
३२ जेठ, जनकपुरधाम । धनुषामा एक जनाको गोली हानी हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सबैला नगरपालिका–७ स्थित लबटोली निवासी अरुण मण्डललाई गोली हानी हत्या गरेको आरोपमा लबटोलीकै श्रवण मण्डललाई प्रहरीले पक्राउ गरेको हो । मण्डललाई महोत्तरीको जलेश्वर नगरपालिका–३ स्थित भिठामोडबाट आइतबार पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक बरुणबहादुर सिंहको नेतृत्वमा खटिएको विशेष टोलीले उनलाई पक्राउ गरेको प्रदेश प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।
प्रहरीका अनुसार १९ वर्षीय श्रवणले २५ बर्षीय अजयमाथि गत जेठ २८ गते राति गोली प्रहार गरी हत्या गरेका थिए ।
डीआईजी सिंहका अनुसार घट्नाका मुख्य अभियुक्त नै श्रवण हुन् । यो घट्नामा संलग्न थप चार जनाको खोजी भइरहेको उनले बताए ।
गाँजा पिउने क्रममा गोली प्रहार
श्रवण, अरुणसहितका युवाहरु घर नजिकैको पोखरीमा गाँजा पिउन बाहिरिएका थिए । गाँजा पिउँदै कुराकानी गरिरहेको अवस्थामा एकआपसमा सामान्य विवाद भएको थियो । त्यही विवादका क्रममा श्रवणले अरुणमाथि गोली प्रहार गरेका थिए ।
श्रवणले सामान्य विवादकै क्रममा अरुणमाथि गोली चलाएको स्वीकार गरेको डीआइजी सिंहले बताए । उनले घटनाको बिषयमा थप अनुसन्धान भइरहेको बताए ।
प्रतिक्रिया 4