै कोरोना भाइरसको विषयमा जानकारी उपलब्ध गराएको बताएको छ । प्रतिवेदनअनुसार चीनले जनवरी ४ मा अमेरिकालाई कोरोना भाइरसबारे जानकारी गराएको थियो ।

स्रोत : बीबीसी 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment