Comments Add Comment

मानसिक तनाव नियन्त्रणका लागि यौगिक मुद्रा

पञ्चतन्त्र र पञ्च यौगिक अंग मिलेर बनेको शरीरलाई बलियो, लचकदार, निरोगी एवम् स्वस्थ बनाउन सूक्ष्म व्यायाम, मुद्रा, एवम् योगासनको आवश्यकता पर्दछ । योगादी क्रियाबाट मानव स्वास्थ्य दीर्घकालीन रुपमा स्वस्थ एवम् फूर्तिलो हुने गर्दछ । यसका लागि योगादिका कार्यका साथै प्राकृतिक भोजनमा पनि ध्यान दिनु अनिवार्य देखिन्छ ।

हामी धेरैजसोले गर्ने योगादि क्रियामा सीधै योगासन गरेको देखिन्छ । तर, यो जटिल हुन जान्छ । योगासन गर्नुपूर्व हामीले केही सूक्ष्म क्रियाहरु गर्नुपर्ने हुन्छ ।सूक्ष्म क्रिया एवम् सूक्ष्म व्यायामले शरीरका मांसपेशी एवम् जोर्नीहरुलाई खुलाउने कार्य गर्दछन् र योगासन गर्नका लागि सहजता प्रदान गर्दछ ।

जसरी हामी खान खानुअघि हात धुन्छौं, त्यसरी नै योगासन गर्नुपूर्व सूक्ष्म क्रिया एवम् व्यायाम गर्नु जरुरी देखिन्छ । सूक्ष्म व्यायामले शरीरलाई खोल्नुका साथै योगासन गर्नका निम्ति शरीरलाई तताउने र शरीरमा लचकता ल्याउने गर्दछ ।

त्यस्तै हातबाट उत्सर्जित हुने प्राणलाई पुनः शरीरमा फिर्ता ल्याउने कार्य हस्तमुद्राले गर्दछ । पञ्चतत्वले बनेको शरीरमा पञ्चतत्व तलमाथि हुन गयो भने हाम्रो शरीरमा रोगले आक्रमण गर्दछ । यी पञ्चतत्वलाई नियन्त्रित अवस्थामा राख्न पनि विभिन्न मुद्राको उपयोग गर्न सकिन्छ । हाम्रो हातमा रहेका पाँच औंलामा पन्चतत्वहरु रहेका छन् ।

  • बुढी औंला – अग्नि तत्व,
  • चोरी औंला – वायु तत्व,
  • माझी औंला – आकाश तत्व,
  • साइली औंला – पृथ्वी तत्व ,
  • कान्छी औंला – जल तत्व ।

हस्त मुद्रा गर्नाले यी पन्चतत्वमा सन्तुलन आउने गर्दछ र मानिस स्वस्थ हुन्छ । आजको अवस्थामा मानिस शारीरिक एवम् मानसिकरुपमा स्वस्थ हुनु अनिवार्य देखिन्छ । यसका लागि पनि विभिन्न मुद्राहरुको उपयोग गर्न सकिन्छ ।

स्वस्थ रहनका लागि गरिने मुद्राहरु :

क) ज्ञानमुद्रा : हामीले ध्यान गर्दा ज्ञान मुद्राको प्रयोग गर्न सक्छौ । ज्ञानले प्राणीहरुमा सजिव र निर्जीवको पहिचानसम्बन्धि चेतना प्रदान गर्दछ । ज्ञानमुद्रा गर्दा ४८ मिनेट सम्म गर्दा धेरै राम्रो मानिन्छ । ध्यान गर्दा वा ध्यानात्मक आसनमा बसेको बेला ज्ञानमुद्राको प्रयोग गर्नु राम्रो मानिन्छ । खुट्टाका बिरामीहरुले कुर्सीमा बसेर पनि यसको प्रयोग गर्न सक्दछन् । यसबाट शरीर फुर्तिलो हुनुका साथै मस्तिष्कको स्नायु प्रणाली सक्तिशाली बन्ने गर्दछ । त्यस्तै यस मुद्राले स्मरण शक्तिको विकास हुनुका साथै अशान्त रहेको मनलाई शान्त पर्ने कार्य गर्दछ ।

पञ्चतत्वले बनेको यो मानव चोला हामीले सुरक्षित एवम् स्वस्थ राख्नु पर्दछ । हामीले हाम्रो शरीरलाई कस्तो बनाउने भन्ने कुरा हाम्रो खानपान, शारीरिक व्यायाम आदिमा निर्भर रहन्छ

ख) वायुमुद्रा : हामी खाना नखाएर पनि केही दिन बाँच्न सक्छौं, त्यस्तै पनि नभए पनि केही दिन बाँच्न सकिन्छ तर हावाविना १ सेकेन्ड पनि बाँच्न निकै गाह्रो पर्दछ । हाम्रो शरीर नै यस्तो प्राणमा अल्झिरहेको छ जसले हाम्रो शरीर जीवित छ भनेर चिनाइएको हुन्छ । हाम्रो शरीरमा भएका ८४ प्रकारका वायुमध्ये कुनै पनि विकृति आउने वित्तिकै हाम्रो शरीरमा रोगले आक्रमण गर्ने गर्दछ । यसबाट प्रकम्पन वायु, गाँठा, साइटिका, वायुशूल आदि रोगको निराकरण हुनुका साथै शरीरमा वायुले हुने दुखाइ पनि कम गर्न सकिन्छ । त्यस्तै गर्धनमा हुने दुखाइमा कम हुनुका साथै मनको चंचलता पनि कम हुने गर्दछ ।

ग) आकाश मुद्रा : यो मुद्रा गर्दा बुढी औंलाको अघिल्लो भाग माझी औंलाको अग्र भागसँग मिलाउनु पर्दछ । यसमा माझी औंला र हृदयको परस्पर सम्बन्ध रहन्छ । यो मुद्रा कुनै पनि आसनमा बसेर पनि गर्न सकिन्छ । तर, विशेष गरी बज्रासनमा यसको प्रयोगलाई राम्रो मानिन्छ । यो मुद्रा गर्दा १ पटकमा १६ मिनेट भन्दा धेरै गर्नु हुँदैन । यस मुद्राबाट कान सुन्ने क्षमता बढ्नुका साथै मन शान्त हुने गर्दछ । यो मुद्रा हिँड्ने बेलामा एवम् भोजन गर्ने बेला गर्नु हुँदैन ।

घ) पृथ्वी मुद्रा : शरीर निर्माणका पञ्चत्त्वमध्ये पृथ्वी पनि एक हो । पृथ्वीमा सहने क्षमता धेरै हुन्छ । पृथ्वी मुद्राको अभ्यास गर्दा हामीमा पनि सहन गर्न सक्ने क्षमताको विकास हुन्छ । शरीरलाई स्वस्थ र सन्तुलित बनाउनका लागि पृथ्वी तत्वको विकास गर्न पनि हामीले पृथ्वी मुद्रा गर्नु अनिवार्य र उपयोगी देखिन्छ ।यसले गर्दा शरीर हलुका फुर्तिलो हुनुका साथै हामीमा सहन गर्ने क्षमता विकास हुने गर्दछ ।

ङ) वरुण मुद्रा : वरुणको अर्थ जल भन्ने हुन्छ । जलले शितलता प्रदान गर्ने भएकाले वरुण मुद्राले गर्दा पनि हाम्रो शरीरमा शीतलता एवम् सक्रियता प्रदान गर्दछ । यो मुद्रा रुघाखोकी लागेको समयमा गर्नु हुदैन र कम्तिमा पनि २४ मिनेट जति यो मुद्रा गर्नु पर्दछ । यसबाट शरीरलाई सुख्खापन हुनबाट जोगाउनुका साथै छालामा कोमलता ल्याउने गर्दछ । यो मुद्रा गर्दा छालाका रोगहरु नियन्त्रण गर्नुका साथै बुढ्यौलीपना पनि ढिलो आउने गर्दछ । त्यस्तै शान्त स्वभावको विकास पनि गर्न सकिन्छ ।

च) अपान मुद्रा : हाम्रो यो भौतिक शरीरमा प्राण, अपान, समान, उदान र व्यान गरी ५ प्रकारका प्राणहरु रहेका हुन्छन् । यी ५ प्रकारका वायुले अलग-अलग स्थानमा कार्य गर्दछन् ।

अपानको कार्य मल, मूत्र, वीर्य बाहिर निकाल्नुका साथै सुत्ने, बस्ने, हिंड्ने एवम् गतिमय स्थितिमा पनि सहयोग गर्दछ । अपान मुद्राले अशुचि र शरीरको फोहोरलाई सफा गर्दछ ।

यो मुद्रा गर्दा १६-१६ मिनेट गरेर जम्मा ४८ मिनेट अभ्यास गर्दा आफूमा पूर्ण परिवर्तनको अनुभूति हुने गर्दछ । यो मुद्राले पेटको कब्जियत कम गर्नुका साथै मधुमेहका लागि पनि निकै फाइदा पुग्ने देखिन्छ ।

छ) प्राण मुद्रा : श्वासको साथमा प्राण वायु फोक्सो भित्र जान्छ । प्राण वायुलाई रगतसंग मिलाएर हृदयसम्म पुर्याउछ । कोशीकाहरुमा रहेको ग्लुकोज रगतमा रहेको प्राण वायुसंग मिल्छ र जसबाट ऊर्जा उत्पन्न हुन्छ ।

प्राणले नै शरीर उर्जावान हुन्छ । यो शक्तिशाली मुद्रा हो । यो मुद्रा पद्मासन वा सिद्दासनमा बसेर गर्दा राम्रो मानिन्छ । यो मुद्रापनि सुरुमा १६ मिनुत गरेर जम्मा ४८ मिनेटको पूर्ण प्रयोग हुन्छ । यसबाट सम्पूर्ण शरीरमा शक्ति सन्चार हुनुका साथै आँखाको ज्योति बढाउँछ । यसबाट आत्मबल बढ्नुका साथै एकाग्रताको विकास हुने गर्दछ ।

पञ्चतत्वले बनेको यो मानव चोला हामीले सुरक्षित एवम् स्वस्थ राख्नु पर्दछ । हामीले हाम्रो शरीरलाई कस्तो बनाउने भन्ने कुरा हाम्रो खानपान, शारीरिक व्यायाम आदिमा निर्भर रहन्छ । हामी स्वस्थ रहन दैनिक रुपमा हामीले योगाभ्यास आदि क्रिया गर्नु अनिवार्य देखिन्छ ।

योगासन, ध्यान, प्राणायाम एवम् मुद्राका नियमित अभ्यासहरु गर्नु अनिवार्य देखिन्छ । मुद्राका माध्यमबाट शरीरमा शारीरिक एवम् मानसिक स्वस्थता ल्याउन सकिन्छ ।

हामीले यी विभिन्न मुद्राहरु गर्दा ध्यान दिनुपर्ने पनि हुन्छ । प्रत्यक्षरुपमा हाम्रो शरीरमा पञ्चतत्वको व्यवस्थापन गर्ने कार्य यी मुद्राहरुबाट मात्र सम्भव देखिन्छ ।

(पाण्डेय भाषा तथा योग क्षेत्रमा अनुसन्धाता हुन्)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment