News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले रसुवाको भोटेकोशी बाढीपीडितका लागि ‘आऊ बढाऔँ हात...’ गीत तयार गरेको छ ।
- प्रतिष्ठानले गीतको श्रव्यदृश्य प्रचारप्रसारबाट प्राप्त हुने सबै आम्दानी प्रधानमन्त्री राहत कोषमा जम्मा हुने जनाएको छ ।
२६ भदौ, काठमाडौं । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले रसुवाको भोटेकोशीमा आएको बाढीले गरेको अकल्पनीय क्षतिको पीडामा एक जुट हुन आह्वान गरी गीत तयार गरेको छ । गीतमार्फत् बाढीका कारण आफन्त गुमाएका, उठिबास भएका एवम् परिवारका सदस्य वेपत्ता भएकाहरूको दुःख र पीडामा समानुभूति दर्शाउँदै सहयोगका लागि आह्वान गरिएको छ ।
गीतको बोल ‘आऊ बढाऔँ हात…’ रहेको छ । गीतको रचना प्रतिष्ठानका कुलपति ब्रजेशले गरेका हुन् । गीतमा अग्रजदेखि नयाँ पुस्ताका गायक, गायिकाहरूले निःशुल्क स्वराङ्कन गरेका छन् ।
गीतमा प्रज्ञा–प्रतिष्ठानकी उपकुलपति झुमा लिम्बू, परिषद् सदस्य रेखा शाह र रामा मण्डलको स्वर रहेको छ । यससँगै मदनकृष्ण श्रेष्ठ, यम बराल, देविका वन्दना, सारिका घिमिरे, सुमीत खड्का, मनिषा पोखरेल, सान्वी यादव, प्राश्ना शाक्य, लक्ष्मी पराजुली तथा अनु चौधरीको स्वर पनि यसमा रहेको छ । सदस्यसचिव भूपेन्द्र रायमाझीको संगीत र फणिन्द्र राइको संगीत संयोजन रहेको छ ।
प्रज्ञा–प्रतिष्ठानले उक्त आह्वान गीतका सम्पूर्ण कलाकार, प्राविधिक, वाद्यवादक तथा रेकर्डिंग स्टूडियोहरूलाई स्वतस्स्फूर्त र निशुल्क योगदानको लागि आभार समेत व्यक्त गरेको छ । यस गीतको श्रव्यदृश्य प्रचारप्रसारबाट प्राप्त हुने सम्पूर्ण आम्दानी प्रधानमन्त्री राहत कोषमा जम्मा हुने पनि कुलपति खनालले जनाएका छन् ।
प्रतिक्रिया 4