
४ असार, कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका-९ खल्लामा विद्युत् विस्तारका क्रममा एक मजदुरको मृत्यु भएको छ ।
नगरपालिका-१० सुकासालका २५ वर्षीय रोहित लुहारको बुधबार विद्युत्को पोल(खम्बा) बाट खसेर मृत्यु भएको हो । मृतक रोहितको शवलाई महाकाली अस्पतालमा राखिएको छ ।
विद्युत्का तार जडानका लागि खम्बामा चढेको अवस्थामा अचानक लुहार खसेको बताइएको छ । नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगरले ब्रह्मदेवदेखि खल्लासम्म विद्युत् लाइन विस्तार गर्न लागेको छ ।
यो क्षेत्रमा पहिलोपटक विद्युत् लाइन विस्तार गरिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले घटनाबारे अनुसन्धान भई रहेको बताए ।
‘खम्बाबाट खसेर मृत्यु भएको हो । शव अस्पतालमा राखिएको छ । घर परिवारलाई जानकारी दिइएको छ’, उनले भने, ‘के कसरी भएको हो, त्यसको अनुसन्धान गर्दैछौँ ।’ लुहारका श्रीमती र एक छोरी छन् ।
लुहारका आफन्त मदनसिंह सेरालाले घटनाको सत्य तथ्य जाँच गरी लुहार परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग गरे ।
खल्ला जिल्लाकै दुर्गम ठाउँ भएकाले बुधबारमात्रै घटनाबारे जानकारी हुन सकेको हो ।
प्रतिक्रिया 4