Comments Add Comment

प्युठानमा क्वारेन्टिनबाट घर गएका तीन जनामा कोरोना

९ असार, काठमाडौं । प्युठानमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ अनुसार मंगलबार प्युठानमा ५० जनामा संक्रमण पुष्टि भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालय प्युठानका सूचना अधिकारी पुष्कल श्रेष्ठका अनुसार मन्त्रालयले सार्वजनिक गरेको ५० जनाको तथ्यांक मध्ये ४५ जनाको सूचि सोमबारकै हो । उनले भने, ‘मंगलबार ५ जना मात्रै संक्रमित थएिका हुन् । ४५ जना संक्रमितको तथ्यांक हामीले सोमबार साँझ नै प्राप्त गरिसकेका थियौं । सोमबार साँझको संक्रमितसहित ५० जनामा संक्रमण पुष्टि भएको सार्वजनिक मन्त्रालयले गरेको हो ।’

मंगलबार पुष्टि भएका ५ जना मध्ये ४ जना स्वर्गद्वारी नगरपालिकाका छन् भने एक जना नौवहिनी गाउँपालिकाका हुन् ।

क्वारेन्टिनबाट घर गएका तीन जनामा कोरोना

स्वर्गद्वारीमा संक्रमण पुष्टि भएका चार जना मध्ये तीन जना र्‍यापिड डाइग्नोस्टिक (आरडीटी)टेस्ट गरेर क्वारेन्टिनबाट घर पठाइएका व्यक्ति रहेको पाइएको छ ।

स्वर्गद्वारी नगरपालिका–८ को जनता मावि क्वारेन्टिनमा बसेर जेठ २७ गते घर गएका २८, ३९ र ४३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दलबहादुर केसीले अनलाइनखबरलाई जानकारी दिए ।

‘भारतको चेन्नाईबाट जेठ १३ गते उनीहरुसँगै आएका २० जनाको समूह जनता माविको क्वारेन्टिनको एउटै कोठामा बसेका थिए,’ स्वास्थ्य प्रमुख केसीले भने, ‘जेठ २७ गते उनीहरुको आरडीटी टेस्ट गरेका थियौं । जसमध्ये एक जनाको आरडीटी परीक्षणको रिपोर्ट पोजेटिभ आयो । आरडीटी पोजेटिभ देखिएका व्यक्तिलाई क्वारेन्टिनमै राखेर बाँकी १९ जनालाई सोही दिन घर पठाएका थियौं ।’

स्वास्थ्य प्रमुख केसीले भने, ‘आरडीटी पोजेटिभ आएका व्यक्तिको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनीसँगै बसेका १९ जनाको पनि जेठ ३० गते स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौं पठाएको थियौं । जसमध्ये तीन जनामा संक्रमण पुष्टि भएको छ ।’

जनस्वास्थ्य प्रमुख केसीका अनुसार संक्रमण पुष्टि भएका तीनै जनालाई आइसोलेसनमा ल्याउने तयारी भइरहेको छ ।

८ नम्बर वडा  सिल

क्वारेन्टिनबाट घर गएका तीन जनामा संक्रमण पुष्टि भएपछि स्वर्गद्वारी नगरपालिका वडा नम्बर ८ लाई सिल गरिएको छ । संक्रमणको जोखिम न्यूनिकरणका लागि मंगलबारदेखि वडालाई सिल गरिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताए ।

केसीले भने, ‘क्वारेन्टिनबाट घर गएपछि उनीहरु कहाँ कहाँ गए ? क–कसलाई भेटे ? त्यसका लागि भोलिबाट कन्ट्याक ट्रेसिङ गर्छौं । कन्ट्याक ट्रेसिङमा सहजताका लागि पनि वडालाई सिल गरेका हौं ।’

केसीका अनुसार स्वर्गद्वारी नगरपालिकामा मंगलबार ४ जना थपिएसँगै संक्रमितको संख्या २६ जना पुगेको छ ।

सोमबार १२ जनामा संक्रमण पुष्टि भएको थियो । यसअघि १० जनामा संक्रमण पुष्टि भएको थियो ।

नगरपालिकाले बनाएकै आइसोलेसनमा उपचारको व्यवस्था

स्वर्गद्वारी नगरपालिकाले कोरोना संक्रमितको उपचारका लागि आफैंले आइसोलेसन वार्ड निर्माण गरेका छन् ।

वडा नम्बर ४ सिथ्त बहुउद्देशीय सभाहलमा २६ बेडको आइसोलेसन वार्ड निर्माण गरेर संक्रमितलाई उपचार गराउँदै आएको केसीले बताए ।

केसीले भने, ‘स्वर्गद्वारीमा अहिलेसम्म २६ जनामा संक्रमण पुष्टि भएको छ । पहिले बनाएको स्थानमा आइसोलेसन अभाव भएपछि आज फेरि बैठक बसेर वडा नम्बर ३ स्थित अमर माविमा आइसोलेसन कक्ष बनाउने निर्णय गरेका छौं । बहुउद्देशीय सभा हलको आइसोलेसनमा नअटेका संक्रमितलाई अमर माविको आइसोलेसनमा राखेर उपचारको व्यवस्था मिलाउँछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment