Comments Add Comment

दाङमा रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएका १७ जनामा कोरोना संक्रमण पुष्टि

१ असार, काठमाडौं । दाङमा पीसीआर परीक्षणको रिपोर्ट नआउँदै क्वारेन्टिनबाट घर पठाइएका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दाङको घोराहीस्थित दुई क्वारेन्टिनमा बसेका १७ जनामा संक्रमण पुष्टि भएको छ ।

घोराही उपमहानगरपालिका–१७ स्थित चौघेरा क्वारेन्टिनमा बसेका १३ र आधारभूत विद्यायलय क्वाडीमा बसेका ४ जनामा घर गइसकेपछि संक्रमण पुष्टि भएको हो । उनीहरु सबै जेठ पहिलो साता भारतबाट आएका थिए ।

नगर प्रमुख नरूलाल चौधरीले अनलाइनखबरसँग भने, ‘क्वारेन्टिनमा बसेका उनीहरूको जेठ २१ गते पीसीआर परीक्षणका लागि स्वाब संकलन गरिएको थियो । रिपोर्ट आउन ढिला भएपछि होम क्वारेन्टिनमा सुरक्षित बस्ने गरी जान पाउनुपर्ने माग उहाँहरुले राख्नुभयो । रिपोर्ट पोजेटिभ आएमा सम्पर्कमा आउने र घरबाहिर हिँडड्डुल नगर्ने शर्तमा हामीले उहाँहरूलाई जेठ २८ गते घर जान दिइएको थियौं ।’

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा आइतबार संक्रमण पुष्टि भएको जानकारी पाए लगत्तै उहाँहरुलाई खोजेर आइसोलेसनमा राख्ने काम भइसकेको उनले बताए ।

स्वास्थ्य मन्त्रालयको परिपत्र अनुसार २२ दिनसम्म क्वारेन्टिनमा बसेका र कुनै लक्षण नदेखिएका व्यक्तिलाई घरमै सुरक्षित रुपमा बस्ने गरी पठाउन सकिने सर्कुलर भएपछि उनीहरुले पनि सोही अनुसार घर जान पाउनु पर्ने दबाव सिर्जना गरेको उनको भनाइ छ ।

‘एक साता बित्दा पनि रिपोर्ट नआएको र उनीहरुमा कुनै लक्षण नदेखिएपछि आपसी छलफलकै आधारमा उहाँहरुलाई घरमा सुरक्षित बस्ने गरी पठाएका हौं,’ उनले भने, ‘हामीले जबरजस्ती घर पठाएका होइनौं । घर गएपछि बाहिर हिंड्डुल गर्ने लगायतका काम गरेको रहेछ भने त्यसबारे बुझ्ने काम भइरहेको छ ।’

यसैबीच जनप्रतिनिधिको लापरबाहीले रिपोर्ट नआउँदै क्वारेन्टिनमा बसेकाहरुलाई घर पठाएको भन्दै स्थानीयले बिरोध गरेका छन् ।

वडा कार्यालयमा भेला भएर स्थानीयले संक्रमणको जोखिमलाई मध्यनजर गरेर काम गर्न जनप्रतिनिधिको ध्यानाकर्षण गराएको नगरप्रमुख चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment