Comments Add Comment

झापामा नागरिक स्तरबाट पीसीआर ल्याब बन्दै

अभियानको बैठक ।

७ असार, झापा । झापाको कनकाई नगरपालिकास्थित कोटिहोममा नागरिकस्तरबाट पीसीआर ल्याब स्थापना हुने भएको छ । एकका लागि एक अभियानमार्फत रकम संकलन गरी कोरोना भाइरस परीक्षण गर्ने पीसीआर ल्याब स्थापना गर्न लागिएको हो ।

कोटिहोममा रहेको समर्पण भवनको दुईवटा कोठामा ल्याब सञ्चालन गर्ने तयारी गरिएको अभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए । आइतबार बिर्तामोडमा बसेको अभियानको बैठकले ल्याब राखिने स्थान तोक्नुका साथै त्यसको व्यवस्थापन र दिगो सञ्चालनका बारेमा छलफल गरेको छ ।

प्राविधिक पक्ष र आर्थिक व्यवस्थापनका बारे पनि छलफल तथा निर्णय भएको छ । यसअघि अभियानले बिर्तामोड, अर्जुनधारा र कनकाई नगरसँग ल्याब सञ्चालनबारे प्रस्ताव पठाएको थियो । उनीहरुको सल्लाहमा कोटिहोममा ल्याब स्थापनाको टुंगो लागेको हो ।

अभियानले १ नम्बर प्रदेश सरकारलाई पीसीआर ल्याब मेसिन तथा अन्य उपकरण हस्तान्तरण गरेपछि नगरले सञ्चालनको जिम्मेवारी पाउने प्राविधान छ ।

यसैबीच, अभियानले मेसिन तथा त्यसका लागि आवश्यक पर्ने फ्रिजलगायतका अन्य सामग्री खरिदको प्रक्रिया अघि बढाइएको सहसंयोजक विनोद बस्नेतले जानकारी दिए । झापाका १५ वटा स्थानीय तह सहमत भए भविष्यमा सो ल्याब भएको भवनलाई सरुवा रोग अस्पतालको रुपमा विकास गर्ने अभियानको योजना छ ।

अभियानले अन्नपूर्ण हस्पिटलका चिकित्सक वसन्त पन्त र बिर्तामोडका बायो मेडिकल इन्जिनियर मिसाल पोखरेललाई ल्याब स्थापना र त्यसको भौतिक पूर्वाधार तथा अन्य पाटोका बारेमा अध्ययनको जिम्मेवारी दिएको छ ।

८० लाख रुपैयाँ संकलित

अभियानले ल्याब खरिदका लागि ८० लाख रुपैयाँ संकलन गरिसकेको संयोजक गिरीले बताए । ल्याबका लागि १ करोड २० लाख रुपैयाँ संकलन गर्ने अभियानको लक्ष्य रहेको छ । त्यसका लागि सहयोग जारी छ ।

ल्याब स्थापनाका लागि हालसम्म ४० वटा देशमा सञ्जाल रहेको अन्तर्राष्ट्रिय झापाली समाजले २५ लाख र झापा जिल्ला सहकारी संघको समन्वयमा २५ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरिसकेका छन् । विभिन्न सामाजिक तथा वित्तीय संस्थाले पनि अभियानलाई सहयोग गरिरहेका छन् ।

कोरोना भाइरसको परीक्षणका लागि प्रदेश १ मा तीनवटा प्रयोगशाला छन् । प्रत्येक प्रयोगशालाले एक सय पीसीआर परीक्षण गर्न सक्छन् । तर, प्रदेश १ मा स्वाब संकलन भने दैनिक छ सयभन्दा बढी भइरहेको छ ।

हिमाल खरेलबाट 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment