Comments Add Comment

लद्दाख लडाइँमा नेपालको प्रतिक्रिया– हामी छिमेकीबीच शान्ति र तनावरहित सम्बन्ध चाहन्छौं

५ असार, काठमाडौ । चीन र भारतबीच लद्दाखमा भैरहेको तनाब र सैनिकहरु मारिएको घटनामा विश्वका विभिन्न देशले प्रतिक्रिया दिइरहेका बेला दुई देशको बीचमा अवस्थित सानो मुलुक नेपालको प्रतिक्रिया के होला ?

दुवै देशका मिडियाले नेपाललाई चासोका साथ आ–आफ्नो ढंगले प्रभावित पार्न खोजिरहेको बेला हामीले नेपाल सरकारको धारणा बुझ्न खोज्यौं । चीन र भारतबीच यसअघि दोक्लाम विवादको बेला समेत औपचारिक प्रतिक्रिया नदिएको नेपालले लद्दाख प्रकरणमा पनि सोही नीति अख्तियार गर्ने देखिएको छ ।

दुवै छिमेकीसँग समानतामा आधारित असल सम्बन्ध राख्ने र कुनै एकको पक्षमा नउभिने नेपालको नीति हुनुपर्नेमा सरकार दृढ छ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले छिमेकीबीच शान्ति कायम होस् र तनाव कम होस् भन्ने पक्षमा नेपाल रहेको बताए । अनलाइनखबरसँग कुरा गर्दै मन्त्री ज्ञवालीले भने, ‘हामी हाम्रा छिमेकीबीच असल सम्बन्धको पक्षमा छौं । उहाहरुबीच तनाव कम होस् र शान्ति कायम होस् भन्ने हाम्रो मान्यता स्पष्ट छ ।’

पछिल्लो समय नक्सा प्रकाशन र संविधान संशोधनबाट त्यसलाई आधिकारिक मान्यता दिइएपछि नेपाल र भारतबीच संवाद छैन । चीन भने उच्चस्तरमै संवादमा छ । बिहीबार मात्र परराष्ट्रमन्त्री ज्ञवाली कोभिड र बीआरई सम्बन्धी चीनले आयोजना गरेको भर्चुअल ग्लोबल सम्मेलनमा सहभागी भएका थिए ।

आज दुवै देशका सत्तारुढ कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू संयुक्त कार्यशालामा छलफलका लागि सहभागी हुँदैछन् । नेपालले केही दिन अघिमात्र हङकङ मामिलामा चीनले अघि सारेको प्रशासनिक कदमको समर्थन गर्दै वक्तव्य जारी गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment