Comments Add Comment

निर्णय भएको एक महिनापछि पोखरामा बन्यो महिलामैत्री क्वारेन्टिन

६ सय जना सुत्केरीले पाए पौष्टिक आहार, अब वितरण नगरिने

महिला क्वारेन्टिन अनुगमन गर्दै पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङलगायत ।

४ असार, पोखरा । महिलाका लागि छुट्टै क्वारेन्टिन बनाउने निर्णय गरेको एक महिनापछि पोखरा महानगरले ‘महिलामैत्री क्वारेन्टिन’ निर्माण गरेको छ । पोखरा ३ स्थित बुद्ध अस्पताललाई महिलाहरु मात्र बस्न मिल्ने गरी महानगरले क्वारेन्टिन बनाएको हो । क्वारेन्टिनमा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी सबै महिला नै खटिने छन् ।

जेठको पहिलो हप्ता पोखरा महानगरले महिलाका लागि छुट्टै क्वारेन्टिन बनाउने निर्णय गरेको थियो । महिलाको सहजता र सुरक्षालाई ध्यान राख्दै कोरोना रोकथाम मूल समितिले उक्त निर्णय गरेको थियो ।

तर, निर्णय भएको करिब १ महिनासम्म पनि महिला क्वारेन्टिन कहाँ बनाउने भन्नेबारे अन्योल नै रह्यो । सुरुमा महानगरले पोखरा १७ मा महिलाका लागि छुट्टै क्वारेन्टिन बनाउने योजना बनाएको थियो । तर, वडा जनप्रतिनिधि र स्थानीयको विरोधपछि त्यहाँ महिला क्वारेन्टिन बनाउनबाट महानगर पछि हट्यो ।

‘१७ नम्बर वडामा महिला क्वारेन्टिन बनाउनका लागि उत्तम थियो । तर, त्यहाँका स्थानीयले क्वारेन्टिनमात्र बनाउन पनि अवरोध सिर्जना गरेपछि पछि हट्यौं,’ पोखरा महानगरका एक कर्मचारीले अनलाइनखबरसँग भने, ‘त्यसपछि अन्तै ठाउँ खोज्दा ढिलाइ हुन पुग्यो ।’

अहिले महिला क्वारेन्टिन बनेको बुद्ध अस्पतालमा पनि सुरुमा स्थानीयको विरोध आएको थियो । त्यहाँ महिला क्वारेन्टिन बनाउन नदिने पक्षमा स्थानीय थिए । तर, पछि महानगर उपप्रमुख, वडाध्यक्षलगायतले पहल गरेपछि मात्रै त्यहाँ क्वारेन्टिन बनाउन सहमति भएको हो ।

५० सिट क्षमताको उक्त अस्पतालको बुधबार कोरोना रोकथाम मूल समिति संयोजक तथा पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङ लगायतको टोलीले निरीक्षण गरेको छ । उपप्रमुख गुरुङले तत्काललाई २० बेड क्षमताको महिला क्वारेन्टिन बनाउन निर्देशन दिएकी छिन् ।

‘क्वारेन्टिन व्यवस्थापन सोचेको भन्दा गाह्रो हुने रहेछ । व्यवस्थापन नहुँदा शौचालयदेखि सुत्नसमेत समस्या हुने रहेछ,’ उममेयर गुरुङले भनिन्, ‘महिला–पुरुष सँगै राख्दा हिंसा, बलात्कार लगायत घटना हुन थाल्यो । त्यसैले छुट्टै बनाउने निर्णय गरेका हौं ।’

परिवारसहित आउने महिलाको हकमा भने जुनसुकै क्वारेन्टिनमा पनि राख्न सकिने महानगरको भनाइ छ । ‘महिलाका लागि छुट्टै क्वारेन्टिन बनाउने भनेकै उनीहरुको सुरक्षा र सहजतालाई ध्यान दिएर हो । व्यक्तिगत रुपमा आउनेलाई मात्रै महिला क्वारेन्टिनमा राखिने छ,’ उपमेयर गुरुङले भनिन् । बिहीबार साँझसम्म क्वारेन्टिनमा भारतबाट ८ जना महिला आउने महानगरले जनाएको छ ।

६ सय जना सुत्केरीले पाए पौष्टिक आहार

पोखरा महानगरले लकडाउन अवधिमा ६ सय ८० जना सुत्केरीलाई पौष्टिक आहार वितरण गरेको छ । सुत्केरी महिलालाई लकडाउनमा सहयोग गर्ने उद्देश्यले महानगरले एक किलो घिउ, एक किलो हरलिक्स, एक लिटर तेल, एउटा साबुन र नगद ५ सय रुपैयाँ उपलब्ध गराउँदै आएको थियो ।

चैत १० देखि जेठ ३२ गतेसम्म सुत्केरी भएका महिलाहरुलाई ‘सुुत्केरी राहत’ दिइएको र अब भने उक्त राहत कार्यक्रम बन्द गरिएको पोखरा महानगर उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिइन् । ‘लकडाउन अवधिमा सुत्केरी महिलाको स्वास्थ्यमा समस्या नआओस्, पौष्टिक तत्व कमी नहोस् भनेर महानगरबाट सहयोग गरेका थियौं । लकडाउन खुकुलो भएसँगै राहत वितरण बन्द गरेका छौं,’ उनले भनिन् ।

सुत्केरी राहतमा १३ लाख ६० हजार रुपैयाँ खर्च भएको महानगर भण्डारण शाखाका रेवती भण्डारीले जानकारी दिए । उनले जेठ ३२ सम्म नाम टिपाएका केही सुत्केरीलाई भने राहत दिन बाँकी नै रहेको र चाँडै वितरण गरिने सुनाए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment