Comments Add Comment

अस्ट्रेलियाबाट आज २५९ नेपाली काठमाडौं फर्किंदै

सिड्नी एयरपोर्टमा नेपाल एयरलाइन्सको जहाज ।

सिड्नी । अस्ट्रेलियाबाट आज पहिलो ‘उद्धार’ उडान हुँदैछ । नेपाल एयरलाइन्सको अन्नपूर्ण जहाजमार्फत् २५९ जना नेपालीहरू अस्ट्रेलियाबाट काठमाडौं फर्किन लागेका हुन् ।

नेपाल एयरलाइन्सको जहाज सिड्नीबाट स्थानीय समयअनुसार १ बजे काठमाडौंतर्फ उड्ने छ । सो जहाजमा चार महिनादेखि लकडाउनमा परेका नेपालीहरू छन् । उनीहरू आफ्ना छोराछोरीलाई भेट्न अस्ट्रेलिया आएका अभिभावकहरू हुन् ।

सो फ्लाइटमा न्युजिल्याण्डमा रहेका ११ जना नेपालीहरू पनि छन् । उनीहरू आजै बिहान न्युजिल्याण्डबाट अस्ट्रेलिया आइपुगेका हुन् ।

नेपाल फर्किन १३ सय जनाले फाराम भरेका थिए । तर पहिलो चरणमा २५९ जनालाई काठमाडौं पठाउन लागिएको दूतावासका अधिकारीहरूले बताएका छन् । हरेक यात्रुबाट २ हजार ३५० अस्ट्रेलियन डलर भाडा लिइएको छ ।

हवाई यात्रुहरू सबैको सबैको पीसीआर परीक्षण गरिएको छ । उनीहरू सबैको रिपोर्ट नेगेटिभ आएको छ । त्यसैले उनीहरूलाई नेपाल पुगेपछि होल्डिङ सेन्टरमा राखेर होम क्वारेन्टिनमा पठाइने दूतावास स्रोतले बतायो ।

नेपाल एयरलाइन्सको सो जहाजमा क्याप्टेन समझ कुमार श्रेष्ठ, क्याप्टेन श्रवण रिजाल, क्याप्टेन मनोहर कोल्हात्करलगायत छन् । फ्लाइट अफिसरको रुपमा भोगेन्द्र कठायत, सञ्जय पौडेल र प्रशान्त श्रेष्ठसमेत छन् ।

उनीहरू २९ जना अस्ट्रेलियन नागरिक तथा अस्ट्रेलियन स्थायी बासिन्दाहरूलाई बोकेर काठमाडौंबाट अस्ट्रेलिया आएका थिए । काठमाडौंस्थित अस्ट्रेलियन दूतावासको समन्वयमा ५ जना बच्चासहित २९ जनालाई बोकेर नेपाल एयरलाइन्सको जहाज अस्ट्रेलिया गएको र सोही जहाजमा अस्ट्रेलियामा रहेका नेपालीहरू फर्किन लागेको  नेपाल एयरलाइन्सका अपरेसन विभाग प्रमुख दीपु जुहार्चनले जानकारी दिए ।

अस्ट्रेलियाबाट दोस्रो उद्धार उडान २७ जुनमा मेलबर्नबाट हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment