Comments Add Comment

छाङरु पुगेर फर्किए प्रधानसेनापति र सशस्त्रका आईजीपी

३ असार, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापा र सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल कालापानी नजिकै रहेको छाङरुमा पुगेर फर्किएका छन् ।

छाङरुमा स्थापना गरिएको बोर्डर आउट पोष्ट (बीओपी) निरीक्षण गरेर थापा र खनाल धनगढी फर्किएका हुन् । नेपाली सेनाको हेलिकप्टरबाट दुवै जना बुधबार त्यहाँ गएका थिए ।

छाङरुमा रहेको सशस्त्र प्रहरीको फौजबाट दुई सुरक्षा निकायका प्रमुखले व्रिफिङ लिएका छन् । साथै, आवश्यक निर्देशन पनि दिएका छन् ।

नेपाली सेनाले छाङरुदेखि तिंकर भन्ज्याङसम्म ८७ किलोमिटर सडक बनाउँदैछ । त्यसअघि सर्वसाधारणका लागि छाङरुसम्म पुग्ने बाटो बनाउन घाँटी बगर क्षेत्रमा ट्याक खोल्ने काम भइरहेको छ । यो कार्यका लागि नेपाली सेनाको फौज परिचालित भएको छ ।

त्यहाँ पनि दुवै सुरक्षा अंगको प्रमुखले निरीक्षण गरेका छन् । उनीहरु बिहीबार काठमाडौं फर्किने कार्यक्रम रहेको दार्चुलास्थित सशस्त्र प्रहरीको ५० नम्बर गुल्मका डीएसपी डम्बरबहादुर विष्टले अनलाइनखबरलाई बताए ।

प्रधानसेनापति थापा नयाँ बनेको पृतनाको निरीक्षणका लागि धनगढी गएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डे बताउँछन् । उनले अनलाइनखबरसँग भने, ‘त्यसक्रममा मातहतका इकाइको पनि निरीक्षण गर्नु नियमित कुरा हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment