News Summary
Generated by OK AI. Editorially reviewed.- भोटेकोशी बाढीमा हालसम्म १ हजार २ सय ९४ जनाको मृत्यु भएको छ भने ५ हजार ५३ जना अझै सम्पर्कविहीन छन् ।
- राष्ट्रिय विपद् प्राधिकरणका अनुसार बाढीमा १३ हजार ९५ जनाको उद्धार भएको छ र ७ हजार ५ सय ७० निजी घरमा क्षति पुगेको छ ।
- बाढीले रसुवागढीदेखि मुग्लिनसम्म ४१ पुलमा क्षति, ३५ पुल बगाएको र ४ खर्ब रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।
१९ भदौ, काठमाडौं । १० भदौको प्रलयकारी भोटेकोशी बाढीमा हालसम्म १ हजार २ सय ९४ जनाको मृत्यु भएको छ । ५ हजार ५३ जना अझै सम्पर्कविहीन छन् । अहिलेसम्म १३ हजार ९५ जनाको उद्धार भइसकेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार अहिलेसम्म नेपाली सेनाले मात्र ४ हजार १ सय ५७, नेपाल प्रहरीले ४ हजार ६८ र सशस्त्र प्रहरीले ४ हजार ८ सय ७० जनाको उद्धार गरेका छन् ।
नेपाली सेनाले हवाई उद्धार गरेकामध्ये २ सय ७३ जना विदेशी र ३ हजार ६ सय ८४ जना नेपाली छन् । आजसम्म नेपाली सेनाको समन्वयमा भएको उडान संख्या ८ सय ८१ पुगिसकेको छ । निजी क्षेत्रमार्फत कुल १ सय २९ पटक हवाई उडान भएको छ । आज शुक्रबार मात्रै ९६ उडान भएका छन् ।
विपद्को उद्धार र राहतमा हेलिकप्टरहरूको समन्वय र परिचालन नेपाली सेनाले गरेको छ । जुन अझै जारी छ । सरकारको पछिल्लो आँकडा अनुसार यस बाढीले ७ हजार ५ सय ७० निजी घरमा क्षति गरेको छ भने ४ खर्ब रुपैयाँ बराबरको आर्थिक क्षति गरेको छ ।
बाढीका कारण रसुवागढीस्थित मितेरी नाकाबाट मुग्लिनसम्म ४१ पुलमा क्षति पुगेको छ । ३५ पुल बगेका छन् । बाढीले सोही दुरीमा रहेका ६४ झोलुङ्गे पुलमध्ये ५३ वटा बगाएको छ । जसले गर्दा पूरै रसुवा, नुवाकोटको धेरै स्थान र धादिङको केही स्थान सडक सञ्जालबाट विच्छेद भयो । यस्तो अवस्थामा हेलिकप्टर मात्र कठिन पीडामा रहेका नागरिकको आशा र भरोसा थियो ।
नेपालको इतिहासमै एउटा नदी किनारमा भएको यो भयानक क्षतिपछि मानिसको आकस्मिक उद्धार र राहतमा हेलिकप्टर सफल सारथी बन्न सफल भएका छन् ।

नेपाली सेनाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र नुवाकोटको बट्टारमा हेलिबेस स्थापना गरेको छ । ती दुई बेसमा पछिल्लो १० दिनमा हरेक दिन दर्जनौं सफल उद्धार उडान गरिएका छन् ।
यसले पीडा र विपद्मा रहेका हजारौं नागरिकको ज्यानमात्र बचाएन, बरु संकटका बेला हेलिकप्टरको महत्त्व पुन: स्थापित गराएको वायुसेवा सञ्चालक संघ अध्यक्ष तथा कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक प्रतापजंग पाण्डे बताउँछन् ।
मनसुन याम नेपालमा पर्यटक आगमनका दृष्टिकोणले अफसिजन मानिन्छ । तर, कैलाश-मानसरोवर यात्रामा जाने भारतीय र गैरआवासीय भारतीय पर्यटकको आगमनले यो सिजनमा पनि हेलिकप्टरले राम्रो व्यापार पाउने गरेका थिए ।
१० भदौ बिहान रसुवागढी बाढीको खबर आउनासाथ सरकारले सबै हेलिकप्टर कम्पनीलाई उद्धारका लागि तयार बस्न भन्यो । पाण्डेका अनुसार त्यसपछि काठमाडौं र नजिकमा रहेका सबै हेलिकप्टर उद्धारमा खटिए ।
त्यसयता सयौँ उडान मार्फत हजारौं नागरिकको उद्धार भएको छ । थुप्रै राहत सामग्री हेलिकप्टर माफर्त बाढी प्रभावित नागरिकसमक्ष पुर्याइएको पाण्डेले जानकारी दिए ।
कठिन भूगोल र उच्च चाप व्यवस्थापन कसरी गरियो ?
नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक मुकेश डंगोलका अनुसार अहिले सञ्चालनमा रहेको उद्धार उडानलाई ‘क्लास जी अपरेसन’ भनिन्छ ।
यस्तो एयरस्पेसमा कम्युनिकेसन एयर ट्राफिक कन्ट्रोलर (एटीसी) अफिसरको कन्ट्रोलमा हुँदैन । बरु पाइलट टु पाइलट कम्युनिकेसन भएर हेलिकप्टरहरू सुरक्षित उडिरहेका हुन्छन् । अर्थात्, एक हेलिकप्टरको उडान अवस्थाबारे अर्को हेलिकप्टरको पाइलटलाई जानकारी दिएर निकै सचेतपूवर्क उडान गर्नुपर्छ । हेलिकप्टरले अर्को चुनौती यस पटक ड्रोन उडानको समेत भोग्नुपरेको छ ।

राष्ट्रिय-अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको उच्च चासो रहेको यस बाढी र त्यसपछिका उद्धार र राहतका गतिविधि कभर गर्न धेरै ड्रोन उडेका छन् । ड्रोन उडानले हेलिकप्टर उडानलाई प्रभाव पारेको भन्दै प्राधिकरणले पटक-पटक ‘नोटाम’ समेत जारी गर्नुपरेको थियो ।
विभिन्न चुनौतीबीच उडान सुरक्षा सुनिश्चित गर्दै हेलिकप्टर उडान सञ्चालन गरिएको महानिर्देशक डंगोलले जानकारी दिए ।
अनुभवले खारिएका पाइलटको साहसिक उडान
नेपालमा हेलिकप्टरहरू पर्यटन र विपद्मा ठूलो सारथी बनेर उभिने गरेका छन् । जसले गर्दा पाइलटलाई यस्ता उडानमा अभ्यस्त पनि बनाएको छ ।
कैलाश हेलिकप्टरका प्रबन्ध निर्देशक पाण्डेका अनुसार यसपालि बाढी प्रभावित नागरिकको उद्धार र राहतमा अधिकांश नेपाली पाइलट खटिएका छन् ।
‘अहिले अफसिजन हो, त्यसकारण हामीसँग विदेशी पाइलट छैनन्,’ उनी भन्छन्, नेपाली पाइलट कुशलतापूर्वक यो संकटमा खटिएका छन् ।’
विपद्मा हेलिकप्टर उडान व्यवस्थित गर्न नेपाली सेनाले सोही अनुसार सफल समन्वय गरेको उनले बताए ।
नेपालका अधिकांश गन्तव्य पुग्दा हेलिकप्टरहरू पहाड र नदीका खोँचमा उड्नुपर्छ । छिनछिनमा परिवर्तन भइरहने मौसमसँग अभ्यस्त हुनुपर्छ ।
‘वसन्तयाममा लुक्लामा यस्तै उच्च चापमा हेलिकप्टर उड्छन्,’ अध्यक्ष पाण्डेले भने, ‘निरन्तरको उडानले हाम्रा पाइलट यसमा अभ्यस्त छन् ।’
अर्कातर्फ, नेपाली सेनासँग उस्तै सबल र सक्षम पाइलट छन् जसले सडक सहित अन्य यातायात माध्यम नहुँदा पनि एकसाथ हजारौं नागरिकको उद्धार गर्न सफल भएको उनले बताए ।
कुन दिन कति उद्धार उडान ?
त्रिभुवन विमानस्थलको तथ्यांक अनुसार १० भदौमा काठमाडौंबाट प्रभावित क्षेत्रमा कुल ४९ उडान भए । त्यही दिन काठमाडौं-टिमुरे १६, काठमाडौं–त्रिशूली ६, काठमाडौं-रसुवा ६ र काठमाडौं-धुन्चे ९ उडान भएका थिए ।

त्यस्तै सोही दिन काठमाडौं-मैलुङ १, काठमाडौं-धादिङ २ र काठमाडौं-स्याफ्रुबेसी ९ उडान भएको तथ्यांक छ । सोही दिन ९ उडान भने डाइभर्ट गर्नुपरेको थियो । त्यस दिन नेपाली सेनाका ६ र निजी १० हेलिकप्टरले उडान गरेका थिए ।
११ भदौमा काठमाडौंबाट प्रभावित क्षेत्रमा कुल ४० उडान भएका थिए । त्यस दिन उडानहरू त्रिशूली र धुन्चेमा अधिक केन्द्रित थियो । धुन्चेमा मात्र १७ उडान भएको तथ्यांक छ । बाढीको तेस्रो दिन अर्थात् १२ भदौमा भने काठमाडौंबाट २१ उडान भए । जसमध्ये त्रिशूली र रसुवामा ६/६ उडान भएको तथ्यांक छ ।
चौथो दिन १३ भदौमा २१ उडान भएका छन् । १४ भदौमा २२, १५ भदौ ३४, १६ भदौ २७, १७ भदौ २४ र १८ भदौमा २८ उडान काठमाडौंबाट भएको तथ्यांक छ । यसमा त्रिशूली हेलिबेसमा भएका उडान संख्या भने जोडिएको छैन ।
कस्तो छ नेपालको हेली क्षमता ?
वायुसेवा सञ्चालक संघको तथ्यांक अनुसार नेपालमा हेलिकप्टर कम्पनीको संख्या एक दर्जन छ । यी कम्पनीसँग कुल ३२ वटा हेलिकप्टर उपलब्ध छन् । अहिले नेपाली हेलिकप्टर कम्पनीसँग ४५ जना पाइलट रहेको समेत संघले जनाएको छ । पर्यटन सिजनमा कम्पनीहरूले पाइलट थप्ने गर्छन् ।

प्रतिक्रिया 4