
३ असार, काठमाडौं । लम्बिँदो लकडाउनबाट आजित भएर सरकारले बन्द नै राख्ने निर्णय गरे पनि सपिङ मलहरु भने एकतर्फी रुपमा निर्णय गरी सञ्चालनमै छन् ।
सपिङ मलका व्यवसायीहरुले एकतर्फी निर्णय गरी असार एक गतेदेखि व्यवसाय सञ्चालनमा ल्याउने घोषणा गरेका थिए । संघीय सरकारको निर्णय विपरीत सपिङ मल व्यवसायीहरुले गरेको निर्णयलाई स्थानीय सरकारले साथ दिएका छन् ।
काठमाडौं महानगरपालिकाका वडा नम्बर २२ का अध्यक्ष चिनकाजी महर्जनसमेतको बैठक बसी १ असारदेखि खुला गर्न दिने लिखित निर्णय नै भएको थियो । यसअघि काठमाडौंका १२ वटा सपिङ मलहरुले व्यवसाय खुलाउने एकतर्फी निर्णय गरेका थिए । उनीहरुको निर्णयमा वडाध्यक्षहरुले पनि सहमति जनाएका हुन् ।
वडाध्यक्ष महर्जनले स्थानीय सरकार, स्थानीय सामाजिक संघसंस्था र व्यापारीहरुबीच भएको छलफल पछि समय तोकेर व्यवसायहरु सञ्चालन गर्न दिने निर्णय भएको जानकारी दिए ।
अन्य ठाउँमा भन्दा मलहरुमा अझ कडा सुरक्षा हुने र संक्रमणको जोखिम कम हुने भएकाले खुला गर्नु पर्ने उनको भनाइ छ ।
सीडीओको दावी– सपिङ मलहरु खुलेकै छैनन्
सपिङ मलहरु बन्द नै राख्ने संघीय सरकारको निर्णय रहेको र हालसम्म बन्द नै रहेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल बताउँछन् ।
सपिङ मल खोलन अरु कसैले अनुमति दिएको बारेमा भने आफूलाई जानकारी नभएको उनले बताए ।
सरकारको निर्देशन कार्यान्वयन गराउनु आफ्नो कर्तव्य भएको बताउँदै उनले जसरी भए पनि निर्णय कार्यान्वयन गराउने बताए । ‘वडाध्यक्षले सहमति नै दिनु भएको रहेछ नि ?’ भन्ने प्रश्नमा उनले भने, ‘उहाँहरुले कसरी खुलाउनु भयो मलाई थाहा छैन, सरकारले निर्णय गरेको छैन, सपिङ मलहरु बन्द नै हुन्छन् ।’
प्रतिक्रिया 4