Comments Add Comment

खेलकुदमा कुन प्रदेशको बजेट कति ?

प्रदेश २ को प्राथमिकतामा परेन खेलकुद

२ असार, काठमाडौं । नेपाल सरकारले बजेट सार्वजनिक गरेको दुई हप्तापछि सबै प्रदेशले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट सार्वजनिक गरेका छन् । सोमबार सातवटै प्रदेशले बजेट सार्वजनिक गरे

सबै प्रदेशले खेलकुद क्षेत्रमा पनि बजेट विनियोजन गरेका छन् । आफ्नो प्रदेश अनुकूल त्यहाँ हुन सक्ने खेलकुद प्रतियोगिता र त्यहाँ बन्ने पूर्वाधारलाई ध्यानमा राख्दै प्रदेशले बजेट विनियोजन गरेका छन् ।

सबैले खेल पूर्वाधारलाई नै जोड दिएका छन् । सात प्रदेशमध्ये वाग्मती प्रदेशले अन्य प्रदेशभन्दा धेरै बजेट खेलकुदमा छुट्याएको छ । वाग्मती प्रदेशले झण्डै ८० करोड बजेट खेलकुदलाई छुट्याएको छ । यस्तै २०७७ साल फागुनमा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने तय भएको गण्डकी प्रदेशले १० करोड मात्र विनियोजन गरेको छ ।

प्रदेश १ ले ३० करोड खेलकुदमा विनियोजन गरेको छ । प्रदेश २ ले भने खेलकुदलाई बजेटमा कम स्थान दिएको छ । खेलकुदबारे जम्मा दुई लाइन मात्र राखेको प्रदेश २ ले विनियोजित रकमबारे बजेट वक्तव्यमा केही उल्लेख गरेको छैन ।

आर्थिक वर्ष २०७७/७८ का लागि प्रदेश सरकारहरूले खेलकुदका लागि विनियोजन गरेको बजेट यस्तो छ-

प्रदेश १

प्रदेश एक सरकारले खेलकुद क्षेत्रको विकासका लागि ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

प्रादेशिक एवं जिल्ला र स्थानीय तहसम्म खेलकुदका आवश्यक पूर्वाधारको स्तरोन्नति तथा निर्माण कार्यलाई जोड दिएको छ । जसमा धरानमा खेलकुदग्राम निर्माण गर्ने उल्लेख छ । खेलकुद क्षेत्रको विकासलाई प्राथमिकता दिँदै खेलकुद निर्माणाधीन पूर्वाधारको विकास र विस्तारका लागि ३० करोड बजेट छुट्याएको बताएको छ।

यसका साथै प्रदेश खेलकुद बोर्डको आवश्यक संरचना निर्माण गरिनेछ, प्रदेशस्तरीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरू सञ्चालन गरिने बताएको छ । विराटनगरमा शहीद मैदानमा फल्डलाइट निर्माण कार्य यसै वर्ष सम्पन्न गरिने उल्लेख छ ।

प्रदेश २

खेलकुदमैत्री पूर्वाधारहरूको विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गरी समग्र खेलकुद क्षेत्रको विकास गरिने छ ।

वाग्मती प्रदेश

वाग्‍मती प्रदेश सरकारले खेलकुदका लागि झण्डै ८० करोड रुपैयाँ छुट्याएको छ । वाग्‍मती प्रदेश सरकारले विकास, गतिशीलता र स्वास्थ्यका लागि खेलकुद भन्ने सोचका साथ खेलकुद पूर्वाधारमा योजनावद्ध दिगो विकासका लागि सञ्चालन भएका बहुवर्षीय तथा क्रमागत आयोजनाहरूको निरन्तरता एवं स्थानीय तहमा खेल मैदान निर्माण गर्ने काम र खेलाडीहरूको क्षमता विकास, स्थानीय खेल प्रवर्द्धन, प्रदेशस्तरीय खेलकुद प्रतियोगिता एवं राष्ट्रिय प्रतियोगितामा सहभागिताको व्यवस्था मिलाएको बजेटमा उल्लेख गरेको छ । जसमा खेलकुद विकासको क्षेत्रमा ७९ करोड १३ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

गण्डकी प्रदेश

गण्डकी प्रदेश सरकारले विभिन्न खेलकुदको पूर्वाधार विकासमा बजेट विनियोजन गरेको छ । साथै नवौं राष्ट्रिय खेलकुदलाई पनि बजेट विनियोजन गरेको छ ।

प्रदेशको समग्र खेलकुद विकासको निम्ति खेलकुद कानुन नीति कानुनी संरचना र पूर्वाधार निर्माणमा जोड दिइएको छ । प्रदेश स्तरीय बहुउद्देश्यीय रंगशाला, क्रिकेट रंगशाला, गल्फ कोर्ष, स्की उच्च उचाइ खेलकुद तालिम केन्द्र जिल्लास्तरीय रंगशाला तथा एक स्थानीय तह एक खेल मैदानका लागि ८ करोड ४५ लाख विनियोजन गरेको छ ।

यस्तै, अन्तर्राष्ट्रिय र राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना र खेलाडीलाई प्रोत्साहन गर्न तथा समग्र खेलकुद विकासका लागि रकम छुट्टाइएको छ । यससँगै मुख्यमन्त्री कप फुटबल प्रतियोगितालाई समेत प्रदेश सरकारले निरन्तरता दिने भएको छ ।

पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको व्यवस्थापन तथा खेलाडीलाई प्रशिक्षण प्रदान गर्न एक करोड ५० लाख विनियोजन गरिएको छ ।

प्रदेश सरकारको तर्फबाट विजयी खेलाडीलाई पुरस्कृत गर्ने व्यवस्था मिलाएको उल्लेख छ ।

प्रदेश ५

प्रदेश नम्बर ५ सरकारले खेलकुदका लागि कुल १२ करोड ५० लाख विनियोजन गरेको छ । खेलकुदलाई निरोधात्मक स्वास्थ्य र उद्यमको रुपमा विकास गर्ने भन्दै खेलकुद पूर्वाधारको लागि बजेट छुट्याइएको छ ।

मुख्यमन्त्री रनिङ सिल्डलगायत खेलकुद कार्यक्रमहरू सञ्चालन गर्न तथा निर्माणाधीन दुई रंगशालाका लागि उक्त बजेट विनियोजन गरिएको उल्लेख छ।

दुई रंगशालालाई प्राथमिकतामा राख्दै नयाँ आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको छ। निर्माणाधीन नेत्रलाल अभागी रंगशाला र उजीरसिंह रंगशालालाई साफस्तरको रंगशालाका रुपमा निर्माण गर्ने भएको छ ।

यस्तै, रुकुमपूर्वमा उच्च हिमाली खेल संरचना निर्माण गरी पर्यटन प्रवर्द्धनको सम्भाव्यता अध्ययन गर्न समेत बजेट विनियोजन गरिएको छ ।

कर्णाली प्रदेश

राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको तयारी एवं खेलाडीहरुको प्रशिक्षणका लागि वीरेन्द्रनगरमा नेपाल सरकारसँगको समन्वय र सहकार्यमा प्रादेशिक रंगशाला निर्माणको काम अगाडि बढाउने उल्लेख छ ।

साथै जिल्लामा रंगशाला कभर्डहल र खेलमैदानका कार्यक्रमहरु अगाडि बढाउने, खेल क्षेत्रको स्तरोन्नती र खेलाडीको वृत्ति विकास लगायतका कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । युवा परिचालन र खेलकुद विकासका लागि १५ करोड ६० लाख विनियोजन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशले खेलकुद पूर्वाधार, खेलकुद प्रतियोगिता, युवा उद्यमलाई समेटेर कुल क्षेत्रका लागि विभिन्न शीर्षकमा करिब १२ करोड बजेट विनियोजन गरेको छ ।

खेलकुदको माध्यमबाट प्रदेशमा स्वस्थ र अनुशासित तथा युवा जनशक्ति उत्पादन गर्न प्रदेश सभाका हरेक निर्वाचन क्षेत्रमा एक खेलकुद मैदान निर्माण एवं स्तरोन्नति गर्न ६ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ ।

यस्तै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन गर्न सक्ने अत्याधुनिक एवं सुविधासम्पन्न रंगशाला निर्माणका लागि महेन्द्रनगर तथा धनगढी रंगशाला स्तरोन्नति र संरचना सुधारका लागि एक करोड २० लाख रुपैयाँ विनियोजन गरेको छ ।

मुख्यमन्त्री खेलकुद तथा अन्य खेलकुद प्रतियोगिताका साथै खेल क्षेत्रको समग्र विकास र खेलप्रति आकर्षण बढाउनका लागि एक करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ । खेलाडीको वृत्ति विकास तथा सम्मानका लागि प्रदेश स्तरमा खेलाडी कल्याणकारी कोष सञ्चालन गर्न बजेट विनियोजन गरिएको छ ।

यस्तै, युवा उद्यम कार्यक्रमका लागि १ करोड ६० लाख विनियोजन गरिएको छ ।

प्रदेश खेलकुद परिषद तथा जिल्ला खेलकुद विकास समिति सञ्चालनका साथै प्रदेश गौरवको रुपमा रहेको फाप्ला क्रिकेट मैदानको डीपीआर निर्माणको लागि प्रारम्भिक अध्ययन समेतका लागि १ करोड २५ लाख रकम विनियोजन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment