Comments Add Comment

अष्ट्रेलियामा अध्ययन गरिरहेका आफ्ना विद्यार्थीलाई चीनले गरायो सचेत

२८ जेठ, काठमाडौं । चीनले अष्ट्रेलियामा अध्ययन गरिरहेका आफ्ना विद्यार्थीहरुलाई सतर्क रहन भनेको छ । चीनले अष्ट्रेलियामा रहेको आफ्ना विद्यार्थीहरुलाई कोरोना भाइरस (कोभिड-१९) र एसियाली मानिसमाथिको भेदभावपूर्ण आक्रमण हुन सक्ने भन्दै सचेत गराएको हो ।

मंगलबार एक विज्ञप्तिमार्फत चीनले विद्यार्थीहरुलाई अष्ट्रेलिया जाँदा वा अष्ट्रेलिया फर्किँदा सावधान हुनुपर्ने बताएको हो । अष्ट्रेलियाका विश्वविद्यालयहरु जुलाईबाट खुल्न गइरहेको अवस्थामा चीनको शिक्षा मन्त्रालयले परामर्श जारी गर्दै यस्तो चेतावनी दिएको हो ।

चीनले सार्वजनिक गरेको विज्ञप्तिमा अहिले अष्ट्रेलियामा प्रभावकारी रुपमा कोरोना भाइरस नियन्त्रणमा नआएको र अन्तर्राष्ट्रिय भ्रमण र कलेजहरु खोल्दा अष्ट्रेलियामा जोखिम उत्पन्न हुने उल्लेख गरिएको छ । साथै कोरोना भाइरसको महामारीको समयमा अष्ट्रेलियामा एसियाका मानिसहरुमाथि नश्लभेदी आक्रमणका धेरै घटनाहरु पनि भइरहेको चीनले उल्लेख गरेको छ ।

यद्यपि अष्ट्रेलियाको सरकार र विश्वविद्यालयहरुले भने अष्ट्रेलिया सुरक्षित नभएको भन्ने चीनको बुझाइ गलत रहेको बताएका छन् । अष्ट्रेलियाका शिक्षामन्त्री डान तेहानले यसको जवाफमा अष्ट्रेलिया अहिलेको अवस्थामा विश्वको सबैभन्दा सुरक्षित मुलुक रहेको दाबी गरेका छन् । पछिल्लो समय चीन र अष्ट्रेलियाको बीचमा बढेको राजनीतिक तनावको अवस्थामा चीनको तर्फबाट यस्तो भनाइ आएको हो ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment