Comments Add Comment

क्वारेन्टिनबाट घर गएका ५८ जनामा कोरोना संक्रमण पुष्टि

८ असार, कैलाली । कैलालीमा क्वारेन्टिनबाट घर गएका ५८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

उनीहरु सबै लम्किचुहा नगरपालिकाका हुन् । ‘उनीहरुलाई २१ दिन क्वारेन्टाइनमा राखेर घर पठाएका हौं’ महादेब जजगाईँले अनलाइनखबरसँग भने ‘घर गएको ४/५ दिनपछि आज (सोमबार) बल्ल संक्रमित भएको रिर्पाेट आयो ।’

नगरपालिककाको क्वारेन्टिनमा २४२ जना थिए । उनीहरुको र्‍यापिड डायग्नोस्टिक टेष्ट (आरडीटी) गर्दा ९३ जनाको पोजेटिभ देखियो । उनलाई दुई वटा क्वारेन्टिनमा राखेर जेठ २८ गते स्वाब संकलन गरियो ।

तर रिर्पाेट आउन ढिलाइ भएको भन्दै उनीहरु आन्दोलनमा उत्रिए । ‘त्यसपछि सुरक्षित रुपमा घर बस्नुस् भनेर पठाएका हौं’ उनले भने, ‘यसरी पठाएका मध्ये ५८ जनामा संक्रमण पुष्टि भएको खबर छ ।’

यसअघि कैलालीकै घोडाघोडी नगरपालिकाको क्वारेन्टिनमा बसेर घर गएका ३२ जनामा कोरोना संक्रमणको पुष्टि भएको थियो । ‘निर्धारित समय क्वारेन्टाइनमा बसेर घर पुगेपछि उनीहरुमा संक्रमण पुष्टि भयो । उनीहरु अहिले घरमै सुरक्षित छन्’ घोडाघोडीका स्वास्थ्य शाखा प्रमुख कैलाश रावतले भने ।

कैलालीमा बढ्यो संक्रमण

सोमबार कैलालीमा हाल सम्मकै उच्च संख्यामा कोरोना संक्रमित भेटिएका छन् । धनगढी प्रयोगशालामा गरिएको परीक्षणमा २२ जना र काठमाडौँको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले गरिएको परीक्षणमा ५८ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै जिल्लामा संक्रमितको संख्या ३४१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment