Comments Add Comment

हनुमाननगरको ऐतिहासिक नाम हनुमानगढी

बाल समय रवि भक्षि लियो तब
तीनहुं लोक भयो अंधियारो
ताहिँ सो त्रास भयो जगको
यह संकट काहु सो जात न टारो
देवन आनि करी विनती तब
छाडि दियो रवि कष्ट निवारो
को नहीं जानत है जग में कपि
संकटमोचन नाम तिहारो ।

यो हनुमान अष्टकको पहिलो श्लोक हो । आठ श्लोकको स्तुतिलाई अष्टक भनिन्छ । यस श्लोकमा भनिएको छ कि बालक कालमा हनुमानजीले मीठो फल ठानेर रवि (सूर्य) लाई ग्रास बनाई हाले । तेज र ज्योतिका पुञ्ज सूर्यलाई नै ग्रास बनाएपछि सारा जगत अन्धकार भयो । पछि देवताहरूले बिन्ती गरेपछि उनले सूर्यलाई छाडि दिए ।

अष्टकका अन्य श्लोकहरूमा पनि हनुमानलाई बल, बुद्धि, सिद्धि आदिका धनी भन्दै भक्तको संकटमोचन गर्ने देवको रूपमा वर्णन गरिएको छ । यसैगरी श्लोकको अन्त्यमा भनिएको छ- ठूलाठूला काम गर्ने हे वीर महाप्रभु हाम्रो संकटमोचन गर्नुहोस् । देवीदेवतासँग प्रीति राख्ने विरलै कुनै हिन्दु होलान्, जो हनुमानको महिमा, स्तुति, चालिसा आदिबाट अनभिज्ञ होस् ।

हनुमानका महावीर र बजरंगबली अर्का प्रसिद्ध नाम हुन् । यी नामहरूमा उहाँलाई वीर, बलवान, शक्तिशाली देवको रूपमा चिन्तन गरिएको छ । उहाँलाई अष्ट सिद्धि प्राप्त थियो। आफ्ना भक्तलाई नवै प्रकारका निधि दिन समर्थ देवताको रूपमा मानिन्छ । हनुमान अष्टक वा चालीसा तुलसीदासले अवधि भाषामा लेखेको एक काव्यात्मक कृति हो । जसमा प्रभु रामको महान भक्त हनुमानको गुण एवं कार्यहरूका चालीसवटा चौपाइमा वर्णन गरिएको छ । यो अत्यन्त लघु रचना हो । यसमा हनुमानको सुन्दर स्तुति र भावपूर्ण वन्दना गरिएको छ ।

प्रायः सबै हिन्दुलाई चालीसा र अष्टक कण्ठस्थ रहन्छ र आस्तिकहरू यो कण्ठस्थ हुनुपर्छ भन्ने मान्यता राख्छन् । हिन्दु धर्ममा हनुमानलाई वीरता, भक्ति र साहसको प्रतिमूर्ति मानिन्छ । शिवजीको रुद्रावतार मानिने श्री हनुमान अजर-अमर छन् भन्ने मानिन्छ । हनुमानजीलाई प्रतिदिन स्मरण गरेर उहाँको मन्त्र जप गरे मनुष्यको सबै प्रकारको भय समाप्त हुन्छ । क्लेश मेटिन्छ । यसको गम्भीर भावहरूमाथि विचार गरेमा श्रेष्ठ ज्ञान र भक्तिभाव जागृत हुन्छ । श्री हनुमानजी कत्तिको लोकप्रिय हुनुहुन्छभन्दा हिन्दूका देवीदेवताहरूमा सबैभन्दा बढी मन्दिर श्री हनुमानजीकै रहेको पाइन्छ । श्री हनुमानको विशेषता यो छ कि हिन्दु धर्मावलम्बीका जुनसुकै सम्प्रदायका अनुयायीले श्री हनुमानको उपासना गर्न सक्छन् ।

हिन्दुले आफ्ना उपासनास्थललाई मन्दिर भन्दछन् । यो आराधना र पूजा-अर्चनाका लागि निश्चित गरिएको स्थान वा देवस्थान हो। अर्थात् जुन स्थान कुनै आराध्यदेवप्रति ध्यान वा चिन्तन गरिन्छ वा जहाँ मूर्ति आदि राखेर पूजा-अर्चना गरिन्छ त्यसलाई मन्दिर भनिन्छ । मन्दिरको शाब्दिक अर्थ ‘घर’ हो । वस्तुतः सही शब्द ‘देवमन्दिर’, ‘शिवमन्दिर’, ‘कालीमन्दिर’, हनुमान मन्दिर आदि हुन् ।

त्यस्तै, मठ त्यो स्थान हो, जहाँ कुनै सम्प्रदाय, धर्म वा परम्परा विशेषमा आस्था राख्ने धर्मगुरु, आचार्य, शिष्यले आफनो सम्प्रदायको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले धर्म ग्रन्थादिमाथि विचार विमर्श गर्दछन् वा त्यसको व्याख्या गर्दछन् । ‘मठ’ शब्दको प्रयोग आदि शंकराचार्यको काल अर्थात् सातौं वा आठौं शताब्दीमा सुरु भयो । गुप्तकाल (चौथोदेखि छैटौं शताब्दी) मा मन्दिर निर्माणको उत्तरोत्तर विकास दृष्टिगोचर हुन्छ । पहिले काठको मन्दिर बनाइन्थ्यो र पछि पत्थर वा ईंटको मन्दिर बनाइन थालियो । गुप्तकाल (ई.पू. २०० देखि ई.सं. २८०) मा मन्दिरको निर्माण द्रूत गतिमा मात्र भएन अपितु मन्दिरको महत्व र त्यसको प्रसारमा पनि उल्लेखनीय विस्तार भयो ।

सप्तऋषिको तपोभूमिको रूपमा नामकृत सप्तरी भूमिमा पनि प्राचीन कालदेखि नै मन्दिरको अस्तित्व रहेको पाइन्छ । डिहवार, ब्रह्मथान, महादेव, भगवती, रामजानकी, हनुमानजस्ता देवीदेवताका मन्दिर त यहाँ कुनै पनि गाउँको अस्तित्वसँगै जोडिएको हुन्छ ।

त्रिभुवन विश्वविद्यालयका पूर्वसह-प्राध्यापक तथा महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पसका इतिहास विभागका पूर्वअध्यक्ष स्व. हरिकान्त लाल दासले सप्तरी जिल्लाका धार्मिकस्थलहरूको बारेमा पटक पटक शोध गर्नुभयो । उहाँले सप्तरीमा मध्यकाल (१० औंदेखि १४ औं शताब्दी) देखिका मूर्तिहरू रहेको कुरा आफ्ना शोधपछि उल्लेख गर्नुभयो । उहाँका सप्तरीको राजनैतिक इतिहास तथा प्रमुख धार्मिक स्थलहरू नामक शोधमूलक प्रकाशित पुस्तकमा उल्लेख भएअनुसार सप्तरीका सखडाको माता सखडेश्वरी र हनुमाननगरका हनुमान मध्यकालीन धर्मस्थली हुन् । सखडाको विषयमा प्रचार प्रसार भए पनि हनुमाननगरको विषयमा प्रचार प्रसार हुन सकेको छैन । हनुमाननगर कंकालिनी नगरपालिकाको वडा नम्बर ७ मा हनुमान मन्दिर पर्दछ ।

शोधका अनुसार वर्तमान हनुमाननगर प्राचीन हनुमानगढीको नामले जानिन्थ्यो । वि.सं.२००० अघि हनुमाननगर नै सप्तरी जिल्लाको सदरमुकाम थियो । नरहा भन्ने स्थान कोसीकटानमा परेपछि हनुमानगढीको जंगल फडानी गरी त्यहाँका अड्डाहरू सारिए । व्यापारिक प्रयोजनका लागि बत्तीस कोठी नामको भवन निर्माण गरियो । जंगल फडानी गर्ने क्रममा भगवती, शिव र हनुमानका मूर्तिहरू भेटिए । मूर्ति भेटिएको स्थानमा छुट्टाछुट्टै मन्दिरहरू निर्माण गरी पूजा-अर्चना गर्न थालियो । कालान्तरमा कोसीको बाढी हनुमानगढीमा पनि उर्लियो । बाढीबाट भगवती मन्दिर जोगाउन सकिएन, शिवलिङ्ग भने हनुमान मन्दिरमा ल्याई राखियो ।

गढी भन्नाले राजाको दरबार भन्ने बुझिन्छ । तर त्यति बेला गढीको कुनै वस्तु फेला परे नपरेको ज्ञात हुन सकेको छैन र त्यसको पुरातात्विक खोजी पनि भएको छैन । त्यसैले सायद हनुमानगढीलाई हनुमाननगर कायम गर्दा तत्काल कुनै प्रतिवाद नभएको हुन सक्छ। हनुमान मन्दिरको वर्तमान संरचना स्थानीय समाजसेवी सीताराम काबराले बनाउनुभएको हो । सह-प्राध्यापक दासको शब्दमा मन्दिरको निर्माण सभा मण्डपयुक्त शिखर भएको दक्षिण भारतीय शैलीमा गरिएको छ । मन्दिरभित्र चिल्लो कालो प्रस्तरमा वीरासन श्री हनुमान स्थापित हुनुहुन्छ ।

कालो शालिग्राम पत्थरबाट निर्मित मूर्ति यस मन्दिरको अर्को विशेषता हो । स्व. मुक्तिनाथ मण्डलले आफ्नो सप्तरी दर्पण नामक पुस्तकमा विक्रमादित्यको उज्जैन र हनुमानगढीको बाहेक कालो शालिग्राम पत्थरका हनुमान मूर्ति संसारमा अन्यत्र नरहेको उल्लेख गर्नुभएको छ।

सामान्य बोलचालमा पत्थर शब्दको प्रयोग अत्यन्त कडा अथवा भारी, गतिशून्य अथवा अनुभूतिशून्य वस्तुको रूपमा वा अत्यन्त कठोर हृदय भएको मानिसको रूपमा गरिन्छ ।

पत्थरको मुटुभन्दा दयाकरुणाहीन व्यक्ति भन्ने बुझिन्छ । तर आश्चर्यको कुरो के छ भने त्यही पत्थरको मूर्तिसामु मानिस साष्टाङ्ग भएर दया, करुणा र कृपाको याचना गर्दछ ।
धार्मिक जगतमा मूर्ति पूजाको पक्ष र विपक्ष दुवै छन् । मूर्तिको पूजा गर्नेले वास्तवमा मूर्तिको पूजा होइन, त्यो मूर्ति जसको प्रतीक हो, त्यसको पूजा गरिरहेको हुन्छ । भक्तले मूर्तिमा आफ्नो इष्ट वा आराध्यको विम्ब अनुभव गरिरहेको हुन्छ । उपासना जगतमा मूर्ति पूज्यवस्तु मात्र मानिँदैन, दर्शनयोग्य वस्तुको रूपमा समेत प्रख्यात छ । धर्म ग्रन्थहरूमा मूर्ति रहस्यमाथि निकै प्रकारले विवेचना गरिएको छ । हनुमाननगरको हनुमान मन्दिरमा अवस्थित ‘श्याम शालिकग्राम हनुमान’ भक्तजनहरूका लागि पूज्यमात्र हुनुहुन्न, धार्मिक पर्यटकका लागि गन्तव्यको रूपमा पनि हुनुहुन्छ । अपितु यसको पर्याप्त प्रचार हुनु आवश्यक हुन्छ ।

इतिहासविद् सह-प्राध्यापक स्व. दासले यो हनुमानको मूर्ति प्राचीन र सखडेश्वरीको समकालीन मान्नु हुन्थ्यो । उहाँले लेख्नुभएको छ- ‘सखडाको भगवतीको मूर्तिको रंग कालो छ, कंकालिनी माईको मूर्ति कालो छ, रूपनगरको विष्णुमूर्ति पनि कालो छ । यस्तै हनुमाननगरको हनुमानको मूर्तिको रंग पनि कालो छ। दशौंदेखि चौधौं शताब्दीका मूर्तिहरू कालो रंगमा बनाइन्थे । मूर्तिकलाको हिसाबले यो सेनपाल शैलीको मूर्ति हो जसको समय पूर्वमध्यकाल तोकिएको छ । त्यस हिसाबले हनुमानको मूर्ति प्राचीन नै मान्नुपर्ने हुन्छ ।’

इतिहासविद् दासका अनुसार मध्यकालतिर हनुमाननगर आवाद थियो । पछि कुनै कारणले हनुमानगढी उजाड भई जंगलमा परिणत भयो । मुसलमानी आक्रमणबाट सखडा भगवती मन्दिरको पनि यस्तै अवस्था भएको थियो । जसरी शक्रसिंहको सखडा आबाद थियो, उजाड भयो र फेरि आबाद भयो । हनुमाननगरमा हनुमानगढी हुनुको अर्थ यो क्षेत्र कुनै समयमा पक्कै आबाद हुनुपर्दछ । हनुमानगढीको प्राचीनता यसबाट झल्किन्छ ।

राजा महाराजाहरूले देवीदेवताको मन्दिर निर्माणमा निकै चासो लिने गरेको इतिहास छ । उनीहरू हनुमानजीको उपासनाबाट कति प्रभावित थिए भन्ने कुराको उदाहरण अनेक ऐतिहासिक हनुमान मन्दिर छन् । आफ्नो दरबारको नामसमेत हनुमानको नामबाट राखिएको इतिहास छ । वि.सं. १८८५ मा राजा राजेन्द्र विक्रम शाहबाट हनुमानगढीको व्यवस्थापनका लागि बिर्ता दिइएको इतिहासलाई त्यसै दृष्टिले हेर्न सकिन्छ । राजाले हनुमान मन्दिरको पूजापाठ गर्न राजविराजस्थित म.वि.व. क्याम्पसका पूर्व क्याम्पसप्रमुख अमरकान्त झाका पूर्वजलाई कास्यपत्रमा लालमोहर गरी बिर्ता प्रदान गरेका थिए । पछि मुख्तियार भीमसेन थापाबाट पनि रुक्कापत्र दिई बिर्ताको समर्थन गरिएको थियो । उक्त कास्यपत्र र रुक्कापत्रबाट त्यतिबेला हनुमान मन्दिरको अवस्था अनुमान गर्न सकिन्छ । मन्दिरको पुजारी हाल स्थानीय तहले नियुक्त गर्ने गरेको छ । हनुमानगढीले हनुमाननगरको प्राचीनताको बोध गराउँछ । तर यसको पर्याप्त खोजी हुनु आवश्यक छ । अब देशमा तीन तहमा बलिया सरकारहरू छन् । कुनै पनि सरकारले यसमा चासो लिन सक्छ । यस स्थानको पुरातात्विक अध्ययन तथा पर्यटकीय पूर्वाधारको विकास आवश्यक छ ।

0000

सहर र गाउँको नामकरण भौगोलिकता र ऐतिहासिकताको आधारमा गर्ने चलन पुरानो छ । नेपालमा नयाँ व्यवस्था र प्रशासनिक विभाजनको सन्दर्भमा यो कुरा ठूलै बहसको रूपमा रह्यो र अझै छ पनि । यस प्रदेशको नामकरण पनि यस्तै विवादका कारण दुई वर्षदेखि लम्बिएको छ । अधिकांश गाउँ/सहरको पुनः नामकरण पनि यिनै आधारमा गरिएका छन् । के त्यस सिलसिलामा हनुमाननगरलाई पनि हनुमानगढीको रूपमा पुनः नामकरण गर्न सकिन्छ ? यदि यो काम यसरी नै सम्भव भयो भने यस स्थानको ऐतिहासिक/धार्मिक पर्यटकीय विकासको नयाँ आयाम प्रारम्भ हुनेछ । वर्तमान नगरपालिकाको नाम (हनुमाननगर कंकालिनी) को आधारमा कतिपयले यसलाई जटिल मान्न सक्लान् । तर यो कुरा जटिल छैन । नगरपालिकाको नाममाथि गहिरिएर विचार गर्ने हो भने यस नामलाई सच्याउनु आवश्यक पनि देखिन्छ । यस नगरपालिकाको नाम हनुमाननगर कंकालिनी नगरपालिकाको शब्दहरूमा जहाँ कंकालनी देवीको नाम हो त्यहीं हनुमाननगर एक स्थानको नाम हो । अर्थात् स्थान र देवी बोध गराउने दुई भिन्न प्रकृतिका शब्दहरूलाई योग गरेर नामकरण गरिएको छ । कि त स्थानहरु वा कि त देवीदेवताहरुकै नामलाई योग गर्न सकिन्थ्यो । अर्थात् हनुमान कंकालिनी वा हनुमाननगर भारदह न.पा. भनी नामकरण गर्न सकिन्थ्यो । यस न.पा. मा ऐतिहासिक/धार्मिक नामबाट परिचित गाउँ विकास समितिहरू पनि समावेश भएका छन् । जबकि न.पा.को नाममा उनीहरूको पहिचान समावेश हुन सकेन । तर यहाँ यस पंक्तिकारले ती कुराहरूमाथि अन्तर संवाद गराउन खोजेको होइन । पंक्तिकारको मनसाय केवल हनुमाननगरलाई हनुमानगढी भनी पुनः नामकरण गर्दा प्राप्त हुने ऐतिहासिक पहिचान, आत्मगौरवजस्ता उपलब्धिमाथि चर्चा गर्न सकिन्छ कि भन्नेसम्म हो । यद्यपि हनुमाननगरलाई हनुमानगढी भनी पुनः नामकरण भए न.पा.को नाम पनि त्यसैगरी परिवर्तित हुन नसक्ने होइन ।

(लेखक निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष हुन् ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment